स्नो रिभर्स लिमिटेडको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक नेपालीलाई प्राथमिकता
- BFIS News
- 2026 Mar 23 11:21
काठमाडौं, चैत ९ — स्नो रिभर्स लिमिटेडले आजदेखि आफ्नो साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँ मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दामध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता तथा अन्य प्रभावित क्षेत्र—सिरिजङ्गा गाउँपालिका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ का बासिन्दालाई समान ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिनेछ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। स्थानीय बासिन्दाले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
निष्काशन अवधि अनुसार, स्थानीय बासिन्दाका लागि छिटोमा चैत २३ गते र ढिलोमा २०८३ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन खुला रहनेछ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
स्नो रिभर्स लिमिटेडले १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै ३१ वर्ष २ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष र छुट दरमा १५.७७ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धकका साथै आयोजना स्थल, याम्फुदिन, नेपाल बैंकको सिरिजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट ‘सि-आस्बा’ प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया