दोस्रो त्रैमाससम्म रिलायबल नेपाल लाइफको नाफा १३% बढ्यो, जीवन बीमा कोष १५ अर्ब नाघ्यो
- BFIS News
- 2026 Feb 12 12:04
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले नाफा, आम्दानी र बीमा कोषका प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार गरेको देखिएको छ।
पुस मसान्तसम्म कम्पनीले ३९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा चालू आवको सोही अवधिमा नाफा करिब १३ प्रतिशतले बढेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २१ करोड ८७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ३२.३९ प्रतिशतले बढेर २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ पुगेको छ। कर्जा तथा लगानीबाट प्राप्त आम्दानी पनि ७.२६ प्रतिशतले बढ्दै ७४ करोड ४६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ६९ करोड १९ लाख रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी १७.१८ प्रतिशतले बढेको छ भने सोही अवधिमा कुल खर्च १७.६० प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ। अभिकर्तालाई प्रदान गरिने कमिशन खर्च पनि १७.८९ प्रतिशतले बढेको देखिएको छ।
जीवन बीमा कोषको आकारमा उल्लेख्य विस्तार देखिएको छ। अघिल्लो वर्ष पुस मसान्तसम्म ११ अर्ब ५३ करोड २३ लाख रुपैयाँ रहेको कोष ३२ प्रतिशतले बढेर १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी पनि १५ रुपैयाँ १० पैसाबाट बढेर १५ रुपैयाँ ७७ पैसा कायम भएको छ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा करिब २६ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ६१ करोड ६६ लाख रुपैयाँ सञ्चित रहेको छ। पुस मसान्तसम्म कम्पनीले २ अर्ब १० करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ भने कुल सम्पत्तिको मूल्य २३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया