आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८औँ वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश स्वीकृत
- BFIS News
- 2026 Jan 08 14:47
काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा २०८२ साल पौष २४ गते बिहीबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको छ।
सभामा उपस्थित सम्पूर्ण शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित जोखिमबाट उत्पन्न हुने आर्थिक संकट विरुद्ध सुरक्षा कवचको भूमिका निर्वाह गर्दै आएको बताए। उनले कुनै पनि राष्ट्रको अर्थतन्त्र, व्यवसायिक विस्तार र दिगोपनको मूल्यांकनमा बीमा बजारको विकास, पहुँच र विश्वसनीयतालाई प्रमुख सूचकका रूपमा लिइने उल्लेख गर्दै यही मान्यतालाई आत्मसाथ गरी कम्पनीले आफ्नो स्थापनाको २८ वर्ष सफलतापूर्वक पूरा गरेको जानकारी गराए। बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउँदै बीमितको हकहित संरक्षणप्रति कम्पनी सदैव प्रतिबद्ध रहेको उनले बताए।
सभाले समिक्षा वर्षका लागि शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। साथै, पानीपोखरीस्थित कम्पनीको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा दुई तल्ला पार्किङसहित ११ तले भवन निर्माण सम्पन्न भई ठेकेदारबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भएको जानकारी दिइयो। सो भवनमा २०८२ साल माघ महिनाभित्र नारायणचौर, नक्शालस्थित प्रधान कार्यालय सारिने र कम्पनीलाई आवश्यक पर्ने चार तल्लासम्म प्रयोग गरी बाँकी तल्ला भाडामा लगाई आम्दानी गरिने अध्यक्ष ढकालले बताए।
त्यसैगरी, चालु आर्थिक वर्षको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोड रुपैयाँ बराबरका दाबी परेको र असोज १८ गतेदेखि परेको अविरल वर्षा, बाढी तथा पहिरोबाट करिब ४ अर्ब रुपैयाँ बराबरको दाबी आएको जानकारी गराइयो। यद्यपि, सरकारले अघि बढाइरहेका नीतिगत पहल, आर्थिक सूचकांकमा देखिन थालेको क्रमिक सुधार तथा शेयर बजारका सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि सुदृढ हुँदै जाने र दीर्घकालमा व्यवसायिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास अध्यक्ष ढकालले व्यक्त गरे।
सूचना प्रविधिको तीव्र विकास र विश्व बजारको प्रतिस्पर्धात्मक परिवेशलाई ध्यानमा राख्दै कम्पनीले प्रविधिमैत्री, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न जोड दिँदै आएको र चालु आर्थिक वर्षमा अझ बढी डिजिटल, सरल तथा ग्राहक–मैत्री सेवा विस्तार गर्ने लक्ष्य रहेको पनि सभालाई जानकारी गराइयो।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले २८औँ वार्षिक साधारण सभामा शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीले देशका सातै प्रदेशमा फैलिएका ९० वटा शाखा सञ्जालमार्फत सेवा दिँदै आएको बताए। हाल ५३१ जना कर्मचारी, ४३० जना अभिकर्ता तथा १९२ जना सर्भेयरमार्फत ग्राहक सेवा प्रदान भइरहेको र २०८२ साल माघ महिनाको अन्त्यसम्ममा प्रधान कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू पानीपोखरीस्थित आफ्नै भवनबाट सञ्चालन हुने जानकारी उनले दिए।
_1767862942.jpeg)
निर्जीवन बीमा क्षेत्रमा कम्पनीको अग्रता कायम, प्रिमियम र दावी भुक्तानीमा उल्लेखनीय प्रगति
चुक्ता पूँजी रु. ३ अर्ब २ करोडसहित निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनीका रूपमा स्थापित कम्पनीले व्यावसायिक गतिविधिमा निरन्तर वृद्धि गर्दै आएको जनाएको छ। कम्पनीको २८औँ वार्षिक साधारण सभामा प्रस्तुत विवरणअनुसार समीक्षा आर्थिक वर्षमा बैंकिङ क्षेत्रमा तरलता र व्याजदर घट्दा पनि अपेक्षित ऋण लगानी बढ्न नसक्दा व्यवसाय विस्तारमा चुनौती देखिएको थियो। नेपाल सरकारको विकास खर्च न्यून रहँदा ठूला आयोजना प्रत्यक्ष प्रभावित भएको जानकारी सभालाई दिइयो।
गत आर्थिक वर्ष २०८०/०८१ मा निर्जीवन बीमा क्षेत्रको कुल बीमा प्रिमियम आर्जन रु. ४१ अर्ब १७ करोड रहेकोमा समीक्षा वर्षमा ६.७७ प्रतिशतले वृद्धि भई रु. ४३ अर्ब ९५ करोड पुगेको छ। सोही अवधिमा कम्पनीले गत वर्ष आर्जन गरेको रु. ३ अर्ब ६३ करोड ६१ लाख बीमा प्रिमियमलाई ६.३२ प्रतिशतले वृद्धि गरी समीक्षा वर्षमा रु. ३ अर्ब ८६ करोड ५९ लाख संकलन गर्न सफल भएको जनाएको छ।
समीक्षा वर्षमा कम्पनीले १८ हजार ५ सय दावीका लागि रु. २ अर्ब ४६ करोड ३३ लाख बराबरको दावी भुक्तानी गरेको छ। साथै, नेपाल सरकारलाई विभिन्न कर शीर्षकमा रु. ७९ करोड ८७ लाख भुक्तानी गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको पनि सभामा जानकारी गराइयो।
कम्पनीले नेपाली नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिँदै नयाँ स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याएको छ। यस योजनामार्फत व्यक्ति तथा परिवारको स्वास्थ्य बीमामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य लिइएको छ। हाल देशभरका अधिकांश अस्पतालहरू नेटवर्कमा आबद्ध भई नगद रहित सेवा प्रदान गरिरहेका छन् भने भारतमा समेत सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, कम्पनीले पहिलो पटक नेपालमा विश्वभरबाट ट्रेकिङ र पर्वतारोहणका लागि आउने विदेशी नागरिकलाई लक्षित गरी अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्यमा नयाँ बीमा पोलिसी सुरु गरेको छ। यस योजनामार्फत नेपालका विभिन्न स्थानमा ट्रेकिङ तथा हिमश्रृङ्खलामा पर्वतारोहण गर्ने विदेशीले दुर्घटना वा उचाइजन्य रोगको अवस्थामा नगद रहित उद्धार तथा उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हालसम्मका उपलब्धिलाई संस्थागत गर्दै नीति, नियम, विनियम, आन्तरिक लेखा परीक्षण तथा नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशनहरूको कडाइका साथ पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाइरहेको जनाएको छ। सूचना तथा सञ्चार प्रविधिमा विशेष ध्यान दिँदै सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रवाह गर्ने उद्देश्यका साथ साधन र स्रोतको उच्चतम उपयोग भइरहेको बताइएको छ।
सभाको अन्त्यमा सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले २८औँ वार्षिक साधारण सभामा सहभागिता जनाई सबै प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन गरेकोमा शेयरधनीहरूलाई धन्यवाद व्यक्त गरे। साथै, अमूल्य सुझाव, विश्वास र सहयोगका लागि शेयरधनी, नेपाल सरकारका निकायहरू, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकाय तथा ग्राहकप्रति आभार प्रकट गर्दै कम्पनीलाई अझ सुदृढ र स्तरोन्नति गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया