NIMB Header 2
Nepal Life

राष्ट्रिय मापदण्डअनुसार सबै योग्य सवारीलाई ट्याक्सी अनुमति दिनुपर्ने नाइमाको सुझाव

National Life
  • BFIS News
  • 2026 Feb 17 14:33
राष्ट्रिय मापदण्डअनुसार सबै योग्य सवारीलाई ट्याक्सी अनुमति दिनुपर्ने नाइमाको सुझाव
Sanima Reliance

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धमा देखिएका व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्ना विस्तृत सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष औपचारिक रूपमा पेश गरेको छ।

Shikhar
NIMB

नाइमाले मन्त्रालयलाई सम्बोधन गर्दै पठाएको पत्रमा ट्याक्सी सेवा मापदण्ड, २०८१ अनुसार ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरिएको उल्लेख छ। उक्त मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टिकरणहरू स्पष्ट रूपमा तोकिएको र ती सबै शर्तहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवाअन्तर्गत समावेश गर्न सकिने व्यवस्था रहेको संघले जनाएको छ।

हाल बाग्मती प्रदेश मा व्यवहारतः सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको अवस्था रहेको नाइमाले ध्यानाकर्षण गराएको छ। तर राष्ट्रिय मापदण्डले तोकेका प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी सबै मापदण्ड पूरा गर्ने अन्य वर्गका सवारी साधनलाई समेत ट्याक्सी सेवामा समावेश गर्न सकिने स्पष्ट व्यवस्था हुँदाहुँदै व्यवहारमा सीमितता देखिएको संघको भनाइ छ।

सिडान बाहेकका अन्य उपयोगी, यात्रुमैत्री तथा विभिन्न आवश्यकताअनुकूल सवारी साधनहरूलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुका लागि स्पष्ट आधार नदेखिएको नाइमाले उल्लेख गरेको छ। मापदण्डअनुसार योग्य ठहरिएका विभिन्न सवारी वर्गलाई अनुमति प्रदान गरिएमा सेवा प्रदायकहरूलाई आवश्यकताअनुसार लचकता प्राप्त हुने, यात्रुहरूलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता मैत्री) तथा यात्रु समूहको आकारअनुसार थप विकल्प उपलब्ध हुने संघको तर्क छ।

पत्रमा विश्वका विभिन्न देशहरूमा ट्याक्सी सेवा विविध आकार र वर्गका सवारी साधनमार्फत सञ्चालन भइरहेको सन्दर्भ पनि प्रस्तुत गरिएको छ। नेपालका केही अन्य सहरहरूमा फरक वर्गका सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति दिइएको भए तापनि बाग्मती प्रदेशमा सो व्यवस्था लागू नभएको कारण व्यवहारिक असमानता देखिएको नाइमाको धारणा छ।

यस सन्दर्भमा, साधारण, विशेष र विशिष्ट वर्गअन्तर्गत पर्ने तथा मापदण्डमा उल्लेखित सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्टिकरणहरू पूरा गर्ने सवारी साधनहरूलाई ट्याक्सी सेवामा अनुमति प्रदान गरिनु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव संघले दिएको छ।

मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाप्रति पूर्ण सम्मान व्यक्त गर्दै नाइमाले आफ्ना सुझावहरू उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया