नाफा बुक हुँदा कारोबार आधाले घट्यो, नयाँ कम्पनीमा मात्रै उछाल आउदा अन्य कम्पनी हेरेको हर्यै
- BFIS News
- 2026 Feb 02 16:07
काठमाडौं। अल्पकालिन लगानीकर्ताले नाफा बुक गरे सँगै शेयर बजारमा कारोबार रकम आधाले घटेको छ। अर्को तर्फ भर्खरै आएका नयाँ कम्पनीको शेयर मूल्यमा मात्रै उछाल आउदा पुराना कम्पनीको अवस्था सुधार हुन सकेको छैन।
बजारमा सूचीकृत नयाँ कम्पनीहरू पुनः लगानीकर्ताको आकर्षणमा परेका छन्। बुधबार शीर्ष १० स्थानमा परेका अधिकांश कम्पनीहरू पनि हालै सूचीकृत भएकै कम्पनीहरू थिए।
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। सो दिन नेप्से परिसूचक १.५३ अंकले बढ्दै २६९५.७३ बिन्दुमा कायम भएको हो। यद्यपि, सेन्सेटिभ इन्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१० अंकले वृद्धि देखाएको छ।
परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएको छ। आइतबार ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो, जसको तुलनामा सोमबारको कारोबार करिब १० प्रतिशतले कम हो।
कारोबारमा आएका कम्पनीमध्ये ११४ कम्पनीका शेयर मूल्य बढेका छन् भने १३४ कम्पनीका शेयर मूल्य घटेका छन्।
सोमबार सर्वाधिक मूल्य वृद्धि हुने कम्पनीहरूमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र हिमस्टार ऊर्जा रहेका छन्। यी तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै सान्भि इनर्जीको शेयर मूल्य ९.९४ प्रतिशत, बन्दिपुर केबुलकारको ९.९३ प्रतिशत र ट्रेड टावर लिमिटेडको ८.९४ प्रतिशतले बढेको छ।
उता, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ५.५३ प्रतिशत, शिवश्री हाइड्रोपावर ५ प्रतिशत र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य ४.०५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको एसवाई प्यानल नेपालको ३८ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको छ।
उपसमूहगत परिसूचकतर्फ १३ उपसमूह मध्ये होटल तथा पर्यटन समूह १.७७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.४५ प्रतिशतले बढेका छन्। विकास बैंक, निर्जीवन बीमा तथा व्यापार समूहमा पनि झिनो सुधार देखिएको छ। तर वाणिज्य बैंक, वित्त, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहका परिसूचकमा गिरावट आएको छ।
समग्रमा सोमबारको बजारमा परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम घटेको र नयाँ सूचीकृत कम्पनीहरूमा लगानीकर्ताको आकर्षण पुनः बढेको संकेत देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया