NIMB Header 2
Nepal Life

ऋण तिर्नै राज्यको अर्बौँ खर्च, बजेटको ४५% आधा वर्षमै सकियो

National Life
  • BFIS News
  • 2026 Feb 17 14:23
ऋण तिर्नै राज्यको अर्बौँ खर्च, बजेटको ४५% आधा वर्षमै सकियो
Sanima Reliance

काठमाडौं। मुलुकको सार्वजनिक ऋण वर्षेनी बढ्दै जाँदा त्यसको साँवा र ब्याज भुक्तानीमा राज्यले अर्बौँ रुपैयाँ खर्च गर्नुपरेको छ। बढ्दो ऋणसँगै दायित्व व्यवस्थापन सरकारका लागि थप चुनौतीपूर्ण बन्दै गएको छ।

Shikhar
NIMB

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामै सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ खर्च भइसकेको छ। चालु आवका लागि सरकारले कुल ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋण दायित्व व्यवस्थापनका लागि विनियोजन गरेकोमा हालसम्म ४५.५३ प्रतिशत बजेट खर्च भइसकेको छ।

समीक्षा अवधिमा आन्तरिक ऋणतर्फ साँवा १ खर्ब २६ अर्ब ७६ करोड र ब्याज २८ अर्ब ३७ करोड गरी जम्मा १ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ। त्यसैगरी, बाह्य ऋणतर्फ साँवा २६ अर्ब १३ करोड र ब्याज ५ अर्ब ८५ करोड गरी कुल ३१ अर्ब ९९ करोड रुपैयाँ तिर्नुपरेको मन्त्रालयले जनाएको छ।

पछिल्लो एक दशकमा सार्वजनिक ऋण करिब छ गुणाले वृद्धि भएको छ। एक दशकअघि ५ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म आइपुग्दा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ पुगेको थियो। त्यसयता पनि ऋणको आकार निरन्तर बढ्दो क्रममा रहेको छ।

आर्थिक वर्ष २०८१/८२ मा मात्रै साँवा र ब्याज भुक्तानीमा ३ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो। यसमध्ये साँवा भुक्तानीमा २ खर्ब ९१ अर्ब १९ करोड र ब्याजमा ७० अर्ब ४४ करोड रुपैयाँ खर्च भएको थियो।

उक्त अवधिमा आन्तरिक ऋणको साँवा २ खर्ब ४३ अर्ब ५१ करोड र वैदेशिक ऋणको साँवा ४७ अर्ब २८ करोड रुपैयाँ भुक्तानी गरिएको थियो। ब्याजतर्फ आन्तरिक ऋणमा ६० अर्ब २७ करोड र वैदेशिक ऋणमा १० अर्ब १६ करोड रुपैयाँ खर्च भएको तथ्यांकले देखाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया