जेन–जी आन्दोलनको क्षतिमा ५ अर्ब १८ करोड बीमा भुक्तानी, कुल दाबी २३ अर्ब नाघ्यो
- BFIS News
- 2025 Dec 17 16:34
काठमाडौं । हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा परेका बीमा दाबीमध्ये हालसम्म करिब रू. ५ अर्ब १८ करोड बराबरको दाबी रकम भुक्तानी भएको छ। अग्रिम भुक्तानीसमेत गरी कुल ३ हजार ३०३ वटा बीमा दाबी परेका छन्, जसको कूल दाबी रकम करिब रू. २३ अर्ब ४५ करोड रहेको अद्यावधिक तथ्याङ्कले देखाएको छ।
बीमा प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त विवरणअनुसार, हालसम्म भुक्तानी भएको कूल दाबी रकममध्ये सबैभन्दा बढी सम्पत्ति बीमातर्फ देखिएको छ। सम्पत्ति बीमाअन्तर्गत ७१० वटा बीमा दाबीबाट करिब रू. १९ अर्ब २ करोड दाबी रकम रहेकोमा करिब रू. ३ अर्ब ८२ करोड भुक्तानी भइसकेको छ।
यसैगरी, मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबी परेका छन्। यस शीर्षकमा करिब रू. ३ अर्ब ४७ करोड दाबी रकममध्ये हालसम्म करिब रू. १ अर्ब २२ करोड भुक्तानी गरिएको छ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीबाट करिब रू. ५५ करोड ४७ लाख दाबी रकम रहेकोमा करिब रू. ७ करोड ५० लाख भुक्तानी भएको छ। परिवहन बीमातर्फ १२ वटा बीमा दाबीबाट करिब रू. १ करोड ६९ लाख दाबी रकम रहेकोमा करिब रू. १ करोड ५५ लाख भुक्तानी गरिएको छ। त्यसैगरी, अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिब रू. ५ करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको छ।
पुनर्बीमा दाबीमा ३ अर्ब २ करोड भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका क्षतिका बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसमेत गरी करिब रू. ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबी परेका छन्। यी दाबीहरूको कूल दाबी रकम करिब रू. १६ अर्ब ६२ करोड रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया