NIMB Header 2
Nepal Life

धितोपत्र बोर्डका अध्यक्षको प्रतिशोध साँध्ने खेलः आफूमाथि प्रश्न गर्ने लगानीकर्तालाई सीआईबी लगाएर पक्राउ गर्न थाले

National Life
  • BFIS News
  • 2025 Dec 21 12:43
धितोपत्र बोर्डका अध्यक्षको प्रतिशोध साँध्ने खेलः आफूमाथि प्रश्न गर्ने लगानीकर्तालाई सीआईबी लगाएर पक्राउ गर्न थाले
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ आफूमाथिको भ्रष्टाचार र घूस खाएको आरोप लगाउनेहरुमाथि प्रतिशोध साँध्न उद्यत देखिएका छन् । जस–जसले श्रेष्ठमाथि भ्रष्टाचारको खुलेआम आरोप लगाए, विभिन्न निकायमा उजुरीहरु दिए, तिनीहरुलाई तह लगाउन भन्दै उनले पुराना फाइलहरु खोली प्रतिशोध साँध्ने काम गर्न थालेका हुन् ।

Shikhar
NIMB

पछिल्लो उदाहरणको रुपमा दीपेन्द्र अग्रवाललाई लिन सकिन्छ । अग्रवालले पछिल्लो समय सेबोन अध्यक्ष श्रेष्ठले आईपीओ निश्कासनको नाममा धितोपत्र बोर्डमा मलजल गरेको भ्रष्टाचारको खुलेआम विरोध गर्ने गरेका थिए । बजार सुधारका लागि भन्दै अग्रवालकै सक्रियतामा जेनजी लगानीकर्ताहरुको फोरम समेत गठन भएको थियो । पछिल्लो समय जेनजी लगानीकर्ताहरुबाट श्रेष्ठ भागी–भागी हिँड्न बाध्य भएका थिए । लगातार १५ दिनसम्म फलो गर्दा समेत जेनजी लगानीकर्ताहरुसँग भेट्न, छलफल गर्न र उनीहरुको माग सुन्न श्रेष्ठ तयार देखिएका छैनन् ।

जेनजी लगानीकर्ताहरुले आईपीओ निश्कासनको नाममा विभिन्न कम्पनीबाट करोडौं भ्रष्टाचारमा संलग्न श्रेष्ठमाथि छानबिन हुनुपर्ने र उनी दोषी देखिए बर्खास्त गर्नुपर्ने माग उठाएका छन् । पछिल्लो समयको विवादास्पद रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा श्रेष्ठले साढे ९ करोड रुपैयाँ घूस बुझेका भनेर विभिन्न समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थमन्त्रालयसम्म उजुरीहरु हालेका छन् । तिनै उजुरीहरुलाई समेत आधार बनाएर जेनजी लगानीकर्ताले छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

रिलायन्सको आईपीओको विषयमा उठेका प्रश्नहरु छल्दै हिँडेका श्रेष्ठ आफूलाई कसैले केही गर्न नसक्ने र आफूविरुद्ध लाग्नेहरुलाई देखाइदिने भन्दै प्रतिशोध साँध्ने काममा संलग्न देखिएका छन् । उनले रिलायन्सको आईपीओलाई मुद्दा जिताउने भूमिका मात्रै खेलेका थिएनन्, तीव्र गतिमा आईपीओ निश्कासन प्रक्रिया सुरु गराएर राम्रै मिलेमतोको उदाहरण समेत प्रस्तुत गरेका थिए ।

तर चौतर्फी विरोधपछि अर्थ मन्त्रालयले रिलायन्सको आईपीओको विषयमा छानबिन गर्न लिखित निर्देशन दिएको थियो । सो निर्देशनपछि शुक्रबार बिहान अध्यक्ष श्रेष्ठले बोर्ड बैठक बसाएर तीन सदस्यीय छानबिन समिति गठन गर्नुपर्ने बाध्यता आइलागेको थियो ।

अर्थमन्त्रालयदेखि अख्तियारसम्म उजुरी दिने, छानबिन समिति गठन गर्न बाध्य पार्ने काममा मुख्य भूमिका खेलेका दीपेन्द्र अग्रवालविरुद्ध त्यसपछि उनले जवाफी फायर खोलेका पाइएको छ । उनले अग्रवालले आफूलाई भ्रष्टाचारी भनेको भन्दै पुरानो इन्साइडर ट्रेडिङको फाइल प्रहरीमा पठाइदिए र त्यसकै आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले शुक्रबार दीपेन्द्र अग्रवाललाई चुनदेवीबाट पक्राउ गर्यो ।

चौतर्फी विरोध

नेपालको सेयर बजारमा भित्री कारोबार गर्ने, निर्देशित कारोबार गर्ने धन्दा लामो समयदेखि फस्टाएको छ । विभिन्न कम्पनीको सेयरमा भित्री कारोबार गर्ने, सर्वसाधारणमा गलत सूचना दिएर आफूले चाहिँ फाइदा लुट्ने विभिन्न व्यक्ति तथा समूह सक्रिय छन् । दर्जनौ कम्पनीको सेयरमूल्य वित्तीय विवरण कमजोर हुँदाहुँदै पनि पम्प एण्ड डम्पको खेल खेली बढाइएको छ । यसको अर्थ यस्ता धन्दामा अग्रवाल मात्र होइन सयौं संलग्न छन् ।

यस्ता खेलमा संलग्न सेयरका अन्य खेलाडीहरुको विषयमा समेत बेला–बेला धितोपत्र बोर्डले छानबिन गर्ने गर्छ । यस्ता दर्जनौ फाइल बोर्डमा थन्किएर बसेका छन् । तर, दीपेन्द्र अग्रवालको फाइल मात्र त्यो थाकको बीचबाट झिकेर प्रहरीलाई पठाइनुले सन्तोषनारायण श्रेष्ठ कुन हदसम्म पूर्वाग्रह राखेर काम गर्छन् भन्ने देखिन्छ ।

श्रेष्ठ आफैं पनि नियुक्ति भएदेखि नै आईपीओ ल्याउन लागेका कम्पनीबाट घूस मागेको, कमिसनका लागि मान्छे खटाएको, विभिन्न कम्पनीका प्रमोटरबाट मोटो रकम घूसको रुपमा बुझेको जस्ता दर्जनौं आरोप खेपिरहेका छन् । आफैं घूसखोर अध्यक्षको परिचय बनाएका श्रेष्ठले पूर्वाग्रह साँध्नैका लागि अग्रवालको फाइलमात्र अगाडि बढाएपछि सेयर बजारकै भेटेरान लगानीकर्ताहरुले समेत तीव्र विरोध गरिरहेका छन् ।

अग्रवाल पक्राउ परेलगत्तै सेयर बजारमा काका उपनामले चर्चित लगानीकर्ता केशव कोइरालाले घटनाको विरोध गरेका छन् । ‘के अस्वभाविक मूल्य बढेको कर्पोरेट डेभलपमेन्ट बैंकको दीपेन्द्र अग्रवालले मात्र हो ? अरु कम्पनी छैनन् ?’ प्रश्न गर्दै काकाले लेखेका छन्–‘अनुसन्धान र अभियोग लगाए सबैलाई लगाउनुपर्छ । एउटा दीपेन्द्र अग्रवाललाई मात्र चाहिँ बलीको बोका बनाउन पाइदैन ।’

बजारकै अर्का चर्चित लगानीकर्ता अजय चपाईंले पनि धितोपत्र बोर्डको अग्रवाललाई खोरमा जाक्ने कामको विरोध गरेका छन् । ‘दीपेन्द्र अग्रवाललाई जुन केसमा पक्राउ गरिएको छ, त्यो केसमा पक्राउ गर्दै जाने हो भने बाँकी बजारको कुन अपरेटर रहला र ?’ उनले प्रश्न उठाउँदै लेखेका छन् –‘दोश्रो बजार नै बन्द गरिदिए भइहाल्छ नि ।’

उनले आफ्नो स्टाटसमा पछिल्लो समय कुन–कुन कम्पनीको सेयरमा कस–कसको नेतृत्वमा मूल्य बढाउने खेल खेलिएको थियो त्यो फेहरिस्त राख्दै ती व्यक्तिहरुको विषयमा अनुसन्धान गर्न र पक्राउ गर्न चुनौति समेत दिएका छन् ।

सेबोन अध्यक्षको खरो विरोधी थिए अग्रवाल

दीपेन्द्र अग्रवालले पछिल्लो समय आफ्नो फेसबुक पेजबाट धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको खरो विरोध गर्दै आएका थिए । उनको पेजबाट पछिल्लो पोस्ट जेनजी लगानीकर्ताहरुको बिहीबारको प्रदर्शन, अर्थमन्त्रालयबाट रिलायन्सको आईपीओको विषयमा छानबिन गर्न लेखिएको पत्र लगायत भएका देखिन्छ ।

उनले पछिल्लो समय लगातार सन्तोषनारायणलाई ‘भ्रष्टनारायण श्रेष्ठ’ भन्दै विरोध गर्ने गरेका थिए । सन्तोषनारायणले पछिल्लो समय आफ्नो लगानी, आफन्त तथा साथीभाईको लगानी रहेका कमजोर कम्पनीहरुलाई समेत आईपीओ निश्कासन गर्न दिएको विषयमा समेत उनले प्रश्न उठाउने गरेका थिए ।

यसबाट समेत के प्रष्टिन्छ भने श्रेष्ठको भ्रष्ट प्रवृतिको धुरन्धर विरोधी थिए अग्रवाल । पछिल्लो समय रिलायन्सको आईपीओको केशमा त अग्रवालले जेनजीहरुलाई परिचालन गरेर सन्तोषनारायणलाई कार्यालयबाटै भाग्ने अवस्था बनाइदिएका थिए । यी सबैको रीस साँध्नका लागि अग्रवाललाई श्रेष्ठले नै प्रतिशोध साँध्दै सुनियोजित ढंगले पक्राउ गराएको प्रष्ट देखिन्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार