NIMB Header 2
Nepal Life

संसद उल्टिने हल्ला र चुनावी दबाबले शेयर बजारमा अन्योल, ४२.५८ अंकले घट्दा १४ अर्ब १६ करोडको कारोबार

National Life
  • BFIS News
  • 2026 Jan 27 15:47
संसद उल्टिने हल्ला र चुनावी दबाबले शेयर बजारमा अन्योल, ४२.५८ अंकले घट्दा १४ अर्ब १६ करोडको कारोबार
Sanima Reliance

काठमाडौं। देशमा चुनावी सरगर्मी बढ्दै जाँदा पछिल्लो समय उचालिएको शेयर बजारमा पुनः अन्योलता देखिएको छ। भित्रभित्रै सर्वोच्च अदालतले संसद उल्टाउने भन्ने हल्ला फैलिरहेकै बीच सोमबार र मंगलबार शेयर बजार ओरालो लागेको हो। कतिपय पुराना राजनीतिक दलका नेताहरू सर्वोच्चमार्फत संसद उल्ट्याउने प्रयासमा रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।

Shikhar
NIMB

गएको भदौ २३ र २४ गतेपछि विकसित घटनाक्रमले समग्र राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको देखिन्छ। एकातिर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देशव्यापी माहोल बढिरहेको छ भने अर्कोतर्फ पुरानो राजनीतिक दल नेपाली कांग्रेसभित्र व्यापक हलचल देखिएको छ। यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई एकलौटी रूपमा चलाउन सफल भएका छन्। यस परिस्थितिले चुनाव गराउन दबाव दिने र चुनाव नगराउन दबाव दिने दुवै पक्षलाई बलियो बनाएको छ। यही राजनीतिक उतारचढाव र हल्लाको असर शेयर बजारमा पनि देखिँदै आएको छ।

यद्यपि माघ ६ गतेको मनोनयनपछि चुनाव हुने सुनिश्चिततासँगै मुलुक चुनावी माहोलमा प्रवेश गरिसकेको छ। तर त्यसको सकारात्मक प्रभाव बजारमा देखिन सकेको छैन।

मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबार भने करिब साढे १ प्रतिशतले घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ४२.५८ अंक घटेर २७२६.५१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार १६ अर्ब ३५ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा मंगलबार ३३३ स्टकको १ लाख ४२ हजार ४७६ पटकको कारोबारमार्फत १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशतले बढेको छ। त्यसैगरी दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतले उक्लिएको छ। यता कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य भने सर्वाधिक ६.९३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको साढे ५७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ५१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये मंगलबार १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूह सर्वाधिक २.४४ प्रतिशतले घटेको छ। त्यसैगरी बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्। राजनीतिक अनिश्चितता र हल्लाका बीच बजारले स्पष्ट दिशा लिन नसक्दा लगानीकर्ताहरू अझै प्रतीक्षाको अवस्थामा देखिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया