दीर्घकालीन रणनीतिमा केन्द्रित छौँ: प्रभु महालक्ष्मी लाइफ अध्यक्ष सम्झना अर्याल
- BFIS News
- 2026 Jan 13 15:26
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष सम्झना अर्यालले कम्पनीको नवौं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन, नियामकीय सुधार र भविष्यको रणनीतिबारे विस्तृत समीक्षा प्रस्तुत गरेकी छन्।
अध्यक्ष अर्यालले साधारण सभामा उपस्थित शेयरधनी, नियामक निकायका प्रतिनिधि, पूर्व अध्यक्ष तथा सञ्चालक, बाह्य लेखापरीक्षक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, कर्मचारी तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई स्वागत गर्दै कम्पनीको प्रगति विवरण प्रस्तुत गरेकी थिइन्।
उनका अनुसार समीक्षाअवधिमा नेपालको वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर घट्दो क्रममा रहे पनि बैंकिङ क्षेत्रमा कर्जा माग अपेक्षाकृत कमजोर रह्यो। यसले समग्र आर्थिक गतिविधि, लगानीकर्ताको मनोबल र जीवन बीमा व्यवसायमा पनि प्रत्यक्ष प्रभाव पारेको उनले बताइन्। प्रिमियम वृद्धि, लगानी प्रतिफल, पोलिसी निरन्तरता तथा बजार विस्तारमा चुनौती देखिए पनि जीवन बीमा क्षेत्र संरचनागत रूपमा क्रमशः परिमार्जित हुँदै गएको उनको भनाइ थियो।
नियामकीय सुधार, वित्तीय सुरक्षाप्रति बढ्दो जनचेतना, डिजिटल प्रविधिको प्रयोग तथा दीर्घकालीन बचत र सुरक्षामुखी बीमा उत्पादनमा केन्द्रितताले बजारलाई अघि बढाएको अध्यक्ष अर्यालले उल्लेख गरिन्। यद्यपि प्रतिस्पर्धा तीव्र हुँदै गएको र मार्जिनमा दबाब कायम रहेकाले बीमा कम्पनीहरूले पूँजी पर्याप्तता, जोखिम व्यवस्थापन र सुशासनसँग सन्तुलन कायम गर्दै वृद्धि गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
उनले नेपाल बीमा प्राधिकरणले लागू गरेको जोखिम–आधारित पूँजी (आरबीसी) ढाँचाको सफल कार्यान्वयनलाई उद्योग र कम्पनी दुवैका लागि ऐतिहासिक उपलब्धि भएको बताइन्। नियममा आधारित सोल्भेन्सी प्रणालीबाट जोखिम–संवेदनशील पूँजी संरचनामा रूपान्तरण हुनु बीमा कम्पनीहरूको पूँजी व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन भएको उनले स्पष्ट पारिन्।
अध्यक्ष अर्यालले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सुदृढ एक्चुअरियल अभ्यास, परिसम्पत्ति–दायित्व व्यवस्थापन, अनुशासित लगानी नीति, सुशासन र जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्दै आरबीसी मापदण्ड सहज रूपमा पूरा गर्न सफल भएको जानकारी दिइन्। यसले कम्पनीको दीर्घकालीन रणनीतिक दृष्टि, तयारी र लचिलोपन झल्काउने उनले बताइन्।
चुनौतीपूर्ण वातावरणका बाबजुद कम्पनीले सन्तोषजनक व्यवसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै उनले यसलाई सुदृढ व्यवसाय मोडल, अनुशासित अन्डरराइटिङ, विविधीकृत उत्पादन पोर्टफोलियो, विवेकपूर्ण लगानी रणनीति र कर्मचारीहरूको प्रतिबद्धताको परिणाम भएको बताइन्।
साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनले कम्पनीको वित्तीय तथा सञ्चालनगत अवस्था, जोखिम व्यवस्थापन, सुशासन र नियामकीय विवरणहरू समेटेको उल्लेख गर्दै उनले प्रतिवेदन नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित निकायका निर्देशनअनुसार पारदर्शिता र जवाफदेहितासहित तयार गरिएको जानकारी दिइन्।
कम्पनीको वित्तीय अवस्था र पूँजी सुदृढताका आधारमा सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको अध्यक्ष अर्यालले जानकारी दिइन्। प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस सेयर र करसहित ४.४२१ प्रतिशत नगद लाभांश समावेश रहेको छ, जसलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइसकेको छ।
अघिल्ला वर्षहरूमा ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गरिएको स्मरण गर्दै उनले आरबीसीजस्ता कडाइपूर्ण पूँजी मापदण्डका बाबजुद पनि सन्तुलित लाभांश नीति कायम राख्न सफल भएको बताइन्। यसले कम्पनीको दीर्घकालीन वित्तीय स्थायित्व र शेयरधनी प्रतिफलप्रतिको प्रतिबद्धता झल्काउने उनको भनाइ थियो।
आगामी दिनमा कम्पनीले पूँजी दक्षता, जोखिम समायोजित वृद्धि, नवीन उत्पादन विकास, ग्राहककेन्द्रित सेवा, डिजिटल रूपान्तरण र सञ्चालन उत्कृष्टतामा केन्द्रित रहने अध्यक्ष अर्यालले बताइन्।
उनले पूर्व अध्यक्ष तथा सञ्चालक, शेयरधनी, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल स्टक एक्सचेन्जलगायत सबै नियामक निकाय, ग्राहक, सञ्चारमाध्यम तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै सबैको सहकार्य र विश्वासले कम्पनीलाई अझ सुदृढ र समावेशी बनाउने विश्वास व्यक्त गरिन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया