नेशनल लाईफ इन्स्योरेन्सको ३८औँ वार्षिक साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित
- BFIS News
- 2026 Jan 14 15:21
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले समीक्षा वर्ष २०८१/८२ मा विविध चुनौतीहरू रहे पनि विश्व अर्थतन्त्र समग्रमा लचिलो अवस्थामा रहेको बताइन्। कोभिड–१९ महामारी तथा भूराजनीतिक कारणले उत्पन्न विश्व मुद्रा संकट क्रमशः कम हुँदै गएको र यसका कारण अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गरेको अध्यक्षको भनाइ थियो। राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने अनुमान गरिएको भए पनि आ.व. २०८२/८३ मा बढ्दो राजनीतिक तथा सामाजिक अनिश्चितताका कारण आर्थिक वृद्धिदर संकुचनमा जान सक्ने आकलन गरिएको उनले उल्लेख गरे।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जानकारी दिँदै अध्यक्षले कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई रु. २,२५९.३७ करोड पुगेको बताए। समीक्षा वर्षको सञ्चालनबाट जम्मा रु. १,४९८.५९ करोड खुद थप रकम कूल बीमा करार दायित्वमा सारिएको र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई वर्षान्तमा रु. ९,४५८.७७ करोड पुगेको छ। यस अवधिमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति तथा आंशिक अवधि समाप्ति दाबी, समर्पण मूल्य तथा अन्य दाबी भुक्तानी बापत रु. ९४८.६५ करोड भुक्तानी गरेको छ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पारदर्शिता र प्रतिफललाई ध्यानमा राखी दीर्घकालीन लगानीका औजारहरूमा लगानी गर्दै आएको उल्लेख गर्दै अध्यक्षले यसले बीमितहरूको हित संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। समीक्षा वर्षमा कम्पनीको कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई रु. ७,७९०.२० करोड पुगेको छ। कम्पनीको लगानीबाट प्राप्त वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहँदै आ.व. २०८१/०८२ मा ८.७६ प्रतिशत कायम भएको छ।
लगानी विविधीकरणको क्रममा कम्पनीले आ.व. २०८२/०८३ मा हिमालयन बैंक लिमिटेडको २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर रु. ३,३३,०१,१९,७५२.८५ मा खरिद गरेको जानकारी दिइयो, जसबाट उक्त बैंकमा कम्पनीको स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ। यसैगरी कम्पनीले प्रवर्द्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालन सुरु गरेको र आ.व. २०८१/०८२ का लागि पहिलोपटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
कम्पनीले इटहरी शाखाका लागि आफ्नै स्वामित्वको जग्गामा आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। साथै, कम्पनीलाई प्रविधिमैत्री बनाउने तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम प्रदान गर्न निरन्तर लगानी भइरहेको जानकारी दिइयो।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले नियामक निकायको निर्देशनअनुसार खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तरण गरेको छ। समीक्षा वर्षमा कम्पनीले “प्रधानमन्त्री दैवी प्रकोप राहत कोष”मा रु. २५ लाख र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालस्वास्थ्य उपचार परियोजनाका लागि रु. २५ लाखसहित कुल रु. ७०,२५,५०० आर्थिक सहयोग प्रदान गरेको छ।
सभाले आ.व. २०८१/०८२ का लागि कम्पनीको अद्यावधिक चुक्ता पुँजी रु. ५,४७,२७,३९,७३६ मा ८.५ प्रतिशत नगद लाभांश (रु. ४६,५१,८२,८७८) र ४ प्रतिशत बोनस शेयर (रु. २१,८९,०९,५८९) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै कर प्रयोजनका लागि रु. ३,६०,०४,८६७ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ। ४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको कूल चुक्ता पुँजी रु. ५,६९,१६,४९,३२५ पुगेको छ।
सभाको अन्त्यमा अध्यक्ष सिंहले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आगामी दिनहरूमा पनि एक प्रमुख जीवन बीमा कम्पनीको रूपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्न अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया