NIMB Header 2
Nepal Life

शेयर धितोकर्जाको व्याजदर ५.३२ प्रतिशतमा झर्‍यो, कुन बैंकको कति ब्याज? यसरी लिन सकिन्छ कर्जा

National Life
  • BFIS News
  • 2026 Jan 16 07:00
शेयर धितोकर्जाको व्याजदर ५.३२ प्रतिशतमा झर्‍यो, कुन बैंकको कति ब्याज? यसरी लिन सकिन्छ कर्जा
Sanima Reliance

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५.३२ प्रतिशत ब्याजदरमै शेयर धितोकर्जा (मार्जिन लोन) प्रवाह गर्न थालेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै निक्षेप र कर्जाको ब्याजदरमा उल्लेख्य गिरावट आएको हो।

Shikhar
NIMB

कृषि विकास बैंकले माघ महिनाका लागि शेयर धितोकर्जाको ब्याजदर न्यूनतम ५.३२ प्रतिशतदेखि अधिकतम ७.८२ प्रतिशतसम्म कायम गर्ने गरी सार्वजनिक गरेको छ। हाल उपलब्ध दरमध्ये कृषि विकास बैंककै ब्याजदर सबैभन्दा सस्तो हो।

कृषि विकास बैंकपछि दोस्रो सस्तो ब्याजदर सिद्धार्थ बैंकको रहेको छ। सिद्धार्थ बैंकले ५.७८ प्रतिशतमा शेयर धितोकर्जा प्रवाह गर्ने भएको छ। त्यस्तै नेपाल एसबिआई बैंकको ब्याजदर ५.७९ प्रतिशतमा झरेको छ। शेयर धितोकर्जामा आक्रामक देखिएको एभरेष्ट बैंकले ५.८० प्रतिशत ब्याजदर कायम गरेको छ।

अन्य बैंकहरूको ब्याजदर

सिटिजन बैंक ५.८१ प्रतिशत, प्राइम कमर्सियल बैंक ५.९४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.९८ प्रतिशत, सानिमा बैंक ६.०१ प्रतिशत, एनएमबी बैंक ६.०८ प्रतिशत, माछापुच्छ्रे बैंक ६.१५ प्रतिशत, महालक्ष्मी बैंक ६.२१ प्रतिशत, हिमालयन बैंक ६.२१ प्रतिशत, ज्योति विकास बैंक ६.२५ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.३४ प्रतिशत ब्याजदरमा शेयर धितोकर्जा प्रवाह गर्ने भएका छन्।

शेयर धितोकर्जामा तीव्र वृद्धि

हाल बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको मार्जिन प्रकृतिको शेयर धितोकर्जा १ खर्ब ४८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै ८ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भइसकेको छ। एक वर्षअघि करिब ९० अर्ब रुपैयाँको हाराहारीमा रहेको यस्तो कर्जामा तीव्र वृद्धि देखिएको हो।

नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा लगाएको सीमा (क्याप) हटाएपछि यो कर्जामा निरन्तर वृद्धि भइरहेको छ। यही गतिले कर्जा प्रवाह भइरहेमा राजनीतिक वातावरणमा सामान्य सुधार र निर्वाचनको माहोल बनेकै अवस्थामा शेयर बजारले ‘अल टाइम हाई’ बनाउने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ।

कुन सेयरमा कर्जा पाइँदैन?

सबै कम्पनीका सेयर धितो राखेर कर्जा पाइँदैन। नेगेटिभ नेटवर्थ (१०० भन्दा कम) भएका, नेप्सेमा सूचीकरण नभएका, आर्थिक वर्ष सकिएको एक वर्षसम्म लेखापरीक्षण नगरेका, पछिल्ला तीन वर्ष निरन्तर घाटामा रहेका, व्यवसाय सञ्चालनमा आएको एक वर्ष पूरा नभएका तथा तीन वर्षदेखि साधारणसभा नगरेका कम्पनीका सेयर धितोमा बैंकले मार्जिन कर्जा दिन पाउँदैनन्। यही आधारमा योग्य कम्पनीहरूको सूची नेप्सेले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ।

कर्जा अवधि र सीमा

शेयर धितोकर्जाको अवधि एक वर्षभन्दा बढी हुँदैन। कर्जा अवधि सकिएपछि ब्याजसहित सम्पूर्ण बक्यौता चुक्ता भएको अवस्थामा मात्रै नवीकरण गर्न पाइन्छ।

धितो मूल्यांकन गर्दा पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्य मध्ये जुन कम हुन्छ, त्यही मूल्यको अधिकतम ७० प्रतिशतसम्म मात्र कर्जा प्रदान गरिन्छ। संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ५० प्रतिशतभन्दा बढी संस्थापक सेयर धितो राख्न पाउँदैनन्। सेयरको मूल्य घटेमा बैंकले थप धितो माग गर्न वा मार्जिन कल गर्न सक्छन्।

किन आवश्यक पर्छ सेयर धितोकर्जा?

  • तरलता व्यवस्थापनका लागि: सेयर भए पनि नगद अभाव भएको अवस्थामा सेयर नबेची कर्जा लिन सकिन्छ।

  • नयाँ लगानीका लागि: थप सेयर खरिद वा व्यवसाय विस्तार गर्न।

  • व्यक्तिगत आवश्यकताका लागि: शिक्षा, स्वास्थ्य, घर निर्माण वा आपतकालीन खर्चमा उपयोग गर्न।

कसरी लिन सकिन्छ?

सेयर धितोकर्जा लिनका लागि लगानीकर्ताको नाममा डिम्याट खातामा नेप्सेमा सूचीकृत कम्पनीको सेयर हुनुपर्छ। प्यान कार्ड, नागरिकता र केवाइसी विवरण पूरा गरी सम्बन्धित बैंकमा आवेदन दिनुपर्छ। बैंकले सेयरको मूल्यांकनपछि सामान्यतया बजार मूल्यको ५० देखि ७० प्रतिशतसम्म कर्जा स्वीकृत गर्छ। उदाहरणका लागि, १० लाख रुपैयाँ बराबरको सेयर भए अधिकतम ५ देखि ७ लाख रुपैयाँसम्म कर्जा पाउन सकिन्छ।

आवश्यक कागजात

नागरिकता प्रमाणपत्र, डिम्याट खाता नम्बर, सिआरएन नम्बर, सेयर विवरण (बीओआइडी), केवाइसी फारम तथा आवश्यक परे आयस्रोत खुल्ने कागजात पेश गर्नुपर्छ।

फाइदा र जोखिम

सेयर धितोकर्जा छिटो प्रक्रिया, सेयर नबेची नगद उपलब्धता र लचिलो प्रयोगका कारण आकर्षक मानिन्छ। तर बजार मूल्य घटेमा मार्जिन कल, उच्च ब्याजदर र कर्जा लिएर पुनः सेयरमा लगानी गर्दा घाटा हुने जोखिम पनि उत्तिकै छ।

यसैले, सेयर धितोकर्जा उपयोग गर्नु अघि आफ्नो आर्थिक अवस्था, कर्जा तिर्ने क्षमता र बजार जोखिमको मूल्यांकन गरेर मात्र निर्णय लिनु उपयुक्त हुन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया