Nepal Life

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा उपल्लो मुस्ताङमा संयुक्त गस्ती सुरु

NMB Bank
  • BFIS News
  • 2026 Feb 15 22:46
प्रतिनिधिसभा निर्वाचन सुरक्षामा उपल्लो मुस्ताङमा संयुक्त गस्ती सुरु
National Life

मुक्तिनाथ (मुस्ताङ), फागुन ३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरेका छन् ।

Shikhar
NIMB

छिमेकी देश चीनको तिब्बतसँग सिमाना जोडिएको अति संवेदनशील क्षेत्र तथा मतदान केन्द्रहरूमा नेपाल प्रहरी, नेपाली सेना (इन्द्र बक्स गण) र सशस्त्र प्रहरी बलको बिओपी टोलीले संयुक्त गस्ती थालेका हुन् । लोमान्थाङ गाउँपालिका वडा नं. १, २ र ४ बाट सुरु गरिएको गस्तीसँगै मतदान केन्द्रमा आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनमा समेत सुरक्षा निकायले सहयोग गरेका छन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाका पाँचवटै स्थानीय तहका बजारदेखि गाउँसम्म आवश्यकताअनुसार गस्ती परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो ।

प्रजिअ शर्माका अनुसार समुदायस्तरमा नियमित गस्ती तथा समन्वय भइरहेको छ भने मुस्ताङ जोड्ने सीमा क्षेत्रमा सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा इन्द्रबक्स गण र सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । साथै, लो घेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङस्थित बेस र लोमान्थाङ गाउँपालिकाको छोसेरमा सशस्त्र प्रहरी बल नेपाल (बिओपी) तैनाथ रहेको छ ।

जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय तथा सहकार्यमा निर्वाचन केन्द्रित सुरक्षा गतिविधि सञ्चालन भइरहेको छ । निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल नेपाल र तेस्रो घेराको सुरक्षा नेपाली सेनाले गर्ने व्यवस्था मिलाइएको छ ।

संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा, निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने आपतकालीन अवस्थाको शीघ्र प्रतिक्रिया, निर्वाचन सामग्रीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणमा नेपाली सेनाको कमाण्ड रहनेछ । साथै, मतदाताको निर्वाध आवागमन सुनिश्चित गर्न उपल्लो मुस्ताङमा हिमपातले अवरुद्ध भएका सहायक सडकको मर्मत कार्यलाई पनि प्राथमिकता दिइएको छ ।

मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा (एमाले)बाट इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधित्यचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन उम्मेदवार रहेका छन् ।

एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया