केमेष्ट्रिमा स्नातकोत्तर गरेका सन्तोष शर्मा बीमा अभिकर्तामा जम्दै, नेपाल लाइफबाट सिओटी बन्न सफल
- आयुश बस्नेत
- 2026 Jan 03 06:03
काठमाडौं। केमेष्ट्रिमा स्नातकोत्तर गरेका सन्तोष शर्माले आज बीमा क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका छन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्दै COT (Court of the Table) बन्न सफल शर्मा पछिल्लो समय बीमा क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
विगत १५ वर्षदेखि नेपाल लाइफमा निरन्तर सक्रिय शर्मा हाल सुर्खेत शाखाबाट कार्यरत छन्। यसअघि पनि उनी नेपाल लाइफका राष्ट्रियस्तरका विभिन्न सम्मेलनमा क्वालिफाइ हुँदै आएका थिए। तर यस वर्ष भने सुरुवातिदिनदेखि नै MDRT र COT को लक्ष्य लिएर पूर्ण रूपमा केन्द्रित भई लागिपरेको उनी बताउँछन्, जसको परिणामस्वरूप उनले यो महत्वपूर्ण उपलब्धि हासिल गरे।
बिरेन्द्रनगर–३, तातोपानी, सुर्खेत निवासी शर्माले त्रिभुवन विश्वविद्यालयबाट केमेष्ट्रिमा मास्टर डिग्री गरेका छन्। अध्ययनप्रति रुचि राख्ने उनले एलएलबी तथा एक वर्ष बिएड अध्ययनसमेत पूरा गरेका छन्। शिक्षासँगै उनी विभिन्न शैक्षिक तथा व्यावसायिक क्षेत्रमा पनि संलग्न छन्। शर्मा सुर्खेत होराइजन एकेडेमी, अल्फा मल्टिपल एकेडेमी, तथा हिमालयन कलेज अफ होटल म्यानेजमेन्टका सञ्चालक हुन्।

बीमा क्षेत्रमा प्रवेश गर्दा उनको सोच खासै सकारात्मक भने थिएन। एक जना नजिकका साथीले बारम्बार बीमा गर्न आग्रह गरेपछि मात्र उनी बीमामा जोडिएका थिए। सोही साथीमार्फत पहिलो बीमा गरेपछि उनलाई अभिकर्ता बनेर काम गर्न सुझाव दिए। साथिको सुझावलाई स्वीकार गर्दै उनले अभिकर्ताको लाइसेन्स लिए। यसरी सुरु भएको यात्राले आज १६ वर्षभन्दा बढी समय पार गरिसकेको छ।
शुरुवाती दिनको संघर्ष सम्झँदै शर्मा भन्छन्, “सुरुमा अवस्था निकै तनावपूर्ण थियो। धेरै फोर्स गर्नुपर्थ्यो, धेरै फलोअप गर्नुपर्थ्यो। १० जनालाई भनेपछि एकजना मात्रै तयार हुने अवस्था थियो। तर निरन्तर फलोअप गर्दै जाँदा विस्तारै सबै साथीहरू जोडिन थाले, त्यसपछि उत्साह र जोस बढ्यो, यसरी निरन्तर रूपमा काम गर्दै आएको छु।”

यसै वर्ष उनले MDRT सँगै COT उपलब्धि हासिल गरे। COT बन्ने क्रममा उनले करिब ७०–८० वटा बीमा पोलिसी जारी गर्दै ३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भए। एकल बीमा शुल्कदेखि सावधिक जीवन बीमासम्मका पोलिसी समेटिएको यस उपलब्धिबाट उनले COT मा गणना गर्न योग्य १ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
उनी पेसागत बीमा अभिकर्ता संघ बीमक समित नेपाल लाइफका केन्द्रीय सदस्यसमेत हुन्। कर्णालीलाई राष्ट्रिय स्तरमा चिनाउने दृढ संकल्प बोकेका शर्मा भन्छन्, “हामी हरेक क्षेत्रमा सक्षम छौँ भन्ने देखाउनुपर्ने थियो। कर्णालीलाई प्रतिनिधित्व हुने गरी अगाडि बढ्नुपर्छ भन्ने सोचकै कारण आज यो सफलता सम्भव भयो।”
उनको आगामी योजना अष्ट्रेलियामा आयोजना हुने MDRT सम्मेलनमा सहभागिता जनाउने छ। “म एप्लाई गर्छु, भिसा लाग्यो भने जाने हो,” उनी भन्छन्। साथै, आगामी वर्षका लागि उनले TOT (Top of the Table) बन्ने लक्ष्यसहित योजना अघि बढाइरहेका छन्।

बीमालाई उनले गाँस, वास, कपासजत्तिकै अनिवार्य सुरक्षाको पाटोका रूपमा लिन्छन्। “बीमाले मानिसको कन्फिडेन्स लेभल बढाउँछ, आफ्नो अनुपस्थितिमा पनि परिवारको समृद्धि कायम राख्छ। नेपालको सन्दर्भमा त बीमा अनिवार्य नै हुनुपर्छ,” उनको धारणा छ।
कर्णाली भेगमा बीमाप्रतिको दृष्टिकोण सामान्यतः सकारात्मक भए पनि कतिपय नयाँ अभिकर्ताले स्पष्ट जानकारी दिन नसक्दा बजारमा नकारात्मक प्रभाव परेको उनी बताउँछन्। त्यसका लागि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनको जोड छ। सही जानकारी दिएमा सबैलाई सकारात्मक बनाउन सकिने उनको विश्वास छ।
शर्माको बुझाइमा बीमा जीवनका उतारचढावमा परिवार र जीवनको सुरक्षा गर्ने सहयात्री हो—बचत र सुरक्षा दुवै। ग्राहक सेवामा उनी अत्यन्तै संवेदनशील छन्। नियमित सेवा प्रभावका लागि उनले ग्रुपहरू बनाएर ग्राहकलाई किस्ताको समय, नयाँ जानकारी तथा दाबी प्रक्रियामा सहयोग गर्दै आएका छन्। व्यक्तिगत भेटघाटमार्फत सम्बन्ध ताजा राख्नु उनको विशेषता हो।

सुर्खेत शाखा तथा कर्णाली प्रदेश प्रमुखको व्यवहार र मोटिभेसनल सोचबाट आफू अत्यन्तै खुसी रहेको उनी बताउँछन्। यस सफल यात्रामा साथ दिने कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, सुर्खेत शाखा प्रमुख विष्णु शर्मा, एजेन्सी साथी रूपक गौतम तथा आफ्नो परिवारप्रति उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।
केमेष्ट्रिमा स्नातकोत्तर गरेका शर्माले पढेलेखेका व्यक्तिहरु पनि बीमा क्षेत्रको उच्च शिखरमा पुग्न सक्छन् भनेर प्रमाणीत गरिदिएका छन्। उनको जीवन कर्णाली क्षेत्रको मात्र होइन, समग्र देशका लागि प्रेरणाको कथा बनेको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया