नबिल बैंकको ४१औं वार्षिक साधारणसभा सम्पन्न, १२.५० प्रतिशत नगद लाभांश पारित
- BFIS News
- 2026 Jan 12 14:47
काठमाडौं। नबिल बैंक लिमिटेडको ४१औं वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गरेको छ। सञ्चालक समितिको प्रस्तावअनुसार साधारण शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले (कर समेत) जम्मा रु. ३ अर्ब ३८ करोड २१ लाख २४ हजार ५ सय ९१ रुपैयाँ १३ पैसा नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३(२) बमोजिम हालका लेखापरीक्षक B.R.S. Neupane & Co., Chartered Accountants पुनः नियुक्त हुन योग्य रहेको बैंकले जनाएको छ।
यसैगरी, स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ। सञ्चालक समितिको २०८१ माघ १८ गते सम्पन्न ६७३औं बैठकले सरिता भट्ट अधिकारीलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको निर्णय साधारणसभाबाट पारित गरिएको हो।
विशेष प्रस्तावका रूपमा आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गरिएको छ। साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने, आवश्यक परे वैदेशिक रणनीतिक साझेदारीमा जाने तथा सोका लागि सम्पत्ति र दायित्वको मूल्याङ्कनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित भएको छ। यद्यपि, सभामा उपस्थित केही शेयरधनीहरूले नेपालमा मर्जर असफल भएको अनुभव उल्लेख गर्दै यस्तो प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका थिए।
साधारणसभालाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ मा बैंकले रु. ५ अर्ब ९२ करोड खुद मुनाफा आर्जन गरेको जानकारी दिए। यो मुनाफा अघिल्लो वर्षको तुलनामा ४.४४ प्रतिशतले कम भए पनि व्यावसायिक कार्यदक्षता र सुदृढ वित्तीय व्यवस्थापनका कारण बैंकको वासलातमा उल्लेख्य वृद्धि भएको उनले बताए।
अध्यक्ष पौडेलका अनुसार, समीक्षा वर्षको खुद मुनाफाबाट विभिन्न जगेडा कोषमा आवश्यक व्यवस्था गरेपछि प्रति शेयर रु. १२.५० का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार गैर–बैंकिङ सम्पत्ति, स्थगन कर तथा सञ्चित ब्याज आम्दानीसम्बन्धी नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य मुनाफा वृद्धि भई लाभांश वितरण गर्ने क्षमतामा सुधार आएको उनले बताए।
उनले चालु वर्षमा व्यवस्था गर्नुपरेको सम्भावित नोक्सानी आगामी दिनमा अर्थतन्त्रको सुधारसँगै फिर्ता हुने र भविष्यमा लाभांश वितरण क्षमतामा थप वृद्धि हुने विश्वास व्यक्त गरे। विगतका वर्षहरूमा वितरण गरिएको नगद लाभांश, बजार पूँजीकरण तथा सम्पत्तिमा भएको वृद्धिलाई दृष्टिगत गर्दा स्थापना कालको चुक्ता पूँजी हालसम्म आइपुग्दा ९६० गुणाले वृद्धि गर्न बैंक सफल भएको अध्यक्ष पौडेलले उल्लेख गरे।
आगामी दिनको पूर्वानुमान
अध्यक्ष पौडेलले चालू आर्थिक वर्ष २०८२/८३ को प्रारम्भदेखि नै बैंकले सन्तोषजनक र अग्रणी रूपमा व्यवसाय विस्तार गरिरहेको बताएका छन्। साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले चालू आर्थिक वर्षको प्रगति विवरण तथा आगामी दिनको पूर्वानुमान प्रस्तुत गरेका हुन्।
उनका अनुसार चालू आर्थिक वर्षको तेस्रो महिना २०८२ साल आश्विनसम्म आइपुग्दा बैंकको निक्षेप दायित्व ५ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा कर्जा तथा सापट ४ खर्ब ३६ अर्ब रुपैयाँ, लगानी १ खर्ब ६६ अर्ब रुपैयाँ र खुद नाफा १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। आषाढ मसान्त २०८२ को तुलनामा निक्षेपतर्फ ३३ अर्ब २९ करोड रुपैयाँ अर्थात् ६.२४ प्रतिशत र कर्जातर्फ १० अर्ब ८९ करोड रुपैयाँ अर्थात् २.५६ प्रतिशतको वृद्धि भएको अध्यक्ष पौडेलले जानकारी दिए।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म बैंकको कुल सम्पत्ति ६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको र चालू आर्थिक वर्षमा कुल सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
अध्यक्ष पौडेलले वार्षिक कार्ययोजनाअनुसार व्यवसाय विस्तार गर्दै बैंकलाई सबल र चुस्त बनाउने दिशामा निरन्तर लागिरहेको बताए। बढ्दो प्रतिस्पर्धात्मक बैंकिङ वातावरणलाई मध्यनजर गर्दै आगामी दिनमा ग्राहक तथा सेवा सुविधाको दायरा विस्तार गर्ने, प्रविधिमा सुधार गर्ने, कर्जाको गुणस्तर अभिवृद्धि गर्ने, नवीन बैंकिङ उत्पादन ल्याउने, सम्पत्ति दायित्व व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र कर्जा परिमाण वृद्धि गरी आम्दानीको दायरा विस्तार गर्ने योजना रहेको उनले स्पष्ट पारे।
चालू आर्थिक वर्षमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ (प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले पाँच करोड कित्ता) नयाँ पूँजी उपकरणका रूपमा जारी गरेको पनि जानकारी गराइयो। नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट नीतिगत व्यवस्था भएपछि यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले पाएको अध्यक्ष पौडेलले बताए। यस उपकरणमार्फत अतिरिक्त प्राथमिक पूँजी सुदृढ भई बैंकको जोखिम वहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
तरलता वृद्धि, जेन–जी आन्दोलनका कारण देखिएको राजनीतिक अस्थिरता, निर्वाचन तथा आन्दोलनका प्रभाव, आर्थिक मन्दी, कोभिड–१९ पश्चातको असर र भूराजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पारेको प्रभाव जस्ता चुनौतीबीच बैंकिङ व्यवसाय सञ्चालन थप चुनौतीपूर्ण बनेको अध्यक्ष पौडेलले उल्लेख गरे। यद्यपि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको नीतिगत सुधार तथा बैंकको कार्यदक्षताका कारण यी चुनौतीबीच पनि मुनाफा र लाभांश वितरण क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता रहेको उनले बताए।
उनले बैंकको प्रमुख चुनौती सम्पत्तिको गुणस्तर सुधार, तरलताको प्रभावकारी व्यवस्थापन, कोष तथा गैर कोषमा आधारित कर्जा विस्तार र खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी बढाउने रहेको बताए।
सञ्चालक समितिको मान्यताबारे जानकारी दिँदै अध्यक्ष पौडेलले नबिल बैंकले संस्थागत सुशासन, जवाफदेहिता, रणनीतिक व्यवस्थापन, कर्मचारी र ग्राहकबीचको सुमधुर सम्बन्ध तथा उच्च नैतिक मापदण्डलाई निरन्तर आत्मसात् गर्दै आएको बताए। सञ्चालक समितिले उच्चतम स्तरको संस्थागत सुशासन कायम गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
यसैबीच, आर्थिक वर्ष २०८१/८२ मा स्वतन्त्र सञ्चालक सरिता भट्ट अधिकारीलाई २०८१ फागुन ६ गते सम्पन्न सञ्चालक समितिको ६७३औं बैठकको निर्णयअनुसार स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको जानकारी दिइयो। उक्त नियुक्ति ४१औं वार्षिक साधारणसभामा पनि प्रस्तुत गरिएको छ।
अध्यक्ष पौडेलले सम्पूर्ण शेयरधनी, ग्राहक, शुभेच्छुक, नियामक निकाय तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै, विगतमा जस्तै आगामी दिनमा पनि नबिल बैंकलाई थप उचाइमा पुर्याउन सबैको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।
राजनीतिक आर्थिक चुनौतीबीच नबिल बैंकको व्यवसाय विस्तार, डिजिटल र दिगो बैंकिङमा जोड : सीईओ ज्ञवाली
प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले आन्तरिक तथा बाह्य राजनीतिक आर्थिक चुनौती र बजार मागमा आएको संकुचनका बाबजुद बैंकले आर्थिक वर्ष २०८१/८२ मा व्यवसाय वृद्धि गर्न सफल भएको बताएका छन्।
साधारणसभालाई सम्बोधन गर्दै सीईओ ज्ञवालीले चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै व्यावसायिक विविधीकरण र अत्याधुनिक डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत नबिल बैंकलाई सवल, प्रतिस्पर्धी र आधुनिक वाणिज्य बैंकको रूपमा स्थापित गर्न सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा पनि ग्राहकका वित्तीय आवश्यकता पूरा गर्दै शेयरधनी तथा सबै सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यप्रति नेपालको प्रतिबद्धतालाई सहयोग गर्ने उद्देश्यले नबिल दिगो बैंकिङ अभ्यासलाई निरन्तरता दिँदै आएको जानकारी दिए। वातावरणीय, सामाजिक तथा सुशासन (ESG) प्रभावलाई सम्बोधन गर्दै लक्षित वर्गका लागि वातावरणमैत्री सेवा सुविधा विस्तार गरी सन्तुलित आर्थिक विकासमा बैंकले भूमिका खेल्दै आएको उनले बताए।
सीईओ ज्ञवालीका अनुसार सञ्चालक समितिको रणनीतिक योजना र दूरदर्शी मार्गनिर्देशनले प्रचलित ऐन–कानुन, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायका निर्देशनको पूर्ण पालना गर्दै नबिल बैंकलाई ‘पूर्ण वित्तीय समाधानको पहिलो रोजाइ’को रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको छ। चुनौतीपूर्ण परिस्थितिमा समेत कर्मचारी र सरोकारवालाको निरन्तर सहयोगले बैंकलाई विश्वसनीय र उत्कृष्ट संस्थाको रूपमा अगाडि बढाउन सहयोग पुगेको उनले बताए।
उनले अधिक तरलता व्यवस्थापन, सुम्चिँदो ब्याजदर अन्तर, बढ्दो प्रतिस्पर्धा, प्रविधिसँगै आउने जोखिम तथा निष्क्रिय कर्जाका कारण सम्पत्तिको गुणस्तर सुधार जस्ता चुनौती अझै कायम रहेको उल्लेख गरे। यद्यपि, ती चुनौतीलाई व्यवस्थापन गर्दै दीर्घकालीन रूपमा सबल बैंक बनाउने दिशामा बैंक अघि बढिरहेको उनले स्पष्ट पारे।
चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविनोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गरेको जानकारी दिँदै सीईओ ज्ञवालीले नेपाल धितोपत्र बोर्डबाट यस्तो पूँजी उपकरण जारी गर्ने स्वीकृति पहिलोपटक नबिल बैंकले प्राप्त गरेको बताए। यसले बैंकको जोखिम वहन क्षमता थप मजबुत बनाउँदै व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैंकको ४१ वर्षे यात्रामा नियमनकारी निकाय, शेयरधनी, ग्राहक तथा कर्मचारीको निरन्तर सहयोग, योगदान र सद्भावप्रति उनले हार्दिक आभार व्यक्त गरे। नबिल बैंक उत्कृष्टता, नवप्रवर्तन र दिगोपनको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpeg)







प्रतिक्रिया