नबिल बैंकको मुनाफामा उल्लेख्य सुधार: ४६.७१ प्रतिशतले वृद्धि, पौने ५ अर्ब पुग्यो, इपिएस ३५ रुपैयाँ
- BFIS News
- 2026 Jan 29 07:54
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सर्वाधिक धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। सार्वजनिक विवरणअनुसार बैंकले उक्त अवधिसम्ममा ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षमा खुद ब्याज आम्दानी सामान्य मात्रामा बढे पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको नाफा उल्लेख्य रूपमा वृद्धि भएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा २६.९५ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ। यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ, जसले सञ्चालन मुनाफा र खुद नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गरेपछि यसको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ। साथै, जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ।
पुस मसान्तसम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सोही अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) १३.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ।
नबिल बैंक पुरानै लयमा फर्कियो
नबिल बैंक लिमिटेड पुनः पुरानै लयमा फर्किएको छ। बैंकको सञ्चालक समितिदेखि उच्च व्यवस्थापन तहसम्म नयाँ नेतृत्व आएसँगै बैंकको समग्र प्रस्तुतिमा उल्लेखनीय सुधार देखिएको हो। मर्जर प्रक्रिया तथा अर्थतन्त्रमा देखिएको सुस्तताका कारण केही समय समग्र बैंकिङ प्रणालीसँगै नबिल बैंक पनि अपेक्षाकृत पछाडि परेको थियो। तर चालु वर्षदेखि बैंकले सबै प्रमुख वित्तीय सूचकमा आफूलाई अब्बल सावित गर्दै पुनः अग्रस्थानमा फर्किएको छ।
विगत दुई तीन वर्षमा बैंकले अवलम्बन गरेको रणनीतिले आगामी दिनमा थप प्रगति गर्ने आधार तयार गरेको देखिन्छ। यसले नबिललाई न केवल आफ्नो पुरानो पहिचान फर्काउन सहयोग गरेको छ, नकि समग्र बैंकिङ क्षेत्रलाई नै नेतृत्व गर्ने तहमा पुर्याएको छ। हाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली र सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी छन्। लामो समयसम्म बैंकको नेतृत्व गरेका अनिल केशरी शाह पनि सञ्चालकका रूपमा पुनः बैंकसँग आबद्ध भएका छन्। अनुभवी र सशक्त नेतृत्वको संयोजनले बैंकलाई सही गति र दिशा प्रदान गर्ने विश्वास गरिएको छ। यसको प्रतिफल चालु आर्थिक वर्षको पहिलो छ महिनामै देखिएको छ। नबिल बैंकले यस अवधिमा मुनाफाका आधारमा पुनः ‘नम्बर वान’ को स्थान हासिल गर्दै अन्य बैंकहरूसँग उल्लेखनीय अन्तर कायम गर्न सफल भएको छ।

मुनाफामा नबिल सर्वाधिक अगाडी हेर्नुहोस् कुन बैंकको कति ?
चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद नाफा ३० अर्ब रुपैयाँ नाघेको छ। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सो अवधिमा कुल ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ रहेको थियो। २० बैंकमध्ये ११ बैंकको नाफा बढ्दा समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा नबिल बैंक लिमिटेडले सर्वाधिक नाफा आर्जन गरेको छ। बैंकले आफ्नो नाफा ४६.७१ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ।
नाफा आर्जन गर्ने दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ६.५० प्रतिशत वृद्धि गर्दै ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, कुमारी बैंकले २ अर्ब ७२ करोड, एभरेष्ट बैंकले २ अर्ब ११ करोड र प्राइम बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpeg)







प्रतिक्रिया