निर्वाचन प्रहरीलाई स्वदेशी गोल्डस्टार जुत्ता अनिवार्य, बेतको लट्ठी भारतबाट आयात
- BFIS News
- 2026 Feb 19 10:55
काठमाडौँ, फागुन ७ गते। प्रतिनिधि सभा निर्वाचनमा खटिएका १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता प्रयोग गरेका छन् भने बेतको लट्ठी छिमेकी मुलुक भारतबाट आयात गरिएको प्रयोग गरिएको छ।
नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई स्वदेशी जुत्ता अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको जनाएको छ। निर्वाचनमा खटिने प्रत्येक प्रहरीका लागि एक–एक जोर जुत्ता, सोही सङ्ख्यामा बेतको लट्ठी तथा पोसाक आवश्यक पर्ने बताइएको छ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार जुत्ता निर्वाचन प्रहरीले स्वयंले खरिद गर्नुपर्ने व्यवस्था छ। “जुत्ता हामीले उपलब्ध गराउने होइन, सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो। स्थानीय उत्पादनले बेतको लट्ठी र पोसाक पर्याप्त नपुगेपछि व्यापारीले भारतबाट आयात गर्ने गरेको उहाँले जानकारी दिनुभयो।
निर्वाचन अवधिमा १ लाख ३३ हजार ९८० जोर जुत्ता तथा सोही सङ्ख्यामा लट्ठी खपत हुने गरेको छ। पोसाकसमेत प्रतिव्यक्ति एक–एक जोरका दरले सोही सङ्ख्यामा आवश्यक पर्छ। धेरै परिमाणमा माग हुने भएकाले केही सामग्री भारतबाट आयात गरिएको प्रहरीले जनाएको छ।
निर्वाचन प्रहरीका लागि सरकारले पोसाक खरिदबापत रकम उपलब्ध गराउने र सम्बन्धित व्यक्तिले आफैँ खरिद गर्नुपर्ने व्यवस्था छ। बजारमा गोल्डस्टार जुत्ताको मूल्य न्यूनतम पाँच सयदेखि पाँच हजार रुपियाँसम्म रहेको छ। गोल्डस्टारसँगै नाइक ब्रान्डका जुत्तासमेत प्रयोग गर्न सकिने बताइएको भए पनि नाइक महँगो पर्ने गरेको छ।
निर्वाचन प्रहरीका निम्ति प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ तोकिएको छ। मतदानअघिपछि चार दिनका लागि प्रतिदिन तीन सय रुपैयाँका दरले एकमुष्ट एक हजार दुई सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइने व्यवस्था छ।
Goldstar Shoes Manufacturer Pvt. Ltd.ले वार्षिक १ करोड ६६ लाख ५० हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ। कम्पनीले मुख्यतः गोल्डस्टार ब्रान्डमा उत्पादन तथा बिक्री गर्दै नेपालभर ६० डिलरमार्फत वितरण गर्दै आएको छ।
नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अनुसार देशभर ठूला, मझौला, साना तथा लघु गरी करिब १ हजार ६ सय जुत्ताचप्पल उद्योग सञ्चालनमा छन्। तीमध्ये करिब १ हजार २ सय साना उद्योग सडकस्तरमै सञ्चालनमा छन् भने दैनिक १ सयदेखि १ हजार जोर उत्पादन गर्ने उद्योग २४० र दैनिक ५ हजारदेखि ७० हजार जोर उत्पादन गर्ने उद्योग ६० वटा रहेका छन्।
कच्चा पदार्थको अभावका कारण उद्योगहरूले ७५ देखि ९० प्रतिशतसम्म सामग्री आयात गर्नुपर्ने अवस्था रहेको छ। जुत्ताचप्पल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ थाइल्यान्ड, जापान, कोरिया, सिङ्गापुर, भारत, नेदरल्यान्ड, चीन र ताइवानलगायत मुलुकबाट आयात हुँदै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया