एनआइबिएल सहभागिता फण्डका इकाई हितग्राही खातामा जम्मा, योजनाको आकार १० अर्ब पुग्यो
- BFIS News
- 2026 Apr 09 21:53
काठमाडौं — एनआइएमबि एस क्यापिटल लिमिटेड ले व्यवस्थापन गर्दै आएको “एनआइबिएल सहभागिता फण्ड” का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ। लामो समयदेखि प्रतीक्षामा रहेका लगानीकर्ताहरूका लागि यो महत्वपूर्ण प्रगति भएको कम्पनीले जनाएको छ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटलले विगत १३ वर्षदेखि मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले म्युचुअल फण्ड, पोर्टफोलियो व्यवस्थापन, डिपोजिटरी सेवा, निष्कासन व्यवस्थापनलगायत विभिन्न सेवा प्रदान गर्दै आएको छ।
एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआइबिएल सहभागिता फण्ड” नेपालकै पहिलो खुलामुखी म्युचुअल फण्ड हो, जसले इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट तथा ट्रेजरी बिलजस्ता साधनहरूमा लगानी गर्दै आएको छ। २०७६ असार २४ गतेदेखि सञ्चालनमा आएको यो फण्ड नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभए पनि सिधै योजना व्यवस्थापकमार्फत खरिद–बिक्री गर्न सकिन्छ।
नेपाल धितोपत्र बोर्ड बाट प्राप्त स्वीकृतिअनुसार फण्डको आकार ६ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) पुर्याइएको छ। यससँगै उक्त फण्ड नेपालका सबैभन्दा ठूलो म्युचुअल फण्डमध्ये एक बनेको छ।
कम्पनीका अनुसार बीज पुँजीसम्बन्धी प्रावधानका कारण लामो समयसम्म इकाईधनीहरूको डिम्याट खातामा इकाई जम्मा हुन सकेको थिएन। तर नियामक निकायको नयाँ निर्देशिकापछि सो समस्या समाधान गर्दै हाल सबै इकाईहरू सम्बन्धित खातामा जम्मा गरिएको हो।
लगानीकर्ताहरूले आफ्नो ‘मेरो शेयर’ खातामार्फत इकाई क्रेडिट भएको पुष्टि गर्न सक्नेछन्। साथै, इकाई जम्मा गर्न ढिलाइ भएकोप्रति कम्पनीले क्षमायाचना गर्दै लगानीकर्ताको धैर्यता र निरन्तर समर्थनप्रति आभार व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)






प्रतिक्रिया