NIMB Header 2
Nepal Life

घरदैलोका लागि केपी ओली पुनः झापा, बालेन्द्र साह पनि आउने

National Life
  • BFIS News
  • 2026 Feb 15 23:06
घरदैलोका लागि केपी ओली पुनः झापा, बालेन्द्र साह पनि आउने
Sanima Reliance

दमक, फागुन ३ गते । केपी शर्मा ओली पुनः आफ्नो गृहजिल्ला झापा आउनुभएको छ । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओली झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । मतदातासँगको घरदैलो कार्यक्रमका लागि उहाँ झापा आउनुभएको हो ।

Shikhar
NIMB

एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीका अनुसार आइतबार दमक आइपुग्नुभएका अध्यक्ष ओली सोमबारदेखि दमकका विभिन्न वडामा सञ्चालन हुने घरदैलो कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम तय भएको छ । यसअघि कमल, गौरादह र गौरीगन्ज नगरपालिकामा एक सातासम्म घरदैलो कार्यक्रम गरी काठमाडौँ फर्कनुभएका ओली पुनः झापा आउनुभएको हो । यसपटक कार्यकर्ता तथा मतदाताका गुनासो प्रत्यक्ष सुन्ने योजना बनाइएको जनाइएको छ ।

साह पनि आउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पनि घरदैलो कार्यक्रममा सहभागी हुन दमक आउने कार्यक्रम रहेको रास्वपाका नेता भेषराज भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमको कार्यतालिका तय गर्ने प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो । यसअघि पनि ओली झापा आएकै समयमा साह दुई दिन यहाँ आएर घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कनुभएको थियो ।

ओली र साहबीचको चुनावी प्रतिस्पर्धाका कारण दमकको सुरक्षा व्यवस्था कडा पारिएको छ । उम्मेदवारी मनोनयनका दिन दुवै पक्षका समर्थकबीच सामान्य विवाद भएको थियो । सो घटना दोहोरिन नदिन प्रहरीले सतर्कता अपनाउन दुवै पक्षलाई सचेत गराएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काका अनुसार उम्मेदवार तथा मतदाताको सुरक्षालाई ध्यानमा राखेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया