पुसमा वाणिज्य बैंकहरूको मुद्दति निक्षेपको ब्याजदर घट्यो, औषत ४.८३ प्रतिशतमा सीमित
- BFIS News
- 2025 Dec 15 11:45
काठमाडौं। वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर थप घटाएका छन्। २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको हो।
सार्वजनिक बैंक सूचनाअनुसार पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपतर्फ वाणिज्य बैंकहरूको अधिकतम औषत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ। अघिल्लो महिना मंसिरमा यस्तो निक्षेपको अधिकतम औषत ब्याजदर ५.०४०५ प्रतिशत थियो। यस अवधिमा औषत ब्याजदर ०.२०६५ प्रतिशतविन्दुले घटेको देखिन्छ।
१३ बैंकले घटाए ब्याजदर
मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका हुन्। त्यसैगरी प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर ०.३८ प्रतिशतविन्दुले घटेको छ।
यता, ७ वाणिज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अघिल्लो महिनाकै दर कायम राखेका हुन्।
यी बैंकबाट पाइन्छ सबैभन्दा बढी ब्याज
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले दिने भएका छन्। यी दुवै बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछन्। सबैभन्दा कम ब्याजदर भने प्राइम कमर्सियल बैंकको रहेको छ, जसले पुस महिनामा अधिकतम ४.२५ प्रतिशत ब्याज दिने जनाएको छ।
संस्थागत मुद्दतिको ब्याजदर पनि घट्यो
व्यक्तिगत मुद्दति निक्षेपसँगै वाणिज्य बैंकहरूको संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटेको छ। मंसिर महिनाको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको हो। पुस महिनाका लागि ५ वाणिज्य बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया