आर्थिक सफलता र डिजिटल विस्तारको बाटोमा नेशनल लाइफ: प्रेमा राज्यलक्ष्मी सिंह
- BFIS News
- 2026 Jan 15 12:19
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभालाई संबोधन गर्दै सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले चार दशक लामो इतिहास बोकेको कम्पनीले जीवन बीमा सेवालाई सर्वसुलभ, प्रभावकारी र विश्वासयोग्य बनाउने दिशामा निरन्तर प्रयास गरिरहेको बताएकी छिन्।
उनले विश्व अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाका कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को पछिल्लो प्रक्षेपणअनुसार सन् २०२५ मा विश्व आर्थिक वृद्धिदर ३.३ प्रतिशत र सन् २०२६ मा ३.२ प्रतिशत रहने बताइन्। नेपालका सन्दर्भमा राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमानअनुसार आर्थिक वर्ष २०८१/०८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने उनले बताइन्। यद्यपि, बढ्दो राजनीतिक तथा सामाजिक अनिश्चितताले वृद्धिदरमा केही संकुचन आउन सक्ने सम्भावना रहेको पनि उनको भनाइ थियो।

कम्पनीको आर्थिक अवस्थाबारे जानकारी दिँदै अध्यक्ष सिंहले आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको कुल बीमाशुल्क अघिल्लो वर्षको तुलनामा १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड ३७ लाख ८१ हजार ४१९ रुपैयाँ पुगेको बताइन्। कम्पनीको वासलातको आकार बढेर १ खर्ब १२ अर्ब ८६ करोड ५३ लाख ४८ हजार ६५२ रुपैयाँ पुगेको छ भने लगानी पोर्टफोलियो ७७ अर्ब ९० करोड २० लाख ४२ हजार ४४१ रुपैयाँ पुगेको छ। यसैगरी, कुल बीमा करार दायित्व ११.०४ प्रतिशतले वृद्धि भई ९४ अर्ब ५८ करोड ७७ लाख ४७ हजार ६५ रुपैयाँ पुगेको जानकारी दिइयो।
लगानी विविधीकरणको सन्दर्भमा अध्यक्ष सिंहले आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीले हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर खरिद गरेको बताइन्। यस लगानीले दीर्घकालीन रूपमा सुरक्षित र दिगो प्रतिफल सुनिश्चित गर्ने विश्वास व्यक्त गरिन्।
साधारणसभाले कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीमा ८.५ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, नगद तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ३६ लाख ४ हजार ८६७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।
डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहक केन्द्रित सेवा विस्तारमा कम्पनी प्रतिबद्ध रहेको अध्यक्ष सिंहले बताइन्। डाटासँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि कम्पनीले विस्तृत आईटी तथा सूचना सुरक्षा प्रणाली तयार गरेको उनले उल्लेख गरिन्।
कम्पनीका दुई सहायक कम्पनी सन्तोषजनक रूपमा सञ्चालनमा रहेको र पछिल्लो पटक स्थापना भएको नेशनल क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवामार्फत पूँजी बजारसम्बन्धी कार्य गर्दै आएको जानकारी दिइयो। उक्त सहायक कम्पनीले पहिलोपटक आर्थिक वर्ष २०८१/०८२ का लागि ७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
अध्यक्ष सिंहले कम्पनी संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व तथा वातावरणीय दायित्वप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै समीक्षा अवधिमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा ७० लाख २५ हजार रुपैयाँ योगदान गरेको जानकारी दिइन्।
उनले नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलगायत सम्पूर्ण नियामक निकाय, ग्राहक, सेयरधनी तथा कर्मचारीप्रति सहयोग र विश्वासका लागि आभार व्यक्त गरिन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया