१४ वर्षपछि भारत आउँदै लियोनल मेसी, ‘गोएट इन्डिया टुर’लाई लिएर फ्यानमा उत्साह
- BFIS News
- 2025 Dec 13 12:06
कोलकाता । विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेसी १४ वर्षपछि फेरि भारत भ्रमणमा आउने भएका छन् । अर्जेन्टिनाका कप्तान मेसी डिसेम्बर २०२५ मा आयोजना हुने ‘गोएट इन्डिया टुर’ अन्तर्गत भारत आउन लागेका हुन् ।
यसअघि उनले सन् २०११ मा भारत भ्रमण गरेका थिए ।
मेसी डिसेम्बर १३ देखि १५ सम्म तीन दिन भारतमा रहने कार्यक्रम तय भएको छ । यस अवधिमा उनी कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्ली गरी चार प्रमुख सहरमा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । मेसी शनिबार भारत आइपुग्ने बताइएको छ ।
उनको भारत भ्रमण कोलकाताबाट सुरु हुनेछ । मेसी डिसेम्बर १३ तारिख बिहान करिब १:३० बजे कोलकाता आइपुग्ने अपेक्षा गरिएको छ । सो दिन उनी कोलकातामा विभिन्न कार्यक्रममा सहभागी भएपछि हैदराबाद प्रस्थान गर्नेछन् ।
हैदराबादमा मेसीले राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने ७–ए–साइड प्रदर्शनी फुटबल खेल खेल्ने कार्यक्रम छ । उक्त कार्यक्रममा तेलंगाना राज्यका मुख्यमन्त्री रेवन्थ रेड्डी पनि सहभागी हुने बताइएको छ । त्यसपछि मेसी मुम्बई हुँदै नयाँ दिल्ली जानेछन् ।
सन् २०११ मा मेसीले कोलकाताको साल्ट लेक रंगशालामा भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए, जसमा अर्जेन्टिनाले १–० को जित निकालेको थियो ।
मेसीको आगमनको तयारीलाई लिएर कोलकातालगायत विभिन्न सहरमा समर्थकहरू उत्साहित देखिएका छन् । कोलकाताको इचापुरका एक चिया पसले शिव शंकर पात्रले आफ्नो घर नै अर्जेन्टिनाको निलो–सेतो रंगमा रंगाएका छन् । उनले चिया पसल र कोठाभरि मेसीका तस्बिरहरू सजाएका छन् ।
यसैगरी, श्री भूमि स्पोर्टिङ क्लबले दक्षिण दुर्गापुरस्थित लेक टाउनमा मेसीको ७० फिट अग्लो फलामको मूर्ति निर्माण गरेको छ । विश्वकप ट्रफी समातेको मेसीको उक्त मूर्तिको अन्तिम तयारी भइरहेको बताइएको छ ।
अर्जेन्टिना फुटबल फ्यान क्लब कोलकाताले साल्ट लेक क्षेत्रमा मेसीको मियामीस्थित घरको प्रतिकृति बनाउँदै विशेष सम्मान प्रकट गरेको छ । उक्त संरचनामा छतमा मूर्ति, टेराकोटा टायल र मेसी तथा उनको परिवारका जीवन–आकारका कटआउट राखिएका छन् ।
यसअघि पनि भारतमा थुप्रै विश्वप्रसिद्ध फुटबल खेलाडीले भ्रमण गरिसकेका छन् । ब्राजिलियन महान खेलाडी पेले सन् १९७७ मा मोहन बागानसँगको प्रदर्शनी खेलका लागि कोलकाता आएका थिए । अर्जेन्टिनाका डिएगो म्याराडोना सन् २००८ मा भारत आएका थिए । ब्राजिलियन स्टार रोनाल्डिन्होले सन् २०२३ मा कोलकाता र सन् २०२५ मा चेन्नईमा खेल खेलेका थिए । साथै, अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज सन् २०२३ मा कोलकाता आएका थिए ।
फुटबल इतिहासकै महान खेलाडीमध्ये एक मानिने मेसीले १३ वर्षको उमेरमा बार्सिलोना क्लबबाट व्यावसायिक यात्रा सुरु गरेका थिए । बार्सिलोनाका लागि उनले ७७८ खेलमा ६७२ गोल र ३०३ असिस्ट गरेका छन् । उनले क्लबका लागि १० ला लिगा, चार च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका छन् ।
बार्सिलोनापछि मेसी पेरिस सेन्ट जर्मेन (पीएसजी) र त्यसपछि इन्टर मियामी पुगेका हुन् । इन्टर मियामीबाट उनले डिसेम्बर ७ मा भ्यान्कुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै आफ्नो पहिलो मेजर लिग सकर (एमएलएस) उपाधि जितेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा मेसीले अर्जेन्टिनाका लागि १९६ खेलमा ११५ गोल गर्दै विश्वकपसहित थुप्रै उपलब्धि हासिल गरेका छन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया