NIMB Header 2
Nepal Life

निर्वाचनको चहलपहलबीच बाजुरामा भूकम्पपीडितलाई घरवासको चिन्ता

National Life
  • BFIS News
  • 2026 Feb 19 11:34
निर्वाचनको चहलपहलबीच बाजुरामा भूकम्पपीडितलाई घरवासको चिन्ता
Sanima Reliance

बाजुरा, फागुन ७ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला यहाँका भूकम्पपीडित भने सुरक्षित आवासको चिन्तामा छन्। विगत केही वर्षदेखि बारम्बार आएको भूकम्पले चर्किएका घरहरू यतिबेला भत्किन थालेपछि पीडित परिवारहरू विस्थापित हुने अवस्थामा पुगेका छन्।

Shikhar
NIMB

खप्तडछेडेदह गाउँपालिका–६ नाइनाका रामबहादुर चदाराले दुई वर्षदेखि भूकम्पले चर्किएको घर पुनर्निर्माण गर्न नसक्दा सोही घरमा बस्दै आएको बताउनुभयो। “आर्थिक अवस्था कमजोर हुँदा पुनर्निर्माण सम्भव भएन, हिउँदमा पनि त्यही घरमा बस्दै आएको थिएँ,” उहाँले भन्नुभयो। २०८२ फागुन ५ गते राति सुतिरहेका बेला घर भत्किँदा ज्यान जोगिए पनि खाद्यान्न, लत्ताकपडा लगायत सामग्री पुरिएको उहाँको भनाइ छ।

स्थानीय खगेन्द्र नाग योगीका अनुसार २०७९ सालयता दर्जनौँ घर भूकम्प तथा बाढीपहिरोको जोखिममा छन् भने सयौँ घर स्थानान्तरणको पर्खाइमा छन्। पुनर्निर्माण र बस्ती स्थानान्तरणका लागि प्रत्येक वर्ष बजेट आउने भए पनि कार्यान्वयन नहुँदा रकम फिर्ता हुने गरेको उहाँले आरोप लगाउनुभयो।

गाउँपालिकाका धेरै बस्ती उच्च जोखिममा रहेको जनाइएको छ। कतिपय घर पूर्णरूपमा भत्किएकाले तत्कालका लागि त्रिपालको व्यवस्था बाहेक अन्य विकल्प उपलब्ध गराउन नसकिएको पालिकाले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार पुनर्निर्माण कार्यक्रमअन्तर्गत पहिलो किस्ता निकासा भइसकेको छ भने अन्य किस्ता प्रक्रियामा छन्। प्राविधिक टोलीको अनुगमनपछि थप रकम निकासा गरिने उहाँले जानकारी दिनुभयो।

निर्वाचनको माहोल तातिरहेका बेला सुरक्षित आवासको अभावले बाजुराका भूकम्पपीडितका लागि दैनिकी झन् चुनौतीपूर्ण बन्दै गएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया