सानिमा रिलायन्स लाइफको दमदार प्रदर्शन : जीवन बीमा कोष २२ अर्ब नाघ्यो, नाफामा १९% बृद्धि
- BFIS News
- 2026 Feb 12 11:57
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अधिकांश प्रमुख सूचांकमा सकारात्मक सुधार देखिएको छ भने जीवन बीमा कोष झन्डै २२ अर्ब रुपैयाँ पुग्न सफल भएको छ।
पाँच अर्ब एक करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले महाविपत्ति कोषमा १७ करोड ५३ लाख रुपैयाँ तथा जगेडा कोषमा २६ करोड ५७ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको जनाएको छ। यसले कम्पनीको वित्तीय आधार थप मजबुत बन्दै गएको संकेत गर्दछ।
बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि
पुष मसान्तसम्म कम्पनीको खुद बीमा व्यवसाय १४.२९ प्रतिशतले वृद्धि भई तीन अर्ब ११ करोड रुपैयाँबाट बढेर तीन अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। व्यवसाय विस्तारसँगै बीमा अभिकर्तालाई दिइने कमिशन रकम पनि १८.७९ प्रतिशतले वृद्धि भई ३१ करोड ५ लाख रुपैयाँबाट ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
नाफामा आकर्षक वृद्धि
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १९.२१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड १६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष २७ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यसले कम्पनीको कार्यक्षमता र आम्दानी व्यवस्थापन सुदृढ हुँदै गएको देखाउँछ।
आम्दानी र खर्च दुवैमा वृद्धि
कम्पनीले समीक्षा अवधिमा कुल ७९ करोड १२ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ। लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी ७७ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन कम्पनीको स्थिर आय स्रोतका रूपमा देखिएको छ।
यस अवधिमा कुल खर्च ७.२९ प्रतिशतले वृद्धि भई चार अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने कुल आम्दानी ७.९५ प्रतिशतले बढेर चार अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ १० पैसा रहेको छ।
समग्रमा, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा वित्तीय सूचांकहरूमा प्रभावशाली सुधार गर्दै आफ्नो बजार उपस्थिति र वित्तीय सुदृढता दुवैमा उल्लेखनीय प्रगति गरेको देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया