एलआईसी नेपालको वित्तीय सूचकमा उत्साहजनक सुधार, खुद नाफा ५८ प्रतिशतले वृद्धि
- BFIS News
- 2026 Feb 12 11:28
काठमाडौं । जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनी एलआईसी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ। आज सार्वजनिक गरिएको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तारसँगै जीवन बीमा कोषलाई थप मजबुत बनाउन सफलता हासिल गरेको हो।
पाँच अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोष एक खर्ब ३९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष एक खर्ब २७ अर्ब २७ करोड रुपैयाँमा सीमित थियो। यसरी कम्पनीले एक वर्षमै जीवन बीमा कोष ९.९० प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
यद्यपि समीक्षा अवधिमा कम्पनीको जगेडा कोष भने २७.७५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ४५ करोड रुपैयाँ रहेको जगेडा कोष घटेर दुई अर्ब ४९ करोड ४२ लाख रुपैयाँमा झरेको छ।
बीमा अभिकर्तालाई प्रदान गरिने कमिशन खर्च सामान्य रूपमा बढेको छ। उक्त रकम ६५ करोड ६४ लाख रुपैयाँबाट बढेर ७२ करोड ८३ लाख रुपैयाँ पुगेको छ, जसले व्यवसाय विस्तारको संकेत गर्दछ।
कम्पनीको खुद नाफामा उल्लेखनीय उछाल देखिएको छ। खुद नाफा ५८.३६ प्रतिशतले वृद्धि हुँदै १४ करोड १७ लाख रुपैयाँबाट बढेर २२ करोड ४५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमा व्यवसाय ८.२४ प्रतिशतले वृद्धि भई नौ अर्ब ४० करोड रुपैयाँबाट बढेर १० अर्ब १८ करोड रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा कम्पनीले कुल ६ अर्ब १४ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको जनाएको छ। साथै, कुल खर्च ५.०७ प्रतिशतले बढेर १४ अर्ब २४ करोड रुपैयाँबाट १४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी चार अर्ब ९० करोड रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ १७ पैसा कायम भएको छ।
समग्रमा, एलआईसी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय आधार सुदृढ बनाउँदै बीमा व्यवसायमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको देखिन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया