नेपाल लाइफका बद्रिनाथ ढकालको घरदैलोबाट सुरु भएको अभिकर्ता यात्रा, हजारौ बीमितको अभिभावक बन्न सफल
- आयुश बस्नेत
- 2026 Feb 02 12:21
काठमाडौं। जीवन बीमा व्यवसाय विश्वमै सबैभन्दा जटिल पेशामध्ये एक मानिन्छ। त्यसमा पनि जीवन बीमा अभिकर्ता भनेका बीमाका संवाहक हुन्, जो बीमितको घरदैलोमा पुगेर केवल बीमा गराउने मात्र होइन, बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्दै आर्थिक सल्लाहकार जस्तो महत्वपूर्ण जिम्मेवारी समेत वहन गर्दछन्।
यही पेशामा आफ्नो अलग पहिचान बनाउन सफल भएका छन्, तनहुँका बद्रीनाथ ढकाल। १८ वर्षभन्दा लामो समय शिक्षण पेशामा बिताएका ढकालको जीवन बीमा अभिकर्ताको यात्रा अरूभन्दा फरक, संघर्षपूर्ण र प्रेरणादायी रहेको छ।
प्रायः जीवन बीमा अभिकर्ताहरू आफ्नो परिवार, आफन्त वा चिनजानको सञ्जालबाटै व्यवसाय सुरु गर्छन्। तर ढकालको अभिकर्ता यात्रा भने अपरिचित व्यक्तिहरूबाटै सुरु भयो। यही कारणले उनको संघर्ष, सिकाइ र सफलताको कथा झनै रोचक छ।
_1770013824.jpeg)
शिक्षाको माहोलमा हुर्किएका ढकाल
ढकालको जन्म गण्डकी प्रदेश, तनहुँ जिल्ला, तत्कालीन भानु गाविस (हाल भानु नगरपालिका) वडा नम्बर ४ मा भएको हो। उनको एसएलसीसम्मको अध्ययन आफ्नै गाउँको चन्द्रावती माध्यमिक विद्यालयबाट भयो। चुदीलाई तनहुँकै शिक्षित क्षेत्रका रूपमा लिइन्छ। आदिकवि भानुभक्त आचार्य जन्मिएको भूमि भएकाले यहाँ शिक्षाप्रतिको चेतना उच्च रहेको छ। “चुदी खोलाको पानी खाएको मान्छे प्रायः सबै पढेका हुन्छन्” भन्ने भनाइ त्यतिवेला नै प्रचलित थियो।
ढकाल सम्झन्छन्, बाल्यकालमा नेपाल सरकारले पठाएका राष्ट्रिय विद्यालय सेवा (राविसे) अन्तर्गतका स्वयंसेवी शिक्षकहरू गाउँमा आउँथे। मास्टर डिग्री सकेपछि दुई वर्ष गाउँमा भोलन्टियर पढाउनुपर्ने नियम थियो। ती शिक्षकहरूले घर–घर पुगेर शिक्षा सम्बन्धी जनचेतना फैलाउँथे। एकपटक घरमा आएका शिक्षकहरूले “आमा, छोराछोरीलाई पढाउनुपर्छ है” भनेर सम्झाउँदा आमाले “नपढेको त कोही छैन, जेठो छोरो त मास्टर गर्दैछ” भनेको प्रसंगले आज पनि उनलाई मुस्कान दिलाउँछ।
यहाँबाट पनि थहाँ हुन्छ उनको परिवारमा पढाइप्रतिको वातावरण एकदमै राम्रो थियो। गाउँबाट बाहिर निस्कन कम्तिमा पनि एसएलसी पास गर्नैपर्ने मान्यता थियो। एसएलसीपछि अधिकांशको गन्तव्य काठमाडौँ वा पोखरा हुन्थ्यो। ढकाल पनि यही यात्रामा काठमाडौँ आइपुगे।
पहिले उनले प्रमाणपत्र तहको अध्ययन गरे, त्यसपछि महेन्द्ररत्न क्याम्पसबाट भुगोल र गणित विषयमा बीएड पूरा गरे। अस्कल साइसन्सबाट मास्टरको अध्ययन सुरु गरे तर कामको चापका कारण बीचमै छोड्नुपर्यो।
जागिरको खोजीमा उनको पहिलो यात्रा ऋषि फर्निचर नामक पसलबाट सुरु भयो। त्यहाँ मासिक किस्तामा दराज बिक्री गर्ने स्किम अन्तर्गत सदस्य बनाउने काम गर्नु पर्थ्यो। एक महिनामै १०० जना सदस्य बनाएको अनुभवले उनलाई आफू मार्केटिङका लागि उपयुक्त व्यक्ति भएको अनुभूति गरायो। तर उनि शिक्षण पेशामा आवद्ध भए।
_1770013880.jpeg)
२०४८–४९ सालतिर उनले कलंकीको ऋचा को एण्ड होम स्कुलमा गणित, अंग्रेजी, सामाजिक र नेपाली विषय पढाउन थाले। उनले करिव तीन वर्षसम्म पढाए। काम सँगै अध्ययनलाई पनि सँग सँगै अगाडी बढाए। ताहाचल क्याम्पसबाट स्नातक पूरा गरे सँगै उनले ऋचा को एण्ड होम छाडेर लैजचौरको आदर्श योग हरी सेकेण्डरी स्कुलमा गणित शिक्षकका रूपमा प्रवेश गरे। निजी स्कुलमा सरकारीभन्दा राम्रो सुविधा थियो । तलब पनि आकर्षक, ग्रेड, खाजा भत्ता र तथा पोशाकको सुविधाले उनलाई शिक्षणमै अल्झाइरह्यो। सरकारी जागिर खाने सोच पनि बनाएनन्। यसले गर्दा पनि उनि निरन्तर १५ वर्षसम्म यहि स्कुलमा शिक्षण गरिरहे।
यही समयमा नुवाकोटका साथी राजाराम भण्डारीसँग भेट भयो । उनले बीमा समितिबाट ट्रेडिङ लिँदै जीवन बीमा क्षेत्रमा प्रवेश गर्न सुझाव दिए । तर उनले अभिकर्ताको लाइसेन्स कसरी लिने भन्ने कुराको भेउ पाउन सकेनन्। शिक्षणमै व्यस्त भएकाले उनले त्यति ध्यान दिएनन् ।
तर शिक्षण पेशामा मासिक तलब बाहेक अतिरिक्त आम्दानी नहुँदा भविष्यप्रति चिन्ता बढ्न थाल्यो। गाउँ घरका दाजुभाइहरूले जग्गा किन्नेदेखि लिएर घर बनाइसकेका थिए। उनि आफूलाई पनि त्यस्तै सपनाले सतायो। तर शिक्षणबाट मात्रै उनको आफ्नो सपना पुरा हुने अवस्था थिएन। उनि मन मनमै केहि अतिरिक्त आम्दानीको बाटो खोजिरहेका थिए। यसै क्रममा उनलाई केहि वर्ष अगाडी अभिकर्ताको लाइसेन्स लिन सुझाएका तिनै साथि राजारमसँग पुनः भेट भयो। उनले सोधिहाले 'अभिकर्ता बन्न के गर्नु पर्छ? '
उनकै सुझावमा उनले अन्ततः २०५७ सालतिर उनले बीमा समितिको फारम भरेर ७–८ दिनको ट्रेडिङ लिए । चैतमा २०० रुपैयाँ शुल्क तिरेर पनि बैशाखमा नविकरण गर्नु पर्ने भएकाले उनले लाइसेन्स पनि वैशाखमै लिए । यसरी २०५८ सालमा लाइसेन्स प्राप्त गरी राष्ट्रिय बीमा संस्थानमा अभिकर्ताको रूपमा काम सुरु गरे।
_1770013919.jpeg)
पसल–पसल डुल्दै बीमाको प्रचार
लाइसेन्स त लिए तर काम कसरी सुरु गर्ने? उनलाई एउटा जुक्ति फुर्यो, ४ बजे स्कुल छुटे पछि पसल पसलमा गएर बीमाको बारेमा बुझाउने। यस पछि उनि ४ बजे स्कुल छुटेपछि असन, इन्द्रचोक, जमल, न्युरोड, सुनधारा, कमलादीका पसल–पसल पुगेर बीमाबारे बुझाउन थाले। उनको यो तरिकालाई फर्निचर पसलमा काम गर्दा सिकेको मार्केटिङ अनुभवले ठूलो सहयोग गर्यो। मानिसले बीमा गर्नुको प्रमुख कारण बीमाको चेनता नभएर हो, उनि भन्छन् 'बीमाको जानकारी दिनेदेखि लिएर जनचेतना अभिबृद्धिका लागि म हरेक घर पसलमा जान थाले। मैले बीमाको महत्व बुझाउन थाले।'
कतिले शंकाको नजरले हेर्थे, कतिले सुन्नै चाहँदैनथे । तर उनले हार मानेनन् । “मैले माग्न होइन, नियमअनुसार काम गर्न हिँडेको हुँ,” उनी भन्छन् । दिनभर ६–७ पिरियड पढाएर फेरि बीमा प्रस्ताव बोकेर हिँड्नु सजिलो थिएन । गोडा दुख्थे, थकान लाग्थ्यो तर पनि बीमाको काम गर्न छोडेनन्। महिनामा ४०/५० वटासम्म प्रस्ताव फारम भरेर कार्यालय पुग्थे। तर पोलिसी स्वीकृत हुन ३–४ महिना लाग्थ्यो । यसले गर्दा उनि पहिला पैसा लिदैन थिए। कतिपय पोलिसी त स्वीकृत भएर प्रिमियम लिन जादा बीमित नै भेटिदैन थिए भने कसैले पैसा नै दिदैन थिए। यसरी स्वीकृत भएरका कयौ प्रस्ताव च्यातेर फाल्नुपरेको अनुभव पनि उनीसँग छ ।
ढकालले बीमा गर्न नसक्दा समेत आफ्नो इमानदारीता छाडेनन्। त्यसमा पनि उनि दिउसो कार्यालय जान नभ्याउने। यसरी विमीतको विश्वास नै गुम्ने अवस्था आए पछि उनि पोलसी स्वीकृत गराउन खाजा खाने समयमा समेत कुदेर बीमा संस्थान पुग्थे। यस क्रममा उनको श्रीमति विनिता अधिकारी ढकालले धेरै साथ सहयोग गरिन्। व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी उनले बीमाको यात्रामा होमिइन्।
_1770013958.jpeg)
नेपाल लाइफ र नयाँ मोड
यही कठिन समयमा स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले छोटो समयमै बीमित र अभिकर्ता दुबैको पहिलो रोजाइ बन्यो। तत्कालिन मार्केटिङ चिफ कमलराज गौतमले ढकाललाई नेपाल लाइफमा काम गर्न प्रस्ताव गरे। गौतमले “नेपाल लाइफमा आउनुस्, यहाँ काम छिटो हुनुका साथै समयमै पारिश्रमिक पनि हात पर्छ,” भन्ने आश्वासनपछि उनी नेपाल लाइफमा तानिए। कम्पनी अन्तरिम बोनसदर प्रतिहजार ६५ रुपैयाँ घोषणा गरेको थियो। त्यसमा पनि तत्काल काम हुने व्यवस्था थियो । उनलाई हौसला थप्यो। पहिलो तीन महिनामै उनले आकर्षक कमिसन हात पारे, उनलाई ठुलो राहात महशुस गरे। जब कि त्यतिवेला उनको मासिक तलब पाँच हजार मात्र थियो । त्यसपछि उनले यही क्षेत्रमा भविष्य देखे ।
बीमा क्षेत्रमा गहिरिँदै गएका ढकालले अन्ततः २०६५ सालमा शिक्षण पेशा पूर्ण रूपमा छाडे। त्यतिबेलासम्म उनी बीमा क्षेत्रमा आठ वर्षभन्दा बढी समय बिताइसकेका थिए।

तीन महिनामै एजेन्सी म्यानेजर
नेपाल लाइफमा पूर्णकालीन रूपमा लागेपछि ढकालले तीन महिनामै एजेन्सी म्यानेजर बन्ने टार्गेट पूरा गरे। “स्कुल छोडेपछि एजेन्सी म्यानेजर भएँ,” उनी सम्झिन्छन्, “तीन महिनामै टार्गेट पूरा गरेँ।”
त्यसयता उनले हरेक वर्ष आफ्नो वार्षिक लक्ष्य पूरा गर्दै आएका छन्। नेपाल लाइफले एमडिआरटी (MDRT) को मान्यता दिन सुरु गरेदेखि नै उनी लगातार एमडिआरटी क्वालिफाइड छन्। यस वर्ष पनि उनले २०२६ का लागि एमडिआरटी टार्गेट पूरा गरिसकेका छन्।
आज उनि सँग हजारौको संख्यामा विमितहरु जोडिएका छन्। पुराना बीमितहरुले अहिले पनि नयाँ बिमा गर्दा उनलाई नै खोज्छन्। “म कहिल्यै झुठो बोल्दिनँ, आर्थिक इमान्दारितालाई आत्मसाथ गरेको छु, बीमितको जुनसुकै समस्यालाई सर्वोपरी ठानेर समस्याको समाधान गर्छु” ढकाल भन्छन्, “त्यही भएर होला, पुराना ग्राहकले मलाई अझै पनि विश्वास गर्नुहुन्छ।”
ढकालको कन्भिन्स गर्ने तरिका सरल तर प्रभावकारी छ। “पहिले कुरा गर्छु, बिमाको महत्व बुझाउँछु,” उनी भन्छन्, “हामी गाडी बाइकको बीमा गर्छौँ, तर आफ्नै जीवनको किन गर्दैनौँ?” यही बुझाइ र सही अन्डरराइटिङका कारण उनले बिमा गराएका मध्ये अहिलेसम्म २–३ वटा मात्र मृत्यु दाबी (डेथ क्लेम) परेका छन्। उनी बिमाको सिद्धान्त विपरीत कहिल्यै काम गर्दैनन्।

सफलताका सूत्र
ढकालका अनुसार बिमा पेशामा लाग्ने व्यक्तिमा विषय वस्तु प्रतिको ज्ञान, आर्थिक इमानदारिता, धैर्यता र अनुशासन अनिवार्य हुन्छ। “यो पेशालाई माया गर्नुपर्छ, कन्फिडेन्सका साथ काम गर्नुपर्छ,” उनी भन्छन्, “विमितको समस्या समाधान गर्न सधैँ तयार हुनुपर्छ।” व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी उनको श्रीमतिकै साथ सहयोगका कारण उनि आज यस स्थानमा आइपुगेका छन्। दुई छोरा मध्ये ठुलो छोरा बिमोचन ढकालले स्नातकोत्तर अध्ययन गरिरहेका छन् भने अर्को छोरा विनायक ढकालले काठमाडौं विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गरिरहेका छन्।
आज उनका हजारौका संख्यामा बीमित रहेका छन् । उनी देखावटी प्रचारभन्दा प्रत्यक्ष संवादमा विश्वास गर्छन् । न आफन्तलाई जबर्जस्ती बीमा गराउँछन्, न त सामाजिक सञ्जालमा धेरै विज्ञापन । “पहिले बीमा के हो भन्ने बुझाउनुपर्छ,” उनी भन्छन् । गाडी वा बाइक बीमाको उदाहरण दिएर आफूका लागि जीवन बीमाको महत्व बुझाउने उनको तरिका प्रभावकारी छ ।
२५ वर्षको बीमा यात्रामा उनले पेशागत अभिकर्ता संघमा पनि सक्रिय भूमिका निर्वाह गरे । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको काठमाडौँ शाखाको अध्यक्षसमेत भए । हाल उनि पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको बरिष्ठ उपाध्यक्ष छन्। अहिले ५५ वर्षको उमेरमा पनि उनी यही पेशामा सक्रिय छन् । यही पेशाबाट उनि आजका दिनमा आर्थिक रुपमा सबल बन्न सफल भएका छन्।

उनको अनुभवले देखाउँछ 'जीवन बीमा अभिकर्ता केवल पोलिसी बेच्ने व्यक्ति होइन, बीमितलाई आर्थिक सुरक्षाको सन्देशवाहक हो ।' यही कारणले नेपाल मात्र होइन, विश्वभर नै जीवन बीमा व्यवसायमा संलग्न अभिकर्तालाई प्रोत्साहन गर्न विभिन्न किसिमका इन्सेन्टिभ र सुविधा प्रदान गरिँदै आएको छ । आज बद्रिनाथ ढकालको परिचय केवल एक सफल जीवन बीमा अभिकर्ताको मात्र होइन, इमानदारीता, धैर्यता, निरन्तरता र संघर्षको प्रतीकका रूपमा स्थापित छ। अपरिचित व्यक्तिहरूबाट सुरु भएको उनको बीमा यात्रा नयाँ पुस्ताका अभिकर्ताहरूका लागि प्रेरणाको स्रोत बनेको छ। जीवन बीमा क्षेत्रमा करिब २५ वर्ष बिताइसकेका ढकाल आज हजारौँ विमितका लागि ‘अभिभावक’ बनेका छन्।
_1770014137.jpeg)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया