NIMB Header 2
Nepal Life

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा पहिलो दिनमै ५.८३ गुणा बढि आवेदन, एक लाखको निवेदन

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 22 20:43
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा पहिलो दिनमै ५.८३ गुणा बढि आवेदन, एक लाखको निवेदन
National Life

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा पहिलो दिनमै उल्लेख्य आवेदन परेको छ। बुक बिल्डिङ विधिबाट निष्कासन गरिएको आईपीओ खुल्ने पहिलो दिन सोमबार १ लाख ९ सय १७ जनाले आवेदन दिएका छन्।

Shikhar
NIMB

पहिलो दिनमा मात्रै १ लाख ९१७ निवेदनबाट ५३ लाख ९८ हजार १ सय कित्ता सेयरको माग परेको छ, जुन कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ९ लाख २४ हजार ७ सय ६८ कित्ताको तुलनामा ५.८३ गुणा बढी हो।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरले न्यूनतम ५० कित्ता आवेदन गर्न सक्ने व्यवस्था गरेको छ। पहिलो दिनमै ४ अर्ब ४३ करोड ७ लाख ६० हजार ४ सय ८० रुपैयाँ बराबरको आवेदन संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ। यो आईपीओ आगामी बिहीबारसम्म खुला रहनेछ।

लगानीकर्ता संघ–संस्थाहरूको विरोधका बाबजुद रिलायन्स स्पिनिङ मिल्सले पुस ७, २०८२ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो। छिटो बन्द हुने मिति पुस ११, २०८२ तोकिएको छ भने सो अवधिमा माग पूरा नभए पुस २१, २०८२ सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन तथा बाँडफाँट भइसकेको छ। बाँकी १० लाख ४० हजार ३६४ कित्तामध्ये ५७ हजार ७९८ कित्ता म्युचुअल फन्डका लागि र ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध गराइएको हो। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

योग्य संस्थागत लगानीकर्ताका लागि निर्धारण गरिएको ‘कट–अफ प्राइस’ ९१२ रुपैयाँ रहेको थियो। नियमानुसार सर्वसाधारणलाई १० प्रतिशत कम मूल्यमा सेयर उपलब्ध गराइएकाले सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको हो।

सर्बोत्तम सिमेन्ट लिमिटेडपछि नेपालमा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने रिलायन्स स्पिनिङ मिल्स दोस्रो कम्पनी हो। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले कम्पनीलाई ‘क्रेडिट वाच विथ डेभलपिङ इम्प्लिकेसन’ सूचीमै राख्दै CARE-NP A- (Is) इस्युअर रेटिङ यथावत् कायम गरेको छ, जसले पर्याप्त सुरक्षा र कम क्रेडिट जोखिम संकेत गर्छ।

२०५१ सालमा दर्ता भएको रिलायन्स स्पिनिङ मिल्स मुलुककै सबैभन्दा ठूलो स्पिनिङ मिल मानिन्छ। ४,३०० भन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पोलिएस्टर, भिस्कोस र एक्रेलिक धागो उत्पादन गर्दै आएको छ। यसको मुख्य निर्यात बजार भारत र टर्की रहेका छन्। सुनसरी जिल्लाको खनार र दुहबीमा कम्पनीका दुई उत्पादन इकाइ रहेका छन् भने सन् २०२१ को मध्य जुलाईसम्म वार्षिक जडित उत्पादन क्षमता ४०,६८० मेट्रिक टन रहेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया