शिखर इन्स्योरेन्समा विभिन्न पदमा रोजगारीको अवसर, ट्रेनीदेखि म्यानेजरसम्म माग
- BFIS News
- 2026 Feb 11 12:17
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ। नेपालकै अग्रणी साधारण बीमा कम्पनीका रूपमा परिचित एसआईसीएलले आत्मप्रेरित, नतिजामुखी तथा सकारात्मक सोच भएका योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
कम्पनीले पहिलो चरणमा एक्जिक्युटिभ सेक्रेटरी पदका लागि आवेदन खुलाएको जनाएको छ। यो पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी कम्तीमा तीन वर्ष सचिवालय सम्बन्धी कार्य अनुभव भएको हुनुपर्नेछ। साथै, आवेदक सक्रिय, गोपनीयता कायम राख्न सक्ने तथा माइक्रोसफ्ट अफिस (वर्ड, एक्सेल) मा दक्ष हुनुपर्नेछ। नेपाली र अंग्रेजी दुवै भाषामा टाइपिङ तथा मौखिक र लिखित सञ्चार सीप उत्कृष्ट हुनुपर्नेछ। यस पदका लागि उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ। उक्त पदको कार्यस्थल कर्पोरेट कार्यालय रहनेछ।
त्यसैगरी कम्पनीले मार्केटिङ म्यानेजर/अफिसर पदका लागि पनि आवेदन माग गरेको छ। मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक पर्नेछ। बलियो सञ्चार सीप, नतिजामुखी कार्यशैली तथा बजारको परिवर्तनअनुसार अनुकूलन हुन सक्ने क्षमता भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। साथै, सरोकारवालासँग समन्वय गर्ने दक्षता आवश्यक रहनेछ। अफिसर तहका लागि उमेर ३५ वर्ष र म्यानेजर तहका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ। यस पदका लागि कर्पोरेट तथा शाखा कार्यालयमा नियुक्ति गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, मार्केटिङ ट्रेनी असिस्टेन्ट पदका लागि पनि आवेदन खुला गरिएको छ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा प्लस–टु (इन्टरमिडिएट) उत्तीर्ण गरी २५ वर्ष ननाघेको उम्मेदवारले आवेदन दिन सक्नेछन्। सिक्न इच्छुक, सक्रिय तथा राम्रो सञ्चार सीप भएका युवालाई अवसर प्रदान गरिने कम्पनीले जनाएको छ। यो पदका लागि पनि कर्पोरेट तथा शाखा कार्यालयमा कार्य गर्ने व्यवस्था रहनेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो अद्यावधिक बायोडाटा सहित आवेदन [email protected] मा इमेलमार्फत पठाउन कम्पनीले अनुरोध गरेको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया