अर्थतन्त्रमा दबाबबीच पनि नेपाल लाइफको निरन्तर वृद्धि : सीईओ पराजुली
- BFIS News
- 2026 Jan 03 16:04
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले प्रतिकूल आर्थिक अवस्थाका बाबजुद कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्दै जीवन बीमा क्षेत्रमा अग्रणी स्थान कायम गर्न सफल भएको बताएका छन्।
कम्पनीको २६औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सीईओ पराजुलीले २४ वर्षको व्यावसायिक यात्रा सफलतापूर्वक सम्पन्न गरी २५ औँ वर्षमा क्रियाशील रहँदै आएको नेपाल लाइफको यात्रामा संचालक, शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी, नेपाल बीमा प्राधिकरण तथा सबै शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरे।
उनका अनुसार समीक्षा वर्ष (आ.व. २०८१/८२) मा विश्वव्यापी मुद्रास्फीति सामान्य भए पनि नेपालमा लक्ष्यभन्दा बढी रहँदा नागरिकको वित्तीय अवस्थामा दबाब परेको थियो। घरायसी क्रयशक्तिमा प्रभाव, स्वास्थ्य खर्च वृद्धि र वैदेशिक रोजगारीका कारण श्रम बजारमा असर देखिए पनि बैंकिङ प्रणालीको तरलता सुधार र रेमिट्यान्सले उपभोग्य वस्तु तथा सेवाको खरिदमा केही सहजता ल्याएको उनले बताए। नियामक निकायहरूले पारदर्शिता, उपभोक्ता हित संरक्षण, सम्पत्ति शुद्धीकरण निवारण र आर्थिक सबलीकरणमा जोड दिएको पनि उनले उल्लेख गरे।
यस्ता चुनौतीका बीच पनि कम्पनीले ऐतिहासिक उपलब्धि हासिल गरेको पराजुलीको भनाइ छ। समीक्षा वर्षमा नेपाल लाइफले रु. १०.९८ अर्बको प्रथम बीमाशुल्क संकलन गर्दै उल्लेखनीय प्रगति गरेको छ। जीवन बीमा उद्योगको प्रथम बीमाशुल्क वृद्धिदर २९.२५ प्रतिशत रहँदा कम्पनीको मात्र वृद्धिदर ३६.८९ प्रतिशत पुगेको उनले जानकारी दिए। कूल बीमाशुल्क संकलनमा उद्योगको वृद्धिदर १७.८४ प्रतिशत रहँदा कम्पनीले १८ प्रतिशत वृद्धिदरका साथ रु. ४८.२० अर्ब कूल बीमाशुल्क संकलन गरेको छ। यस आधारमा कम्पनीले २६.४४ प्रतिशत बजार हिस्सासहित जीवन बीमा क्षेत्रमा अग्रणी स्थान हासिल गरेको छ।
त्यसैगरी, जीवन बीमा कोषमा १९.३१ प्रतिशतको वृद्धिदरसहित रु. २.३२ खर्ब जम्मा भएको उनले बताए। आ.व. २०८०/८१ मा रु. २.०६ खर्ब रहेको कूल लगानी समीक्षा अवधिमा १६.१२ प्रतिशत बढेर रु. २.३९ खर्ब पुगेको छ।
दावी भुक्तानीतर्फ कम्पनीले समीक्षा अवधिमा सबै प्रकारका जीवन बीमा दावीअन्तर्गत रु. १९.१९ अर्ब भुक्तानी गरेको छ। कुल ९९.०१ प्रतिशत दावी फर्छ्योट भएको र तीमध्ये ९४ प्रतिशत दावी १५ दिनभित्रै फर्छ्योट गरिएको पराजुलीले जानकारी दिए।
कम्पनीको वित्तीय सबलता र जोखिम व्यवस्थापनलाई पुष्टि गर्दै ICRA Nepal बाट AA- क्रेडिट रेटिङ प्राप्त भएको पनि उनले बताए। शेयरधनीहरूको अपेक्षा अनुरूप पूँजी संरक्षण, व्यापार वृद्धि र जवाफदेही प्रतिफल हासिल भएको उल्लेख गर्दै उनले समीक्षा वर्षका लागि २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरिएको जानकारी दिए। प्रस्तावित लाभांशमा १६.०५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर समावेश छन्।
लगानी रणनीतिबारे बोल्दै सीईओ पराजुलीले जोखिम पहिचान गरी सबल वित्तीय अवस्था भएका क्षेत्रहरूमा लगानी विस्तार गरिएको बताए। सावधानीपूर्ण सम्पत्ति–दायित्व व्यवस्थापन र लगानी विविधीकरणमार्फत राम्रो प्रतिफल हासिल भएको उल्लेख गर्दै उनले बैंकको मुद्दती निक्षेपमा मुख्य लगानी रहेको जानकारी दिए। साथै, नियामक निर्देशिकाको सीमाभित्र रही प्राइभेट इक्वीटी/भेञ्चर क्यापिटल, जलविद्युत र शिक्षा क्षेत्रमा समेत लगानी विस्तार गरिएको बताए।
लगानी, सुशासन र प्रविधिमा प्राथमिकता
पराजुलीले कम्पनीको वर्तमान अवस्था, लगानी रणनीति, सुशासन, प्रविधि तथा भावी योजनाबारे विस्तृत जानकारी दिएका छन्।
सीईओ पराजुलीले मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याजदर घट्दो क्रममा रहेको र नयाँ लगानीमा समेत अपेक्षित प्रतिफल न्यून रहेको चुनौतीपूर्ण परिस्थितिमा कम्पनीले प्रतिफललाई सन्तुलित राख्न सचेततापूर्वक लगानी गरेको बताए। उनका अनुसार कम्पनीले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन र दिगो प्रतिफल सुनिश्चित गर्ने रणनीति अवलम्बन गरेको छ।
लगानी व्यवस्थापनका लागि रणनीतिक प्लेटफर्मको रूपमा सहायक कम्पनीहरू नेपाल लाइफ क्यापिटल लिमिटेड र नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई सक्रिय रूपमा उपयोग गरिएको उहाँले जानकारी दिए। हालै नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आवश्यकता अनुसार १:२ अनुपातमा हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्ने योजना अगाडि बढाएको पनि उनले उल्लेख गरे।
उनले गैर-परम्परागत लगानी क्षेत्रको खोज, मूल्याङ्कन र जोखिम व्यवस्थापनका लागि स्पष्ट संस्थागत सुशासनको ढाँचाभित्र रहेर ‘Alternate Investment Wing’ स्थापना गरिएको जानकारी दिए। कम्पनीले कार्यान्वयनको पहिलो वर्षमै जोखिममा आधारित पूँजी (Risk Based Capital) को रूपरेखालाई शतप्रतिशत अवलम्बन गरेको र दोस्रो वर्षमा समेत सोही अनुरुप अघि बढेको उनको भनाइ थियो। यसले पूँजी तथा सञ्चालन जोखिमको मूल्याङ्कन, निर्णय प्रक्रियामा सुधार, जोखिम सचेतना, विषम परिस्थितिमा पूँजी परिचालन, बीमितको संरक्षण र बजारमा विश्वास कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
नेपाल लाइफ इन्स्योरेन्सको भौतिक उपस्थिति मुलुकभर विस्तार भएको उल्लेख गर्दै सीईओ पराजुलीले हाल ७७ वटै जिल्लामा १ प्रधान कार्यालय, ८ प्रदेश/उप-प्रदेश कार्यालय र १८५ शाखा/उपशाखासहित कूल १९४ कार्यालयमार्फत सेवा प्रवाह भइरहेको जानकारी दिए। ग्राहकहरूले देशभर समान स्तरको सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सबै कार्यालयहरूमा समान ब्राण्डिङ लेआउट र सेवा प्रवाह पद्धतिमा एकरूपता ल्याइएको उनले स्पष्ट पारे।
त्यसैगरी कम्पनीले जग्गा तथा भवन क्षेत्रमा रणनीतिक लगानी गर्दै महत्वपूर्ण स्थान सुरक्षित गर्नुका साथै कार्यालय सञ्चालन लागत घटाउने र भाडा वा लिजमार्फत आम्दानी सिर्जना गर्ने लक्ष्य लिएको बताए।
मानव संशाधनतर्फ कम्पनीमा हाल ५७७ नियमित कर्मचारी, ११८ जना करार तथा आउटसोर्स जनशक्ति र ३१ हजार ७७३ सक्रिय अभिकर्ता रहेको जानकारी दिँदै उहाँले कुल व्यापारको ९५ प्रतिशतभन्दा बढी हिस्सा अभिकर्तामार्फत आउने बताउनुभयो। अभिकर्ताहरूलाई नियमित तालिममार्फत दक्ष जनशक्तिमा रूपान्तरण गर्दै जोखिम व्यवस्थापनको पहिलो पंक्तिमा राखिएको उनको भनाइ थियो।
संस्थागत सुशासन र आचरण कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै सीईओ पराजुलीले संचालक समिति तथा संचालक स्तरीय समितिहरूले व्यावसायिक रणनीति, लगानी र जोखिम व्यवस्थापनमा सक्रिय अनुगमन र मार्गनिर्देशन गरिरहेको बताए। साथै, कर्मचारी आचारसंहिता तथा AML/CFT उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिएको र उच्च जोखिम प्रोफाइलका व्यक्तिहरूको बीमा गर्दा विशेष सावधानी अपनाइने प्रणाली लागू गरिएको उनले जानकारी दिए।
मार्केट लिडरको हैसियतले प्रविधिलाई उच्च प्राथमिकता दिइएको बताउँदै उहाँले बीमा सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन प्रविधि संयन्त्र राष्ट्रव्यापी रूपमा विस्तार गरिएको उल्लेख गरे। समीक्षा वर्षमा डिजिटल रूपान्तरण इकाई स्थापना भई कोर-सिस्टम आधुनिकीकरण, डिजिटल प्लेटफर्म विकास, डेटा विश्लेषण, साइबर सुरक्षा तथा नियामक निर्देशन अनुरुप प्रविधि पूर्वाधार विकासमा सक्रिय रहेको उनले बताए। साथै कर्मचारीहरूलाई डिजिटल र एआई साक्षरताका लागि नियमित तालिम प्रदान गरिएको पनि उनले जानकारी दिए।
समावेशीकरण र दिगोपनालाई आत्मसात गर्दै शाखा तथा उपशाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बीमा सचेतना अभिवृद्धि गरिएको उल्लेख गर्दै उनले कम्पनीको पारदर्शिता र कानुनअनुसार प्रकाशित विवरणहरूले नियामक निकाय र शेयरधनीसँगको सम्बन्ध थप मजबुत बनाएको बताए।
सीईओ पराजुलीले नेपाल लाइफ इन्स्योरेन्सलाई नेपालको जीवन बीमा उद्योगको मार्केट लिडरको रूपमा स्थापित गर्न रणनीतिक मार्गनिर्देशन प्रदान गर्ने संचालक समिति, संचालक स्तरीय समितिहरू, साथै अहोरात्र खटिने सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया