शिखर इन्स्योरेन्सको बीमाशुल्क २२% ले बढ्यो, जेन जी आन्दोलन र बाढी पहिरोको असरले नाफा दवाव
- BFIS News
- 2026 Feb 12 12:12
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्राकृतिक विपत्ति र सामाजिक आन्दोलनको चुनौतीका बीच कम्पनीले व्यवसाय विस्तारमा उल्लेखनीय वृद्धि गरेको भए पनि उच्च बीमा दाबीका कारण नाफा भने ऋणात्मक भएको छ।
सार्वजनिक विवरणअनुसार चालू आवको पुस मसान्तसम्म कम्पनीले ७८ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले यस वर्ष २२.४१ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको हो। व्यवसाय विस्तारका हिसाबले कम्पनी सकारात्मक लयमा देखिएको छ।
तर, भदौ महिनामा भएको ‘जेन जी आन्दोलन’ तथा असोज महिनामा आएको बाढी–पहिरोका कारण ठूलो परिमाणमा बीमा दाबी परेपछि कम्पनीको वित्तीय अवस्था प्रभावित भएको छ। गत आवको पुस मसान्तसम्म २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालू आवको सोही अवधिमा ४ करोड ४७ लाख रुपैयाँ खुद घाटामा पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५.७१ प्रतिशतले बढेर १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कुल आम्दानी १ अर्ब १६ करोड ३३ लाख रुपैयाँ रहेको थियो। तर, कुल खर्चमा भने उल्लेख्य वृद्धि देखिएको छ। खर्च ६२.१५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७९ करोड ७८ लाख रुपैयाँ थियो। उच्च दाबी भुक्तानीका कारण खर्चमा तीव्र वृद्धि भएको देखिन्छ।
अभिकर्तालाई कमिशन बापत दिइएको रकम पनि बढेको छ। गत वर्ष २ करोड ६८ लाख रुपैयाँ रहेको कमिशन खर्च चालू आवमा १९.८२ प्रतिशतले वृद्धि भई ३ करोड २२ लाख रुपैयाँ पुगेको छ।
वित्तीय सूचकतर्फ हेर्दा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १९.३९ रुपैयाँबाट घटेर ३.०६ रुपैयाँ ऋणात्मक भएको छ। यद्यपि सोल्भेन्सी अनुपात भने ३.६७ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत कायम भएको छ, जसले कम्पनीको जोखिम वहन क्षमता सुदृढ रहेको संकेत गर्दछ। प्रतिशेयर नेटवर्थ १९६.६४ रुपैयाँ कायम रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ। साथै, पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ बराबरको लगानी गरेको छ।
समग्रमा, विपद् र आन्दोलनका कारण नाफामा दबाब परे पनि व्यवसाय विस्तार र सोल्भेन्सी अनुपातमा सुधारले कम्पनी दीर्घकालीन रूपमा सुदृढ आधारमा अघि बढिरहेको संकेत देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया