NIMB Header 2
Nepal Life

निर्जीवन बीमा कम्पनीमा एक्चुरियल मूल्याङ्कन सकस: लाभांश र साधारणसभामा ढिलाइ, जीवन बीमा सम्हालिदै

National Life
  • BFIS News
  • 2025 Dec 17 12:57
निर्जीवन बीमा कम्पनीमा एक्चुरियल मूल्याङ्कन सकस: लाभांश र साधारणसभामा ढिलाइ, जीवन बीमा सम्हालिदै
Sanima Reliance

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरूका लागि एक्चुरियल मूल्याङ्कन चुनौतीपूर्ण बन्दै गएको छ। बीमा कम्पनीहरूमा एनएफआरएस (NFRS) प्रणाली कार्यान्वयनमा आएसँगै बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई पनि अनिवार्य रूपमा एक्चुरियल मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरेपछि अधिकांश कम्पनीको लेखापरीक्षण प्रक्रिया ढिलाइ भइरहेको छ। यसको प्रत्यक्ष असर लाभांश घोषणा र साधारणसभा आयोजना प्रक्रियामा देखिएको छ।

Shikhar
NIMB

अहिलेसम्म निर्जीवन बीमा तर्फ केवल तीन वटा कम्पनी शिखर इन्स्योरेन्स, आइजिआइ र सिद्धार्थ प्रिमियरले मात्र लाभांश घोषणा गरेका छन्। जबकि जीवन बीमा तर्फ नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ र सानिमा रिलायन्स गरी चार वटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन्। यो तथ्यले निर्जीवन बीमा कम्पनीहरू एक्चुरियल मूल्याङ्कन र नियामक प्रक्रियामा जीवन बीमा कम्पनीभन्दा पछाडि परेको स्पष्ट देखाउँछ।

विगतमा जीवन बीमा कम्पनीहरूमा पनि एक्चुरियल मूल्याङ्कन कठिन विषय मानिन्थ्यो। आर्थिक वर्ष सकिएको ९ महिनासम्म पनि साधारणसभा गर्न नसक्ने अवस्था सामान्य थियो। तर पछिल्ला वर्षहरूमा जीवन बीमा कम्पनीहरूले अनुभवका आधारमा एक्चुरियल मूल्याङ्कन अघि नै आन्तरिक रूपमा आवश्यक तयारीको अभ्यास थालेका छन्। पर्याप्त र व्यवस्थित तथ्याङ्क पाएपछि विदेशी एक्चुरीहरूले पनि छिटो रिपोर्ट उपलब्ध गराउन थालेका छन्। यही अनुभव र तयारीले जीवन बीमा कम्पनीहरूलाई अहिले प्रक्रियामा सहजता दिएको देखिन्छ।

तर निर्जीवन बीमा कम्पनीहरूका लागि भने एक्चुरियल मूल्याङ्कन नयाँ अभ्यास भएकाले मेसो मिलाउन कठिन भइरहेको छ। एक प्रमुख कार्यकारी अधिकृतका अनुसार आवश्यक तयारी, तथ्याङ्क संकलन र प्रक्रियागत समन्वय पूरा हुन नसक्दा समयमै एक्चुरियल मूल्याङ्कन हुन नसकेको हो। उनका अनुसार मूल्याङ्कन सम्पन्न भइसकेपछि पनि बीमा प्राधिकरणमै प्रक्रिया अड्किने गरेको छ। प्राधिकरणका एक्चुरीले समेत थप समय लगाउँदा समग्र प्रक्रिया झनै ढिलाइ भएको उनले बताए।

कम्पनी ऐन २०६३ र बीमा ऐन २०७९ अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखापरीक्षण सम्पन्न गरी साधारणसभा गर्नुपर्ने व्यवस्था छ। यही कानुनी बाध्यताका कारण यस वर्ष अधिकांश बीमा कम्पनीले ६ महिनाभित्रै साधारणसभा गर्नु पर्ने दबाबमा छन्। तर एक्चुरियल मूल्याङ्कनमै ढिलाइ भइरहेकाले निर्जीवन बीमा कम्पनीहरूका लागि यो समयसीमा चुनौतीपूर्ण बन्ने देखिएको छ।

लाभांशको दृष्टिले पनि यस वर्ष निर्जीवन बीमा कम्पनीहरूको अवस्था उत्साहजनक देखिँदैन। जेनजी आन्दोलन तथा बाढी–पहिरोका कारण ठूलो मात्रामा दाबी भुक्तानी गर्नुपरेको छ। त्यसमाथि हुलदंगा तथा आतंकवाद अन्तर्गतका दाबीमध्ये ३५ प्रतिशत रकम निर्जीवन बीमा कम्पनीहरू आफैंले व्यहोर्नुपर्ने व्यवस्थाले कम्पनीको नाफामा थप दबाब सिर्जना गरेको छ। यसले लाभांश वितरण गर्ने क्षमता उल्लेखनीय रूपमा घटाएको एक प्रमुख कार्यकारी अधिकृतको विश्लेषण छ।

कतिपय कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट सीमित मात्रामा लाभांश दिन सक्ने भए पनि चालु आर्थिक वर्षको नाफाबाट भने धेरै कम्पनीले लाभांश दिन नसक्ने सम्भावना प्रबल देखिएको छ। यसले निर्जीवन बीमा क्षेत्र नियामक व्यवस्था, जोखिम व्यवस्थापन र नाफा क्षमताको सन्तुलनमा गम्भीर पुनरावलोकन आवश्यक रहेको संकेत गर्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया