बीमा क्षेत्रमा भरोसायोग्य उपस्थिति बनाउँदै रिलायबल नेपाल लाइफ
- BFIS News
- 2026 Jan 13 19:02
काठमाडौं । हरेक सूचकमा उल्लेख्य सुधार गर्दै आइरहेको रिलायबल नेपाल लाइफले नेपालको बीमा क्षेत्रमा भरोसायोग्य उपस्थिति बनाउदै आइरहेको छ। २५५% सोल्भेन्सी मार्जिनसहित रिलायबल नेपाल लाइफले आफ्नो मजबुत प्रदर्शन गरिरहेको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले कम्पनीको वित्तीय अवस्था सुदृढ र दीर्घकालीन रूपमा स्थायित्वयुक्त रहेको बताएका छन्। कम्पनीको नवौ वार्षिक साधारणसभाको अवसरमा उनले आर्थिक वर्ष २०८२ असार मसान्तसम्म कम्पनीको पूँजी संरचना उच्च गुणस्तरको रहेको उल्लेख गर्दै उनले स्थायित्व, घाटा सहन सक्ने क्षमता, सहज पहुँच र कुनै पनि प्रकारको बन्धन वा अधीनस्थताबाट मुक्त पूँजीले कम्पनीको आधार मजबुत बनाएको जानकारी दिएका छन्।
उनका अनुसार चुक्ता पूँजी, सेयर प्रिमियम तथा सञ्चित नाफा कम्पनीको वित्तीय स्थिरता र भावी वृद्धिका लागि बलियो आधार बनेका छन्। रिलायबल नेपालले हाल नेपालका विभिन्न जिल्लामा रहेका ९६ वटा कार्यालयमार्फत ३५५ जना कर्मचारी र २५ हजार ६५८ जना अभिकर्तालाई संलग्न गराउँदै आएको छ। यसमार्फत कम्पनीले बीमा सेवा मात्र प्रदान नगरी स्थानीय समुदाय सशक्तीकरण र क्षेत्रीय आर्थिक विकासमा समेत योगदान पुर्याउँदै आएको छ।
सिइओ लोहनीले कम्पनीले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै हाल कम्पनीको सोल्भेन्सी मार्जिन २५५ प्रतिशत रहेको बताए। त्यस्तै, कुल लगानी १९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने इक्विटी ७ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ। कम्पनीले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने कुल बीमा शुल्क संकलन ५ अर्ब ४० करोड रुपैयाँ पुगेको जानकारी उनले दिए।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नाफामुखी लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिँदै आएको लोहनीको भनाइ छ। पछिल्ला केही वर्षदेखि कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्र र भूगोलमा सामाजिक तथा वातावरणीय पहलहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। दीर्घकालीन व्यवसायिक सफलताका लागि आर्थिक प्रदर्शनसँगै सामाजिक र वातावरणीय उत्तरदायित्व अपरिहार्य रहेको उनले जोड दिए।
कम्पनीले संस्थागत सुशासन निर्देशिका, २०८२; निकायगत सुशासनसम्बन्धी निर्देशिका, २०७४; तथा जोखिम व्यवस्थापन निर्देशिका, २०७६ को पूर्ण पालना गर्दै आएको पनि लोहनीले स्पष्ट पारे। जोखिम व्यवस्थापन तथा अनुपालन विभागले शून्य गैर–अनुपालनको लक्ष्यसहित सुदृढ जोखिम व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयन गरिरहेको उनले बताए।
बीमा क्षेत्रको बदलिँदो परिवेश र बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै कम्पनीले सुरक्षित र दिगो वित्तीय वृद्धिका लागि रणनीतिक कदमहरू अपनाइरहेको लोहनीले बताए। दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै नयाँ अवसरहरूको खोजीमा कम्पनी सक्रिय रहेको उनको भनाइ छ।
लोहनीले कम्पनीको सफल यात्रामा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे। ग्राहक, सेयरधनी, नियामक निकाय, व्यवस्थापन टोली, सञ्चार माध्यम, पुनर्बीमा साझेदार, सहकार्य गर्ने संस्थाहरू, सञ्चालक समितिका सदस्य तथा कर्मचारीहरूको विश्वास, सहयोग र प्रतिबद्धताका कारण कम्पनीले उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको उनले बताए। निरन्तर सहयोगले कम्पनीलाई अझ उच्च शिखरतर्फ अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया