NIMB Header 2
Nepal Life

नेशनल लघुवित्तद्धारा एमबीबीएस पढ्न छात्रबृत्तीमा नाम निकाल्न सफल साफीलाई तीन लाख आर्थिक सहयोग

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 31 21:27
नेशनल लघुवित्तद्धारा एमबीबीएस पढ्न छात्रबृत्तीमा नाम निकाल्न सफल साफीलाई तीन लाख आर्थिक सहयोग
National Life

काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्थाले सिरहाका दलित समुदायका युवा सत्यनारायण साफीलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका साफीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले चेक हस्तान्तरण गरेका हुन्।

Shikhar
NIMB

सिरहाको बरियारपट्टी गाउँपालिका–२ स्थित श्रीपुर गाउँका सत्यनारायण साफी अभाव, संघर्ष र निरन्तर मेहनतका बाबजुद सफलता हासिल गर्ने उदाहरणका रूपमा उदाएका छन्। फुसको झुप्रोमा बसोबास गर्ने उनको घरमा यतिबेला बधाई दिन आउने आफन्त र छिमेकीको भीड लागेको छ। चिकित्सा शिक्षा आयोगले गत १५ कात्तिकमा लिएको एमबीबीएस प्रवेश परीक्षामा उनले पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि गाउँभरि खुसी छाएको हो।

साफी परिवारसँग सम्पत्तिका नाममा साढे चार धुर घडेरी मात्र छ। उनका बुबा मधुरी साफी तीन वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै मजदुरी गर्दै आएका छन्। परिवारमा श्रीमती, तीन छोरी र दुई छोरा छन्। जेठा छोरा सत्यनारायणले २०७७ सालमा जनता माध्यमिक (प्राविधिक) विद्यालय, बरियारपट्टीबाट एसईई उत्तीर्ण गरेका थिए।

एसईईमा राम्रो अंक आएपछि उनले २०७९ मा विराटनगरको अरनिको स्कुलबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। त्यसपछि एमबीबीएस पढ्ने लक्ष्यसहित २०८० मा तयारीका लागि काठमाडौं पुगे पनि आर्थिक समस्याका कारण दुई महिनामै गाउँ फर्किनुपर्‍यो। त्यसपछि उनी आमाबुबासँगै निर्माण क्षेत्रमा मजदुरी गर्न थाले।

दुई वर्षसम्म मजदुरी गर्दै उनले पढाइलाई निरन्तरता दिए। “बिहान ८ बजे काममा जान्थेँ, ५ बजे फर्किन्थेँ। साँझ ६ बजेदेखि राति १२–१ बजेसम्म पढ्थेँ,” साफी भन्छन्, “काम गरे पनि मेरो प्राथमिकता पढाइ नै थियो, किनकि पढ्नकै लागि काम गरिरहेको थिएँ।”

मजदुरीबाट आएको पैसाले किताब किने र स्वाध्ययन गर्दै उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा सफलता हात पारे। यो उनले दोस्रो पटक दिएको परीक्षा हो। पहिलो पटक २०८१ मा दिएको परीक्षाको नतिजा प्राविधिक कारणले नआएको उनी बताउँछन्। “गरिबी भए पनि लगनशीलता, धैर्य र समर्पणले जुनसुकै लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास बढेको छ,” उनले बताएका छन्। 

आमा सुनिताले छिमेकीसँग ८० हजार रुपैयाँ सापटी लिएर सहयोग गरेपछि सत्यनारायण यही ८ पुसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना भएका छन्। कलेज भर्ना शुल्कमा साढे ६४ हजार रुपैयाँ खर्च भएको छ। पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाएकामा परिवार खुसी भए पनि बसोबास, खानपान, यातायात र अध्ययन सामग्रीका लागि ठूलो खर्च लाग्ने चिन्ता यथावत् छ। पढाइ पूरा गर्न कम्तीमा १५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

यही अवस्थामा नेशनल लघुवित्त वित्तीय संस्थाले प्रदान गरेको तीन लाख रुपैयाँको सहयोगले सत्यनारायणको अध्ययन यात्रामा थप हौसला र राहत मिलेको परिवारले जनाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया