NIMB Header 2
Nepal Life

कम ब्याजदरको फाइदा उठाउँदै जीवन बीमा कम्पनीहरू, मंसिरसम्म प्रथम बीमा शुल्क १८ अर्ब ८१ करोड

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 30 16:07
कम ब्याजदरको फाइदा उठाउँदै जीवन बीमा कम्पनीहरू, मंसिरसम्म प्रथम बीमा शुल्क १८ अर्ब ८१ करोड
National Life

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्तालाई अत्यन्तै कम ब्याजदर दिन थालेपछि त्यसको प्रत्यक्ष फाइदा जीवन बीमा कम्पनीहरूले उठाएका छन्। बैंकहरूले मुद्दती निक्षेपमा समेत करिब ३ प्रतिशत ब्याज दिन थालेपछि धेरै निक्षेपकर्ताले आफ्नो बचतलाई बैंकिङ प्रणालीबाट बीमातर्फ रूपान्तरण गर्न थालेका छन्।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरूले कुल १८ अर्ब ८१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्। यसमध्ये एकल बीमा शुल्कबाट मात्र २ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको छ। कुल प्रथम बीमा शुल्कमा एकल बीमा शुल्कको हिस्सा १५.७० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ।

बैंकहरूले विगत दुई वर्षयता निक्षेपकर्तालाई कम ब्याजदर दिँदै आएको भन्दै आलोचना भइरहेका बेला निक्षेपकर्ताको आकर्षण वैकल्पिक वित्तीय साधनतर्फ बढ्दै गएको देखिन्छ। यही प्रवृत्ति निरन्तर रहेमा आगामी दिनमा बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने जोखिम बढ्ने विश्लेषकहरू बताउँछन्। तरलता अभावको समयमा १२ देखि १५ प्रतिशतसम्म ब्याजदर दिने बैंकहरू अहिले सबैभन्दा कम ब्याजदर दिने प्रतिस्पर्धामा उत्रिएका छन्। कतिपय बैंकहरूले त संस्थागत निक्षेप लिनसमेत अस्वीकार गर्न थालेका छन्। कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा निक्षेपको ब्याज खर्च बढिरहेको र त्यसकै कारण निक्षेपकर्तालाई आकर्षक ब्याज दिन नसकिएको बैंकहरूको भनाइ छ।

यही परिवेशमा जीवन बीमा कम्पनीहरूले भने निश्चित अवधिपछि रकम दोब्बर हुनेजस्ता आकर्षक योजना अघि सार्दै बीमा पोलिसी बिक्री बढाइरहेका छन्। केही कम्पनीहरूले एकल बीमा शुल्कलाई प्राथमिकतामा राखेर व्यवसाय विस्तार गरिरहेका छन्।

नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै १४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले १२ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने वृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएका छन्।

तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय ३०.९ प्रतिशतले वृद्धि गर्दै चार अर्ब ३६ करोड ४८ लाख रुपैयाँ पुर्‍याएको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १५.९९ प्रतिशतले वृद्धि गर्दै एक अर्ब ७९ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ भने एलआइसी नेपालले ६.५५ प्रतिशतले वृद्धि गर्दै एक अर्ब ७१ करोड १० लाख रुपैयाँ पुर्‍याएको छ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको बीमा शुल्क ६.२२ प्रतिशतले वृद्धि भई एक अर्ब २८ करोड ३६ लाख रुपैयाँ पुगेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले १२.४९ प्रतिशतको वृद्धि गर्दै ८३ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। एशियन लाइफ इन्स्योरेन्सको २२.६६ प्रतिशतले वृद्धि भई ७५ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सले २३.३३ प्रतिशतले बढेर ५६ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ।

यसैगरी, मेट नेपालले १८.९८ प्रतिशतको वृद्धि गर्दै ५४ करोड ३५ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ११.५० प्रतिशतले वृद्धि गर्दै ५३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

वृद्धिदरका आधारमा हेर्दा मंसिर महिनामा आइएमई लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन सबैभन्दा बढी ४३.०८ प्रतिशतले वृद्धि भई ५१ करोड ३९ लाख रुपैयाँ पुगेको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३३.१९ प्रतिशतले वृद्धि भई ४८ करोड ३१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३२.७२ प्रतिशतले वृद्धि भई ४१ करोड ७४ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको १८.७७ प्रतिशतले वृद्धि भई ३४ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया