नेशनल लाइफको जीवन बीमा कोष २५% वृद्धि, मुनाफा २८ करोड नाघ्यो
- BFIS News
- 2026 Feb 12 11:02
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले जीवन बीमा कोष, मुनाफा तथा व्यवसाय विस्तारलगायत अधिकांश वित्तीय सूचकहरूमा सकारात्मक प्रगति हासिल गरेको जनाएको छ ।
विवरणअनुसार कम्पनीको जीवन बीमा कोषमा हाल ९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष २५.१६ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीको जगेडा कोषमा ४ अर्ब ७ करोड रुपैयाँ र महाविपत्ति कोषमा ७३ करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ । विभिन्न कोषहरूमा पर्याप्त रकम सञ्चित गरिएकाले भविष्यमा आउन सक्ने जोखिम तथा आकस्मिक घटनाको सामना गर्न कम्पनी सक्षम रहने अपेक्षा गरिएको छ ।
५ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको खुद मुनाफा २.७६ प्रतिशतले वृद्धि भई २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले कुल १० अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.४९ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीले ११ अर्ब ७१ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।
लगानी तथा कर्जा लगानीबाट कम्पनीले २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । कुल आम्दानी १४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च १३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
हाल कम्पनीमा कायम बीमा पोलिसी संख्या १४ लाख ६१ हजार ५०८ वटा रहेको छ । गत वर्षको सोही अवधिमा १५ लाख ६२ हजार ३३१ वटा पोलिसी कायम रहेका थिए । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ २८ पैसा रहेको छ ।
समग्रमा, दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था सुदृढ बन्दै गएको संकेत गरेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया