‘पानी देऊ, मत लिऊ’—बैतडीका स्थानीयको सर्त
- BFIS News
- 2026 Feb 19 11:11
बैतडी, फागुन ७ गते। खानेपानी अभावले वर्षौंदेखि हैरान हुँदै आएका यहाँका एक वडाका बासिन्दाले पानी उपलब्ध गराउने पक्षलाई मात्रै मत दिने बताएका छन्। मेलौली नगरपालिका–९का ४२५ घरपरिवार सुक्खायाममा काकाकुल बन्दै आएका छन्।
गाउँ नजिकका अधिकांश मुहान सुकेपछि स्थानीयले सुर्नया नदीबाट पानी लिफ्ट गरी आपूर्ति गर्न माग गर्दै आएका छन्। तर सङ्घ र प्रदेश सरकारसमक्ष पाँच वर्षदेखि निरन्तर गुनासो राख्दा पनि समस्या समाधान हुन नसकेको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो।
विशालपुरका डिडीगाउँ, गर्जल, थपालेक, डाँफेपिपल, मल्लेक, बर्तोला, रोकटा, कलमटा र सुर्काललगायत बस्तीका स्थानीय एक गाग्री पानीका लागि दिनभर पालो कुर्न बाध्य छन्। गाउँमा आपूर्ति हुँदै आएको असुर रोकटा खानेपानी योजनाको मुहान सुक्दा सुक्खायाममा झन् हाहाकार मच्चिएको छ।
विसं २०४४ देखि उपभोगमा रहेको मर्छलेखोलातलको मुहान पनि सुकेपछि स्थानीयले घण्टौँ धाएर पानी जोहो गर्नुपर्ने अवस्था आएको छ।
गाउँका मुहान क्रमशः सुक्दै जान थालेपछि विकल्पका रूपमा मेलघट–केदारमाडौँ लिफ्ट खानेपानी योजना सञ्चालन गर्नुपर्ने माग गरिएको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया