साउन १ अघि खपत भएको बिजुलीमा भ्याट नलाग्ने, आन्तरिक राजस्व विभागको स्पष्टिकरण
- BFIS News
- 2026 Jul 28 11:26
काठमाडौं। आन्तरिक राजस्व विभागले साउन १ गतेअघि खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ अनुसार विद्युत् सेवामा भ्याटको व्यवस्था साउन १ गतेदेखि मात्र लागू हुने भएकाले त्यसअघिको खपतमा भ्याट नलाग्ने जनाएको हो।
सरकारले आर्थिक ऐन, २०८३ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गर्दै विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तासँग ५ प्रतिशत तथा अन्य व्यक्तिसँग १३ प्रतिशतका दरले भ्याट असुल गर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्था आर्थिक ऐनको दफा १(२) अनुसार २०८३ साउन १ गतेदेखि मात्रै कार्यान्वयनमा आएको विभागले स्पष्ट गरेको छ।
विभागका अनुसार कुनै उपभोक्ताले २०८३ असार मसान्तसम्म खपत गरेको विद्युत्को बिलिङ साउन १ गते वा त्यसपछि भए पनि वास्तविक खपत साउन १ अगाडि भएको भएकाले त्यस अवधिको विद्युत् सेवामा भ्याट लाग्दैन। मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ अन्तर्गत विद्युत् शक्ति आधारभूत आवश्यकताका वस्तुमा समावेश भएकाले साउन १ अघिको खपत भ्याटबाट छुट हुने विभागको भनाइ छ।
यसअघि सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने अन्तिम उपभोक्ताबाट ५ प्रतिशत भ्याट असुल गर्ने व्यवस्था गरेको थियो। तर बजेट कार्यान्वयन हुनुअघि नै नेपाल विद्युत् प्राधिकरणले असार १ गतेदेखि नै ग्राहकबाट भ्याटसहितको महसुल असुल्न थालेपछि यसको व्यापक आलोचना भएको थियो। त्यसपछि भ्याट लागू हुने मितिलाई लिएर उपभोक्ता तथा व्यवसायीबीच अन्योल सिर्जना भएको थियो।
विभागले जारी गरेको सूचनामा नेपाल विद्युत् प्राधिकरणले स्वीकृत ट्यारिफअनुसार लिने न्यूनतम चार्ज (Minimum Charge) तथा डिमान्ड चार्ज (Demand Charge) पनि विद्युत् सेवाकै शुल्क भएकाले २०८३ साउन १ गतेदेखि भएको विद्युत् खपतमा यी शुल्कमा समेत मूल्य अभिवृद्धि कर लाग्ने स्पष्ट पारेको छ।
विभागले विद्युत् सेवामा भ्याट लागू हुने मिति र दायराबारे देखिएको अन्योल अन्त्य गर्न उक्त स्पष्टिकरण जारी गरिएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया