एकताबद्ध भएर अघि बढ्न गगन थापाको अपील, कांग्रेस रुपान्तरणको दिशामा अघि बढेको दाबी
- BFIS News
- 2026 Jan 16 21:21
काठमाडौं, माघ २ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधि, विधान र पद्दतिअनुसार अघि बढिरहेको स्पष्ट गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन्।
आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन तथा पार्टी विधानअनुसार निर्णय गरेकोप्रति आभार व्यक्त गरेका छन्। उनले यो प्रक्रिया नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयासको साझा प्रतिफल भएको उल्लेख गरे।
थापाले विशेष महाधिवेशनले पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले पार्टी चल्ने र बन्ने कुरा स्थापित गरेको दाबी गरे। उनका अनुसार नेपाली कांग्रेस आफ्नो मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको छ।
विशेष महाधिवेशनमा सहभागी वा असहभागी, सहमत वा असहमत सबै नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकतावद्ध रहन आग्रह गर्दै थापाले यो विजय–पराजयको विषय नभई विधि र विधानको विजय भएको स्पष्ट पारे। अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढेको र रिफर्मको यात्रा सुरु भइसकेको उनको भनाइ छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सभापति थापाले उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, पार्टीका पूर्व सभापति शेरबहादुर देउवा लगायत विभिन्न तहका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ दिने विश्वास व्यक्त गरे।
प्रेस विज्ञप्तिमा थापाले अब कांग्रेसमा कुनै गुट नरहने र गुटगत भागबण्डा नहुने स्पष्ट गर्नुभएको छ। जिम्मेवारी फरक भए पनि भुइँ तहका सदस्यदेखि केन्द्रीय सभापतिसम्मको हैसियत समान हुने र आम सदस्यको चाहना नै पार्टी निर्णयको आधार हुने उनको भनाइ छ।
नेपाली कांग्रेस आम जनताको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै थापाले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गरिएको र उपलब्धिलाई थप संस्थागत गर्ने संकल्प लिइएको बताए। उनले अब कांग्रेस बदलिएको र अझ बदलिँदै जाने दाबी गरे।
सभापति थापाले मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने, सत्ताका लागि अप्राकृतिक गठबन्धन गर्ने अभ्यास अन्त्य हुने स्पष्ट गर्दै कांग्रेसले संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसका लागि आम जनताको थप साथ र विश्वास आवश्यक रहेको उनको भनाइ छ।
उनले सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजप्रति सम्मान प्रकट गरेका छन्। साथै, नवयुवा लगायत सम्पूर्ण नेपालीलाई समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन पुनः हार्दिक अपील गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)















प्रतिक्रिया