Nepal Life

बैंकिङ प्रविधि र वित्तीय क्षेत्रका सुरक्षा चुनौती, बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाको लेख

NMB Bank
  • सन्तोष कोइराला
  • 2025 Dec 02 13:36
बैंकिङ प्रविधि र वित्तीय क्षेत्रका सुरक्षा चुनौती, बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाको लेख
National Life

नेपालका बैंकहरूले प्रयोग गर्ने नेटवर्क, सर्भर र सुरक्षात्मक संरचना अन्तर्राष्ट्रिय मापदण्डअनुसारका छन् । विश्वव्यापी रूपमा ब्लकचेन, क्वान्टम कम्प्युटिङ, ओपन बैंकिङ र एआईमा आधारित वित्तीय सेवा तीव्र रूपमा विकसित भइरहेका छन् ।

काठमाडौं। नेपालको बैंकिङ क्षेत्रको प्रविधिगत रूपान्तरण कार्ड र एटीएमबाट सुरू भएर इन्टरनेट बैंकिङ हुँदै मोबाइल बैंकिङसम्मको क्रमिक विकासको यात्रामा अगाडि बढेको छ । सुरूआती चरणमा कार्ड र एटीएम मुख्य डिजिटल माध्यम थिए, जसले ग्राहकलाई 'अफ लाइन' कारोबार गर्न अनुमति दिन्थ्यो । त्यसपछि इन्टरनेट बैकिङ आएपछि ग्राहकले अनलाइन पहुँच पाउन थाले । तर, स्मार्ट फोन विस्तारसँगै मोबाइल बैंकिङले इन्टरनेट बैकिङलाई समेत पछाडि पार्यो। कोभिड महामारीपछि नेपालमा डिजिटल बैकिङको प्रयोग तीव्र रूपमा अगाडि बढेको हो ।

Shikhar
NIMB

कोभिड महामारीअघि ग्राहकको हिच्किचाहट र बैकहरूले सक्रिय रूपमा प्रवर्द्धन नगरेका कारण डिजिटल कारोबारको विस्तार सुस्त थियो । तर, कोभिड समयको लकडाउन र स्वास्थ्य सुरक्षाका कारण ग्राहक डिजिटल माध्यमतर्फ आकर्षित भए । यस अवधिमा बैंकले अनलाइन खाता खोल्ने सुविधा, डिजिटल केवाईसी, कन्ट्याक्टलेस पेमेन्ट सिस्टम जस्ता सेवा सुरू गरे भने नियामक निकाय नेपाल राष्ट्र बैकले डिजिटल कारोबारको सीमा पनि बढायो ।

महामारीले डिजिटल बैकिङमा उपभोक्ताको पहुँच, आत्मविश्वास बढायो भने यसले डिजिटल कारोबारसँग सम्बन्धित लागत कम गयो । महामारीपछि मोबाइल बैकिङ, क्यूआर पेमेन्ट, इन्टरनेट बैकिङ र डिजिटल वालेट लोकप्रिय बनेका छन् । महामारीपछिका वर्षमा कारोबार संख्या र मूल्य दुवै बर्सेनि २ सय १० देखि २ सय ३० प्रतिशतसम्मले वृद्धि भएको देखिन्छ । साना व्यापारी र सेवाप्रदायकसहित व्यावसायिक प्रतिष्ठानले डिजिटल भुक्तानीलाई अनिवार्यजस्तै बनाउन थाले । यसले नेपालमा डिजिटल व्यवसायलाई दैजिक जीवनको हिस्सा बनायो ।

कोभिड-१९ ले बैकिङ प्रणालीलाई व्यापक रुपमा डिजिटल कारोबारमा केन्द्रित बनायो । यसले ग्राहकको पहुँच एवं विश्वास बढाइदियो र खर्च घटायो । यो विकासक्रमले देखाउँछ कि प्रविधिले कसरी नेपाललाई परम्परागत बैकिङबाट डिजिटल बैकिङतर्फ रूपान्तरण गरेको छ । यसले वित्तीय सेवा सहज र प्रभावकारी बनाएको छ ।

ग्राहकमुखी परिवर्तनको सुरूआत सन् १९९० को दशकको सुरूवातमा क्रेडिट कार्डबाट भएको थियो। त्यसपछि सन् १९९० को दशकको मध्यतिर एटीएम, २००० को प्रारम्भमा इन्टरनेट बैकिङ र सन् २००४ तिर एसएमएसमार्फत मोबाइल बैकिङ सुरू भयो । स्मार्ट फोनको वृद्धिसँगै मोबाइल बैंकिङ प्रयोगकर्ता २०२४ को मध्यसम्म २४ लाख ७० हजार पुगेका छन् । डिजिटल वालेट प्रयोगकर्ता २०२४ सम्म २३ लाख नाघेका छन्, जुन २०२० मा ५ लाखभन्दा कम थिए । यो परिवर्तनले केही वर्षमै डिजिटल भुक्तानीप्रति मानिसको झुकाव कति छिटो बढेको छ भन्ने स्पष्ट हुन्छ ।

राष्ट्र बैकले सबै वाणिज्य बैंकलाई डिजिटल प्लेटफर्म (क्युआर पेमेन्टसहित) अनिवार्य गरेको छ । ग्राहकलाई क्यूआर भुक्तानीको सुविधा दिने व्यवसायी (मर्चेन्ट) को संख्या सन् २०२० मा ४० हजार रहेकामा २०२४ मा ३ लाख पुग्यो । बैकहरूले डिजिटल खाता खोल्ने, अनलाइन केवाईसी र कन्ट्याक्टलेस पेमेन्टजस्ता सेवा व्यापक बनाए । त्यसमा ग्रामीण क्षेत्रमा महिला र किसानका लागि पनि विशेष कार्यक्रम समावेश थिए ।

साइबर सुरक्षा सुनिश्चित गर्न राष्ट्र बैकले हालै सुदृढ स्परेखा लागू गरेको छ । आन्तरिक स्पमा बैकहरुले स्वचालित प्रणाली (अटोमेसन), आर्टिफिसल इन्टेलिजेन्स (एआई) र डिजिटल भुक्तानी संरचना अपनाएका छन्, जसले कारोबारको गति, लागत र कार्यकुशलतामा सुधार ल्याएको छ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजिएस), इन्टरबैक फन्ड ट्रान्सफर (आईबीएफटी), कनेक्ट आईपीएसजस्ता प्रणालीले बैंकबीचको कारोबारलाई छिटो र झन्झटरहित बनाएको छ। यसले नगदरहित अर्थतन्त्रलाई तीव्र गतिमा प्रवर्द्धन गरेको छ ।

केही बैकहरूले एआई प्रयोग गरी अन्य सहायक सेवामा व्यक्तिगत अफर पनि दिन थालेका छन् । अस्पताल, होटल-रेस्टुरेन्ट, मार्ट, व्यापारिक संस्था र बिमा कम्पनीसँग सहकार्य गरेर डिजिटल भुक्तानीमार्फत छुट दिने अभियानले ग्राहकको दीर्घकालीन सम्बन्धमा जोड दिने एकीकृत डिजिटल प्रणाली निर्माणमा पनि उनीहरूले फड्‌को मारिरहेका छन् ।

महामारीले डिजिटल सेवाको प्रयोग तीव्र बनायो, जसले बैकिङ क्षेत्रलाई आन्तरिक प्रक्रिया छिटो बनाउन र ग्राहकका लागि डिजिटल सेवा विस्तार गर्न प्रेरित गन्यो। बैंकहरुमा आएको डिजिटल परिवर्तनले सञ्चालन क्षमता मात्र बढाएको छैन, गाउँ तथा सहरमा वित्तीय समावेशीकरण र ग्राहक अनुभवमा पनि सुधार ल्याएको छ ।

वित्तीय क्षेत्रका सुरक्षा चुनौती

नेपालमा डिजिटल कारोबारको तीव्र वृद्धिसँगै अनलाइन माध्यमबाट हुने साइबर अपराध र वित्तीय ठगीका घटनामा पनि बढोत्तरी भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्यूरोको तथ्यांकअनुसार सन् २०१९/२० मा साइबर ठगी र वित्तीय अपराधसम्बन्धी २ हजार ३ सय १ उजुरी परेका थिए । पाँच वर्षको अन्तराल अर्थात् २०२३/२४ मा आइपुग्दा उक्त संख्या बढेर १९ हजार ७ सय ३० पुगेको छ । यो आँकडाले यसखाले अपराधमा ७५७ प्रतिशतले वृद्धि भएको देखाउँछ । २०२४/२५ को अन्तसम्म यो संख्या २५ हजार नाघ्ने अनुमान छ। यसले नेपाललाई साइबर अपराधमा द्रुततर वृद्धि हुने देशहरुको सूचीमा अग्रणी बनाउने खतरा छ । कुल साइबर अपराधमध्ये २० प्रतिशतभन्दा बढी अनलाइन ठगीका घटना छन् । यो संख्या वार्षिक रुपमा दोब्बर हुँदै गएको छ। अघिल्लो आर्थिक वर्षमा प्रहरीमा दर्ता भएका २० हजार घटनामध्ये करिब ४ हजार १ सय अनलाइन ठगीसँग सम्बन्धित थिए ।

  • डिजिटल बैंकिङ कार्ड र एटिएमबाट थालनी
  • इन्टरनेट बैंकिङ र अनलाइन कारोबार
  • स्मार्ट फोनको विस्तारसँगै मोबाइल बैंकिङमा प्रवेश
  • कोभिड-१९ पछि डिजिटल बैंकिङ विस्तारमा तीव्रता
  • डिजिटल पेमेन्टमा ग्राहकको आकर्षण
  • अनलाइनट खाता, अनलाइन केवाईसी र उच्च कारोबारमा बैंकहरूको प्रोत्साहन
  • डिजिटल कारोबारको प्रयोग र मूल्यमा तीव्र वृद्धि
  • दैनिक खरिद र विल भुक्तानीमा डिजिटल कारोवारको व्यापकता

बैकिङ ठगी र सम्पत्ति शुद्धीकरणजस्ता अपराध डिजिटल वालेट वा अन्जान मानिसलाई वित्तीय अपराधको हतियारका रुपमा प्रयोग गरेर (मनी म्युल्स) समेत भइरहेको पत्ता लागेको छ । सीआईबीको अनुसन्धानअनुसार केही आपराधिक गिरोहले डिजिटल भुक्तानी माध्यमबाट करिब १७ अर्ब ८६ करोड रूपैयाँबराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानबाट देखिएको थियो ।

बैक, भुक्तानी सेवाप्रदाय (पीएसपी) र भुक्तानी सेवा सञ्चालक (पीएसओ) हरुका लागि नेपाल राष्ट्र बैकले जारी गरेको साइबर प्रतिरोध नीतिमा भीपीएन प्रयोगमा प्रतिबन्ध, रूट वा जेलब्रेक गरिएको मोबाइलमा बैकको एप निस्कृय हुने सुविधालाई प्रोत्साहन गरिएको छ । त्यस्ता मापदण्ड र आन्तरिक जोखिम नियन्त्रणका अन्य उपायका बाबजुद डिजिटल कारोबारमा हुने वित्तीय जोखिम बढिरहेको छ । कतिपय बैंकहरुले युवा लक्षित एनिमेटेड कार्टुन र सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरता फैलाइरहेका छन् । तर, बैकहरुको मात्र एकतर्फी प्रयासले डिजिटल साक्षरता बढ्न सक्दैन । प्रभावकारी डिजिटल सुरक्षा प्रत्याभूत गर्न सरोकारवाला पक्ष सबैको एकीकृत सहभागिताको खाँचो छ । यसमा सरकारी निकाय, प्रहरी, नियामक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, सञ्चार माध्यम र सर्वसाधारणको सक्रिय भूमिका आवश्यक पर्छ ।

नियामक नीतिनियम र संरचनालाई सुदृढ बनाउने, ठगीबारेका सूचना तत्काल पहिल्याउन सक्षम र प्रभावकारी प्रणाली बनाउने, सुरक्षित प्रविधि अभ्यासलाई प्रवर्द्धन गर्ने तथा समुदायमा आधारित डिजिटल साक्षरतामा वृद्धि गर्ने पहलले नेपालमा अझ सुरक्षित, भरोसायोग्य र दिगो डिजिटल लेनदेनको वातावरण निर्माण गर्न सहयोग पुग्नेछ ।

नेपालमा बैंकहरुले पनि अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिसकेका छन् । केही बैकले त ठगी तथा वित्तीय अपराध पहिचान तथा रोकथामका लागि एआई प्रयोग पनि सुरू गरिसकेका छन् । यो प्रविधि महँगो भए पनि बढ्दो जटिलता र जोखिमलाई ध्यानमा राख्दा यसको प्रयोग अपरिहार्य बन्दै गएको छ ।

डिजिटल प्रविधिको रूपान्तरणसँगै बढ्‌दै गएका नयाँ-नयाँ जोखिमबाट जोगिन नेपालका लागि सबै तहमा डिजिटल जनचेतना जगाउनु र सतर्कता अपनाउनु नै दीर्घकालीन सुरक्षात्मक उपाय हो ।

विगतदेखि नै चुनौतीपूर्ण रहेको सामाजिक, राजनीतिक वातावरणमा भएको जेनजी आन्दोलनले डिजिटल वित्तीय कारोबारमा ठूलो अवरोध ल्यायो । यसै समय दसैं तिहार, छठलगायतका पर्वपछि लगातारको वर्षाले परिस्थितिलाई अझ जटिल बनायो । प्रमुख डाटा सेन्टरमा आक्रमण र आगजनी हुँदा केही दिनसम्म पेमेन्ट प्रणाली र डिजिटल सेवा अवरूद्ध नै भए । यस्ता गम्भीर चुनौतीका बाबजुद पनि नेपालका वित्तीय संस्था र आधार भूत डिजिटल सेवाप्रदायकले उल्लेखनीय समझदारी, सहनशीलता र चुस्तता देखाउँदै आफ्ना सेवालाई तीव्र गतिमा पुनर्स्थापना र निरन्तरता दिए, जुन अघिल्ला वर्षमा गरिएको प्रविधिगत लगानीकै कारण सम्भव भयो ।

पछिल्लो संकटले भौतिक डाटा सेन्टरमा अत्यधिक निर्भरता रहनुलाई कमजोर पक्षका रूपमा उजागर गर्दै क्लाउडमा आधारित डेटाबेस समाधानको सूत्र हुन सक्ने यथार्थ दर्शायो । क्लाउडले लचिलोपन, आपतकालीन पुनर्स्थापना क्षमता र विस्तारयोग्यता प्रदान गर्छ, तर यसमा डेटा सुरक्षासँग सम्बन्धित विश्वव्यापी नीति नियम पालना अनिवार्य हुन्छ ।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिले प्रविधिमा लगानीको महत्वलाई पुनः पुष्टि गन्यो । बैकहरूले यसमा ठूलो लगानी गरे पनि तत्काल प्रतिफल देखिन नसक्दा विशेषगरी संकटको समय यो विश्वास र प्रणालीको भरोसा कायम राख्नु अझै चुनौतीपूर्ण रहेको देखियो ।

भविष्यमा आउने अवरोधका लागि नेपालले आपतकालीन योजना, क्लाउडमा आधारित ब्याकअप र विविध स्थानका डेटा केन्द्र विकास गर्नुपर्छ । बैक, नियामक, सरकार र सुरक्षाकर्मीबीच समन्वय बलियो बनाउन जरूरी छ । साथै, जनस्तरमा डिजिटल साक्षरता र सही सूचना प्रसारले गलत सूचनामा निर्भर सामाजिक अस्थिरता घटाउन सक्छ । त्यसका अतिरिक्त एआईको प्रयोगले ठगी पत्ता लगाउने र जोखिम व्यवस्थापनलाई अझ बलियो बनाउन सहयोग पुऱ्याउँछ ।

प्राकृतिक विपत्ति, साइबर आक्रमण र सामाजिक अशान्तिका परिस्थितिलाई समेट्ने समग्र आकस्मिक योजना तयार पार्नु पनि आवश्यक छ । यसले नेपालको डिजिटल कारोबार प्रणाली अझ सुरक्षित र दिगो बनाउनेछ ।

नेपालको बैकिङ र भुक्तानी क्षेत्रले नयाँ प्रविधि विशेषगरी डिजिटल पेमेन्टमा अत्यधिक उत्साह देखाएको छ । क्यूआर कोड आधारित भुक्तानी प्रणालीले राष्ट्रिय रुपमा मान्यता पाएको छ, जसले दैनिक लाखौं कारोबार सहज बनाउँदै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गरेको छ । भिसाजस्ता विश्वव्यापी भुक्तानी सेवा प्रणालीले चिपमा आधारित कार्ड अनिवार्य गरेपछि नेपालका बैकहरूले पनि समयमै त्यसको कार्यान्वयनका मापदण्ड पूरा गरेका छन् । देशभित्र विकसित मोबाइल बैकिङ एप र वालेटहरु अत्याधुनिक, प्रयोगमैत्री र सुरक्षित छन् । यसले उपभोक्तालाई आकर्षित गरिरहेको छ ।

नेपालका बैकहरूले प्रयोग गर्ने नेटवर्क, सर्भर र सुरक्षात्मक संरचना अन्तर्राष्ट्रिय मापदण्डअनुसारका छन् । विश्वव्यापी रुपमा ब्लकचेन, क्वान्टम कम्प्युटिङ, ओपन बैंकिङ र एआईमा आधारित वित्तीय सेवा तीव्र रुपमा विकसित भइरहेका छन् । नेपालले पनि ती प्रविधिलाई तीव्र गतिमा पछ्याउँदैछ । सूचना र सञ्चार प्रविधि (आईसीटी) मा दक्ष व्यक्ति वा विशेषज्ञको क्षमता र उद्यमशीलतालाई अंगिकार गर्दै नेपाली फिनटेक कम्पनीहरु विश्वव्यापी रुपमा प्रतिस्पर्धामा उत्रिने क्रम बढ्‌दो छ । नेपाली स्टार्टअप एआई कम्पनी फ्युजमसिन्स केही समयअघि मात्र न्यूर्योक स्टक एक्सचेन्ज (नास्डाक) मा सूचीबद्ध भएको छ, जुन नेपालको प्रविधि क्षमताले फड्‌को मारेको बलियो उदाहरण हो ।

नेपालको बैंकिङ प्रविधि स्थानीय आवश्यकताअनुसार विकास भएकाले यसले स्थानीय नवप्रवर्तन र विश्वस्तरीय गुणस्तरको अद्वितीय संयोजन देखाउँछ । प्रविधिमा गरिएको लगानी महँगो भएकाले उच्च प्रतिफल सुनिश्चित गर्न सरकारी समर्थन, नियामकको प्रोत्साहन र उद्यम क्षेत्रको सहकार्यले मात्र दिगो विकास, नवप्रवर्तन र नेपाललाई विश्व फिनटेकमा उदीयमान स्थान दिन सहयोग पुन्याउँछ । साथै, डेटा सुरक्षा र मुलुकको सार्वभौमिकतालाई पनि सुनिश्चित गर्दछ ।

बैंकिङ प्रविधिमा अन्तर्राष्ट्रिय अभ्यास र नेपाल

नेपालको बैंकिङ प्रविधि तीव्र रुपमा विकसित भए पनि महँगो छ। यसको प्रतिफल कम वा ढिलो देखिन सक्छ । यसले धेरै फिनटेक कम्पनी र वित्तीय संस्थालाई चुनौती सिर्जना गरेको छ ।

नयाँ प्रविधिमा लगानी गर्न ठूलो पुँजी चाहिन्छ नै । त्यसको मर्मत, अनुसन्धान र मानव स्रोतमा पनि उत्तिकै लगानी खाँचो छ ।

तसर्थ प्रविधीकरणले बैंकको सञ्चालन खर्च घटाउँछ भन्ने धारणा पनि गलत हो । नेपाल अझै पूर्ण नगदरहित अर्थतन्त्रतर्फ नबढेकाले भौतिक शाखा, कर्मचारी र भौतिक पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने अवस्था छ ।

बैकहरूले ग्राहकको मन जित्न हप्ताका सातै दिन र चौबीसै घन्टा निरन्तर सेवा प्रवाह गर्नुपर्ने हुँदा मानवीय सहयोग र एआईमा आधारित सेवा दुवै चाहिन्छ । यसले लागत बढाए पनि ग्राहक विश्वासका लागि आवश्यक छ । विश्वव्यापी रुपमा पनि बैंकिङ प्रविधिमा अर्बो रूपैयाँ लगानी भइरहेको छ ।

नेपालले क्यूआर पेमेन्ट, चिप कार्ड, मोबाइल वालेटजस्ता आधुनिक प्रणाली आफ्नै दक्ष जनशक्तिबाटै विकास गरिरहेको छ । तर, साइबर सुरक्षा, आईटी जनशक्ति संरक्षण र नवप्रवर्तनको विस्तारमा निरन्तर लगानीको चुनौती कायमै छ ।

नेपालका बैकहरूले लागत र नवप्रवर्तनबीच सन्तुलन कायम राख्न प्रविधिमा लगानी गर्नु वैकल्पिक छनोटको विषय नभई अनिवार्य दायित्व हो । उनीहरुले आधुनिक, सुरक्षित र भरपर्दो वित्तीय सेवा प्रदान गर्न ग्राहकको विश्वास जित्दै प्रतिस्पर्धी सेवा प्रवाहलाई अझै व्यापक बनाउन सके मात्र देशको उदीयमान डिजिटल वित्तीय अर्थतन्त्रको दिगो वृद्धि सम्भव छ । त्यसका लागि बैकहरुले मानवीय र डिजिटल दुवै प्रकृतिका सेवामा निरन्तर सुधार ल्याउँदै नवप्रवर्तनमा गरिने लगानीमा सन्तुलन कायम गर्नु जरूरी छ । यसले ऋण लगानी, नगद भुक्तानीलगायतका वित्तीय र अन्य गैरवित्तीय कारोबारलाई समेत आधुनिक, सुरक्षित र भरपर्दो स्तरमा उकास्न सक्छ ।

(कोइराला नेपाल बैंकर्स संघका अध्यक्ष हुन्। प्रस्तुत लेख आर्थिक पत्रकार समाजले प्रकाशन गरेको अर्थनीति, सेजन स्मारिका २०८२ बाट लिइएको हो))

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार