हिसाब नदिई नयाँ संस्था खोल्नु गलत बाटो हो, अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष अधिकारीसँगको अन्तर्वार्ता
- BFIS News
- 2026 Mar 25 15:22
काठमाडौं। बीमा अभिकर्ताहरुको हकहितमा लामो समयदेखि काम गर्दै आइरहेको पेशागत बीमा अभिकर्ता संघलाई धेरै अगाडीदेखि टुक्राउने तथा निष्क्रिय पार्ने खेल हुँदै आइरहेका छन्। आफु हुँदा सबै ठिक र आफु नहुँदा सबै बेठिक भन्ने प्रवृत्ती सँगै अर्को पक्षलाई स्वीकार नगर्दा अहिले पेशागत बीमा अभिकर्ता त्यसमा पनि नेपाल लाइफमा केहि समुहको ठुलै चलखेल देखिएको छ। नेपाल लाइफ अभिकर्ता सञ्जालमा सबैभन्दा ठुलो संस्था हो। पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको पुर्व कार्यसमितिले पुरानो हरहिसाव बरबुझारथ नगरी समान्तर संघ खडा गरेका छन्। यसले गर्दा अभिकर्ताहरु पनि अलमलिन थालेका छन्। यहि सन्दर्भलाई बिएफआइएस न्युजले पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश:
पेशागत बिमा अभिकर्ता संघ बिमक समिति नेपाल लाइफले राम्रोसँग काम गर्दा गर्दै केही अभिकर्ताहरुले अर्को समानान्तर समिति गठन गरेको देखिन्छ। यहाँ आधिकारिक चाहिँ को हो?
यो आधिकारिकताको सवाल होइन। हाम्रो प्रचलित कानुन अनुसार श्रमिकहरु हाम्रो अधिकारका लागि हामी संगठन बनाउँछौँ भनेर गयो भने ५०० जनाको नाम, लाइसेन्स नम्बर, प्रमाणित कागज र ५०० रुपैयाँ पैसा त्यहाँ जम्मा गरेपछि यथावत रहेको नाम सँग मेल नखाने गरी अर्को नाममा संघ दर्ता गरिदिने व्यवस्था छ। उहाँहरूले केही अभिकर्ताहरूको नाम लिस्ट लगेर श्रम विभागबाट दर्ता प्रमाणपत्र लिनुभयो भन्ने बजारमा सुनिन्छ।
तर धेरै अभिकर्ता साथीहरूले हाम्रो नाम समेत र हाम्रो हस्ताक्षर समेत त्यहाँ दुरुपयोग गरेको पाइएको हुनाले 'त्यो हाम्रो हस्ताक्षर होइन' भनेर हामीसँग धेरैले यहाँ निवेदन पनि दिँदै हुनुहुन्छ। त्यसैले अब एउटा कम्पनीमा एउटा युनियन आधिकारिक हुन्छ। यो २०६८ सालदेखि 'पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफ' भनेर काम गरिरहेको संस्था हामीसँग छ। आधिकारिक रूपमा यसलाई श्रम ऐनले दिएको अधिकारलाई प्रयोग गरेर विधान अनुसार कमिटी गठन गरेर यसले विधानले दिएका समय-समयमा कामहरू गरेर अगाडि बढेको हुनाले आधिकारिक कसलाई दिन्छ भन्दा पनि २०६८ सालदेखि काम गर्दै आएको संघ नै आधिकारिक हुन्छ र हाम्रो दाबी त्यसैमा छ। आजको अवस्थामा हामी नै आधिकारिक हो।
समानान्तर रुपमा अन्य संघठन दर्ता भएर जादै गर्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि आधिकारिता दिने चरणमा जाला। त्यस्तो अवस्थामा तपाईहरु कसरी अगाडी बढ्नु हुन्छ?
यसरी विभिन्न समुहरुले संघठन दर्ता गर्न आउदै गर्दा भोलिका दिनमा नेपाल लाइफले पनि एउटा आधिकारिकता त दिनुपर्ला। तर उहाँहरुले बुझ्नु पर्ने कुरा के हो भने श्रम विभागले ५०० जनाको नाम लिस्ट लिएर गएपछि संस्था दर्ता गरिदिन्छ। जवकी नेपाल लाइफमा ६१ हजार भन्दा धेरै अभिकर्ताहरु छन्। विगत लामोसमयदेखि काम गर्दै आइरहेको आधिकारिक संघठन हुँदा हुँदै यसरी आउने संघठनलाई दर्ता गर्ने थिती बस्यो भने भोलिका दिनमा ५० वटा भन्दा धेरै संघठन जन्मनेवाला छ।
हामी जो 'पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफ' को नाममा २०६८ सालदेखि आधिकारिक युनियन मानेर कम्पनीले एउटा नङ र मासुको रूपमा अभिकर्ताहरूका र बिमितका समस्याको विषयमा उठान गरेका विषयमा सम्झौता गरेर कामहरू अगाडि बढाउदै आइरहेको छ। त्यसैले अब कम्पनीले कसलाई मान्छ भन्दा पनि हामी ९७ प्रतिशत अभिकर्ता रहेको यो 'पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ छ, यसैलाई मान्छ भन्ने हाम्रो दाबी छ।
आजका दिनमा जुन समूहले समानान्तर समिति गठन गरिरहेका छन्, यो समूह चाहिँ हिजोका दिनमा यही संघमा रहेर काम गरेर यहाँसम्म आइपुगेको देखिन्छ। यो भन्दा अगाडि उहाँहरूको प्रस्तुती र विशेष साधारणसभा पछि उहाँहरु भुमिका कस्तो पाउनु भएको छ?
हो, राजेन्द्र अमात्य २०६८ सालदेखि २०७९ सालसम्म करिव १०-११ वर्षसम्म नेपाल लाइफको अध्यक्ष हुनुभयो। र त्यसबेलादेखि नै सारा अभिकर्ताले तिरेका लेबी, सदस्यताको रकमहरू उहाँकै जिम्मामा रहेको छ। र अहिले आएर उहाँ आफैले आफ्नो नाममा 'राष्ट्रिय पेशागत बिमा अभिकर्ता संघ नेपाल' दर्ता गर्नु भयो, यो सही बाटो छैन। उहाँ उल्टो बाटो हिँडिरहनुभएको छ।
विधान अनुसार २०७२ सालमा उहाँले अधिवेशन गरेपछि तीन वर्षमा अर्को अधिवेशन गराउनुपर्ने थियो। समयमा अधिवेशन नभए पछि हामीले 'अधिवेशन गराउनुस्, हिसाब किताब सार्वजनिक गर्नुस्' भन्यौँ। ८ वर्ष अधिवेशन गराउनुभएन। उहाँले एकलौटी ढंगले २०७८ सालमा हेटौडामा अधिवेशन गराउन खोज्नुभयो। हामीले 'यो विधिसम्मत छैन, यहाँ प्रतिनिधि बोलाउने तरिका र सदस्यता वितरणमा धाँधली छ' भनेर त्यहाँ कुरा उठान गर्यौँ। उहाँले मान्नुभएन, जबर्जस्ती एकलौटी रुपमा अधिवेशन गर्नुभयो।
हामीले त्यसपछि विशेष अधिवेशनको माग गर्यौँ। र विशेष अधिवेशन गर्नु भनेर यसको छाता संघ 'पेशागत बिमा अभिकर्ता संघ नेपाल' ले हामीलाई अधिकार दिएपछि हामीले २०७९ साल पुसमा राष्ट्रिय सभागृहमा देशभरिका ९५ प्रतिशत अभिकर्ता सदस्यता लिएका अभिकर्ताहरूको उपस्थितिमा विशेष अधिवेशन गरायौँ। र विशेष अधिवेशन गराएपछि पनि राजेन्द्र अमात्य, कृष्ण आचार्यहरूले हाम्रो यो विशेष अधिवेशनबाट केन्द्रीय समितिलाई उहाँहरूले चारवटा मुद्दा लगाउनुभयो।
हामीले प्रतिवादीको रूपमा मुद्दा सामना गर्यौँ र उच्च अदालत पाटनले यी सबै मुद्दाहरूको सुनुवाइ गर्दै विशेष अधिवेशनबाट आएको केन्द्रिय समितिलाई नै आधिकारिकता प्रदान गर्यो। त्यसैले विशेष अधिवेशनबाट गणेश अधिकारीको नेतृत्वमा गठित कार्यसमिति बैधानिक भएको छ। समयमा अधिवेशन नगरेको तथा आर्थिक हरहिसाव चुस्त दुरुस्त नराखेको कुरालाई अदालतले पनि सदर गरेको छ।
हामीले राजेन्द्र अमात्यलाई 'तपाईँको जिम्मामा रहेका ११-१२ वर्षदेखिका सम्पुर्ण कागजपत्र र हरहिसाव बुझाउनुस् भन्यौ। त्यस्तै हामी अब संगठनलाई व्यवस्थित बनाएर अगाडि लान्छौँ' भन्यौँ। उहाँले बुझाउनुभएन। उहाँलाई एउटा समिति बनाएर समन्वय गर्न पठायौँ, 'बुझाउँछु बुझाउँछु' भनेर बुझाउनुभएन। उहाँलाई पत्राचार गर्यौँ, त्यो पनि बुझाउनुभएन। त्यसपछि हामीले पत्रिकामा सूचना निकाल्यौँ, सूचित गर्यौँ। त्यो पनि उहाँले नपढेको बहाना बनाएर अहिलेसम्म आलटाल-आलटाल गर्नुभयो। यस अवधिमा उहाँहरुले ठुलो रकम बाहिर निकालेको देखिन्छ।
त्यहाँ रहेका धेरै मान्छेका नाममा, व्यक्तिका नाममा चेक काटेर पैसा निकालेको बैंक स्टेटमेन्ट हामीसँग छ। तर अहिलेसम्म उहाँले उहाँको कार्यकाल भरि गरेका अडिट रिपोर्ट, खर्चका बिलहरू केही पनि नदिएको पाइन्छ। उहाँलाई हामीले अनुरोध गर्दा गर्दै 'बुझाउनुपर्छ, अब यिनीहरू अदालतको बाटोबाट भए पनि मलाई छाड्दैनन् भन्ने भएपछि अर्को संस्था खोल्नु भएको छ। उहाँहरुले एउटा कुनै अमुक पार्टीको भातृ संगठन जस्तो गरी केन्द्रीय समिति बनाएर आउनुभएको छ भन्ने सुनिन्छ। त्यसैले उहाँहरूलाई अझै पनि हामी आह्वान गरिरहेका छौँ 'त्यो बाटो होइन, यहाँ विधानलाई टेकेर पेशागत बिमा अभिकर्ता संघ नेपालको सदस्यता लिनुस्, सदस्यता लिएर अधिवेशनमा आउनुस्।'
तपाई अध्यक्ष हुनु भएपछि यस अवधिमा के के काम गर्नु भयो?
२०७३ सालदेखि काम गरेर आएको र कम्पनीसँग बीमित र अभिकर्ताका हरेक कुराहरूलाई समन्वय गर्दै, सहज गर्दै आएको र यो युनियनले अहिले अभिकर्ताहरूबाट आजीवन सदस्यता बापतको रकमबाट अभिकर्ताको एउटा अक्षय कोष निर्माण गरेर अगाडी बढिरहेको छ।
अभिकर्ता बिरामी भएमा वा उसलाई घातक रोग लागेमा १ लाख १ हजार दिने, आजीवन सदस्यता लिएको अभिकर्ताको मृत्यु भयो भने २५ हजार दिने एउटा बृहत् अक्षय कोष समेत निर्माण गरेर सुरुवात गरेर अगाडि बढेको छ। यो जुन पेशागत बिमा अभिकर्ता संघ नेपाल, बिमक समिति नेपाल लाइफ छ, यसलाई अन्य कुनै पनि युनियनले केही फरक पार्ने छैन।
हामीसँग ९७ प्रतिशत अभिकर्ता साथीहरू हुनुहुन्छ। पहिलेदेखि लामो समय पेशागत बिमा अभिकर्ता संघमा बसेर सारा पैसाहरू विभिन्न नाममा उठाएर खाइपल्केका साथीहरू र नेपाल लाइफका हरेक पैसाहरू नतिरेर ब्ल्याक लिस्टेड (Blacklisted) भएका साथीहरू, अनि नेपाल लाइफमा नाम राख्ने अरु कोड लिएर अरु-अरु कम्पनीमा काम गरेका अभिकर्ताहरू अनि पहिलेदेखि जरा गाढेर यही पेशागत बिमा अभिकर्ता संघमा उठेको अभिकर्ताको रगत पसिनाबाट जो रमाएका व्यक्तिहरू छन्। त्यस्तै उनीहरूले भनेको मान्ने, जसले हाम्रो पनि खोल ओढेर गलत गरेका थिए र गलत गर्नेलाई कारबाही गर्नुपर्छ भनेर हाम्रो संगठनले कारबाहीको सूचीमा राखेका व्यक्तिहरूलाई लिएर उहाँहरूले नामधारीको केन्द्रीय कमिटी भनेर १३ जनाको बनाउनुभएको छ। यो अमुक कुनै पार्टीको संगठन जस्तो गरी विधानलाई समेत ख्याल नगरिकन १३ जनाको केन्द्रीय समिति बिमक समिति भनेर सार्वजनिक गर्नुभएको छ। यो वैधानिक पनि छैन, आधिकारिकताको त कुरै छैन।
त्यसैले हामी उहाँहरूलाई अझै यो गलत बाटो नजानका लागि अनुरोध गर्छौँ, यही संगठनमा जोडिएर काम गर्नका लागि हामीले आह्वान पनि गरेका छौँ । यदि त्यसो गर्नुभएन भने उहाँहरूले अभिकर्तालाई जुधाउने कोसिस गर्नुभयो भने अब अभिकर्ताहरूले आफ्नो-आफ्नो ठाउँबाट हामी सबैलाई यी कुराहरू सार्वजनिक गर्छौँ र अभिकर्ता साथीहरूले नै उहाँहरूलाई प्रतिकार गर्नुहुन्छ।
यस बीचमा हामीले मसिना-मसिना अभिकर्ताका समस्या, बीमितका समस्या समाधान गरेर आइरहेका छौँ। उहाँहरूले कपोलकल्पित एउटा संघ दर्ता गरेको नाममा हामीलाई लाग्छ, यहाँ केही कर्मचारी साथीहरूको पनि मिलेमतो भएको हामीले महसुस गरिरहेका छौँ।
किनकि उहाँहरू अहिले हामीले उठाउँदै गरेको यो 'एक किस्ता समायोजन' को मागलाई हामीले चैत १ गतेबाट आन्दोलनमा गइरहँदा, ४ गते पोलिसी देशभरि बन्द गर्यो। नयाँ पोलिसी काट्न बन्द गरिरहँदा उहाँहरूले पोलिसीहरू काटेर कम्पनीको प्यारो हुन खोजेको पायौ। अनि एक दुई वटा कार्यक्रममा कम्पनी समेत उनीहरूसँग लागिदिएको हो कि भन्ने अभिकर्तालाई भान गराए जस्तो गरेको बुझिएको हुनाले यहाँ कम्पनीका केही अमुक व्यक्तिहरू र उहाँहरूको मिलेमतोमा अहिले हामीले उठाएका जायज मागहरूलाई ओझेलमा पार्नका लागि यो दर्ता गरिएको हो भन्ने हामीलाई लागिसकेको छ।
हामीसँग १५४ वटा शाखा समितिहरू गठन भएका छन्, सातै वटा प्रदेशमा सातवटा प्रदेश समितिहरू छन्। हाम्रो केन्द्रीय कमिटी ३५ जनाको पुर्ण कमिटी छ। हामीले धेरै काम गरेका छौँ। अभिकर्ताहरूलाई गाह्रो भइरहेको थियो, कर्पोरेटमा भएका सबै विभागका प्रमुखहरूलाई राखेर हामीसँग उपलब्ध काठमाडौँ भ्यालीका १०० जना अगुवा अभिकर्तालाई लगेर यहाँ-यहाँ समस्या छ भनेर सबै सुधार गर्न लगायौँ।
नेपाल लाइफमा एउटा भविष्य निधि भन्ने बीमा पोलियो थियो। कम्पनी त्यो बन्द गरेको थियो। हामीले त्यसलाई सुचारु गर्न लगायौँ। त्योसँगसँगै कम्पनीले अभिकर्ताहरूको दुर्घटना बिमा मात्रै गरिदिएको थियो, अहिले हामीले सेल्फ कोडबाट ४ लाख प्रिमियम काट्ने र एजेन्सी म्यानेजर नवीकरण गर्ने अभिकर्ताहरूको नेचुरल डेथमा २ लाख दिने व्यवस्था गरेका छौं।
कम्पनीले हरेक वर्ष राष्ट्रिय सम्मानका नाममा एउटा जुवाको रूपमा खेलाइरहेको थियो। जसले बढी काम गर्छन् उनिहरुबाट ३० जनालाई सम्मान गरिरहेको थियो। अहिले ५५ लाख र टिममा २ करोड ३० लाख प्रिमियम ल्याउने जति सबैलाई सम्मान गर्ने वातावरण बनायौँ।
त्यो सँगै सबै साथीहरू त्यहाँ जान सक्नुभएन भनेर प्रदेश स्तरमा पनि एउटा क्याटेगोरी तोकेर प्रदेशमा पनि सम्मान गर्नुपर्छ भनेर गर्यौँ। गत वर्ष मात्रै हरेक प्रदेशमा ५०० देखि ७०० जना साथीहरू सम्मानित हुनुभयो।
यो सँग-सँगै हामीले नेपाल लाइफका हरेक कार्यालयहरू ब्रान्डेड हुनुपर्छ भनेर यो वर्षबाट ५० वटा शाखाको स्तरोन्नती गर्नका लागि १२/१३ करोड रकम विनियोजन गर्न लगाएका छौ। नेपाल लाइफका यो वर्ष ५० वटा शाखा र आगामी वर्ष ५० वटा र अर्को वर्ष देशभरिका सबै शाखाहरू अब एकै खालका हुनेछन्, त्यसरी अगाडि बढाएका छौँ।
कर्मचारी साथीहरूको पनि हरेक कुरा नीतिगत रूपमा सरुवा, बढुवाको व्यवस्था गरिनुपर्छ। मूल्याङ्कन त्यसैगरी गरिनुपर्छ। राम्रो काम गर्नेलाई पुरस्कार दिनुपर्छ र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ भनेर माग राखेका छौँ। अब नेपाल लाइफका हरेक कर्मचारीहरूलाई ड्रेस कोडमा आउने गरी व्यवस्थापन गर्न लगाएका छौँ।
यो सँगै अभिकर्ताहरूको एउटा स्ल्याब थप्न लगाएका छौँ। जुन एजेन्सी स्ल्याब साढे १२ लाखबाट मात्रै थियो। अहिले ९ लाख पुर्याएको र २ लाख सेल्फमा प्रिमियम दिने अभिकर्ताहरूलाई पनि हामीले भदौमा उसले ९ लाख टिमबाट र सेल्फमा २ लाख यदि आर्जन गर्यो भने र उसले जेठमा २५ लाख पुर्यायो भने पनि त्यो भदौदेखिकै तलब सुविधाहरू पाउने गरी एउटा सम्झौता गरेका छौँ। र अरू पनि थुप्रै कामहरू गर्न बाँकी पनि छन्।
अहिले हामीले नवीकरण छुटको स्किमलाई बेला-बेलामा ल्याउन लगाइरहेका छौँ। यो पटक पनि २५औँ वार्षिकोत्सवको अवसरमा यो छुटलाई ल्याउनका लागि एउटा सम्झौता नै गरेका छौँ। एक किस्ता समायोजनको सम्झौता गराएका छौँ। यो विषम परिस्थितिमा पनि सारा बिमा कम्पनीहरूका बोनस घटिरहँदा नेपाल लाइफमा जुन बोनस थियो त्यसलाई तल-माथि हुन नदिएर रोक्ने काम गरेका छौँ।
हामीले बिमित अभिकर्ताका हितका लागि कुनै कसुर नराखिकन साना-साना उठेका मुद्दाहरूलाई केही रूपमा उठान गरेर पूरा गर्न लागेका छौँ र अझै पनि बाँकी भएका कुराहरूलाई पूरा गर्ने गरी अहिले हामी एक किस्ता समायोजनको सँगै होल लाइफ, जीवन साहारा जस्ता बिमाहरूको अन्तिम किस्ता तिर्न बिमित आएन भने पनि अटो-लोन बनाएर अन्तिम किस्ता कम्पनीले तिर्दिने गरी एपीआई (API) को सुविधा ल्याउने गरी व्यवस्था गर्न लागेका छौँ। यो पनि छिट्टै आउने गरी छ।
अभिकर्ताहरूको लाइसेन्स नवीकरणमा अप्ठ्यारो भएको छ, त्यसलाई सहज गर्नका लागि कम्पनीले पहिले दिँदै आएको जुन ३० हजार सेल्फमा काट्दा खेरि ६०० दिने थियो, यो तीन वर्षसम्म लागु थिएन। र यो तीन वर्षको पनि काम गर्ने अभिकर्ताहरूको लागि ६०० रुपैयाँ उसको खातामा लगाइदिने गरी व्यवस्था गरेका छौँ। र यो महिनाबाट यो नवीकरणका लागि तिर्नुपर्ने १५०० पनि स्किमको रूपमा ल्याएर कम्पनीले नै लाइसेन्स नवीकरण पनि गरिदिने व्यवस्था समेत मिलाउने गरी हामी अगाडि बढेका छौँ र अभिकर्ताको त्यसरी हामीले मागहरू लिएर अगाडि बढेर काम गरिरहेका छौँ।
आगामी दिनमा तपाईको यस कार्यसमितिले के-के गर्ने लक्ष्य लिएको छ?
हामी आएदेखि नै यो-यो काम गर्ने भनेर एउटा कार्यदिशा लिएर अगाडि बढेका छौँ। धेरै कामहरू पूरा गर्दै-गर्दै ल्याएका छौँ। अब हामीले एजेन्सी स्ल्याबलाई संशोधन गर्नुपर्ने छ। त्यसलाई संशोधन गरेर अझै सजिलो गरी अगाडि बढाउने छौँ र ए.एम. (AM) स्ल्याबलाई अझै सेल्फमा कम प्रिमियममा पनि नवीकरण गरेर धेरै एजेन्सी साथीहरू यहीँ रहने वातावरण बनाएका छौँ।
हामीले अहिले आजीवन सदस्य बन्नेलाई एउटा अक्षय कोषको रूपमा 'अभिकर्ता सहायता कोष' निर्माण गरेर अगाडि बढाएका छौँ। त्यसको संरक्षक कार्यकारी अधिकृत सिइओ (CEO) र बिमकको अध्यक्ष रहने गरी सुरुवात गरेका छौँ। त्यसको खाता सञ्चालन कम्पनीको प्रतिनिधिको अनिवार्य हस्ताक्षरबाट मात्रै पैसा झिक्न पाउने गरी त्यसको कार्यविधि बनाएर सुरुवात गरेका छौँ। त्यसलाई कोही व्यक्ति आउँदा पनि भोलि अपचलन नहोस्, दुरुपयोग नहोस् भनेर अगाडि बढाएका छौँ।
यो अक्षय कोषलाई अझै व्यापक बनाएर अगाडि लान खोजिरहेका छौँ। र यो अक्षय कोषले हरेक आजीवन अभिकर्ताले सुविधा पाओस् भनेर अहिले १ लाख १ हजार पैसा घातक रोग लाग्दा दिने, मृत्युमा २५ हजार दिने जुन कुरा थियो, त्यसलाई अझै बढाउँदै लाने हाम्रो लक्ष्य छ। घातक रोग लाग्दा खेरि ठुलो कोष बनाएर ५ लाखसम्म दिन सकिन्छ कि, मृत्युमा १ लाखसम्म पुर्याउन सकिन्छ कि भनेर एउटा सोच-विचार गरेर यो कोष ठुलो बनाउन खोजिरहेका छौँ।
बोनस कसरी बढाउन सकिन्छ, अब नयाँ प्रोडक्टलाई बजार सुहाउँदो हुने गरी कसरी ल्याउन सकिन्छ भनेर हामी एउटा गृहकार्य गरिरहेका छौँ। र हरेक कुराहरूमा कसरी बिमितलाई खुसी बनाउन सकिन्छ र कसरी अभिकर्ताका सेवा सुविधाहरू बढाउँदै लान सकिन्छ, त्यही लक्ष्य लिएर अगाडि बढिरहेका छौँ र त्यसलाई पूरा गर्ने गरी हामी लागेका छौँ र पूरा पनि गर्छौँ भन्ने हामीले दृढ विश्वास पनि लिएका छौँ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)









.jpeg)





प्रतिक्रिया