सुन चाँदीको मूल्यमा भारी गिरावट: तोलाको १८ हजार ८०० रुपैयाँले घट्यो, डलर बलियो बन्दा सुन चाँदीको भाउ घट्दो
- BFIS News
- 2026 Feb 01 11:01
काठमाडौं। माघ १८ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। लगातार दुई दिनदेखि बहुमूल्य धातुको मूल्य ओरालो लाग्दा बजारमा उल्लेखनीय उतारचढाव देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले घट्दै ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम रहेको थियो। छोटो अवधिमै मूल्यमा आएको तीव्र गिरावटले बजारमा खरिद–बिक्री गतिविधिमा असर परेको व्यवसायीहरू बताउँछन्।
यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ५६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ घट्दो क्रममा देखिएको छ। प्रति औन्स सुनको मूल्य ७.३७ प्रतिशतले घटेर २,४५१.८१ डलरको हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय बजार स्रोतहरूले जनाएका छन्। डलर मजबुत बन्दै जाँदा सुनमा दबाब परेको विश्लेषण गरिएको छ।
आगामी साताका लागि अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताहरू सुनको मूल्य अझ कति तल झर्न सक्छ भन्ने कुरामा चासो राखिरहेका छन्। विशेषगरी अमेरिकी श्रम बजारसम्बन्धी जनवरी महिनाको रोजगारी प्रतिवेदन सार्वजनिक हुने भएकाले त्यसले सुन बजारमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसैबीच, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को नेतृत्व परिवर्तनसम्बन्धी घोषणा पनि बजारको ध्यानको केन्द्रमा रहेको छ। फेड अध्यक्ष जेरोम पावेलको कार्यकाल सकिएपछि उनको स्थानमा पूर्व फेड गभर्नर केभिन वार्शलाई मनोनयन गरिएको खबरले डलर बलियो बन्दा सुनको मूल्यमा थप दबाब परेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया