NIMB Header 2
Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफद्वारा पत्रकार सम्मेलन, राजेन्द्र अमात्यविरुद्ध अदालती प्रक्रिया अघि बढाउने घोषणा

National Life
  • BFIS News
  • 2026 Feb 22 16:45
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफद्वारा पत्रकार सम्मेलन, राजेन्द्र अमात्यविरुद्ध अदालती प्रक्रिया अघि बढाउने घोषणा
Sanima Reliance

काठमाडौं। पेशगत बीमा अभिकर्ता संघ बीमक केन्द्रीय समितिले नेतृत्व र आर्थिक पारदर्शितासम्बन्धी विवाद चुलिएपछि पत्रकार सम्मेलन गर्दै पूर्व नेतृत्वसँग खातापाता र सम्पत्ति बरबुझारथ गर्न आग्रह गरेको छ।

Shikhar
NIMB

संघका अध्यक्ष गणेश अधिकारीले आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चार चार वटा मुद्दा हालेर प्रमाणीकरण गराए पनि पूर्व नेतृत्वले हालसम्म आर्थिक विवरण, सदस्यता रेकर्ड तथा संस्थाको सम्पत्ति नबुझाएको आरोप लगाए।

उनले भने, “हामीले पटक–पटक खातापाता, रकम र सदस्यताको रेकर्ड बुझाइदिनुस् भन्यौं। पत्रिकामार्फत सार्वजनिक अपिल पनि गर्यौं। तर आजसम्म पनि आउनुभएको छैन। त्यसैले हाम्रो आवाज नसुनिएको हो कि भन्ने प्रश्न उठेको छ।”

विशेष अधिवेशनपछि कानुनी विवाद

अध्यक्ष अधिकारीका अनुसार संघ स्थापनाकालदेखि अध्यक्ष रहेका राजेन्द्र अमात्य लाई २०७२ साल असोज २२ र २३ गते बुटवलमा सम्पन्न अधिवेशनबाट पुनः अध्यक्ष बनाइएको थियो। विधानअनुसार तीन–तीन वर्षमा अधिवेशन गर्नुपर्ने व्यवस्था भए पनि लामो समय अधिवेशन नगरिएको आरोप उनले लगाए।

त्यसपछि २०८० साल पुस २१ र २२ गते काठमाडौंको राष्ट्रिय सभागृह मा विशेष अधिवेशन आयोजना गरिएको र सो अधिवेशनबाट आफ्नो नेतृत्वमा नयाँ केन्द्रीय समिति गठन भएको अधिकारीले जानकारी दिए।

विशेष अधिवेशन वैध नभएको दाबी गर्दै अमात्य पक्षले अदालतमा चार वटा मुद्दा दायर गरेको थियो। ती मुद्दामा २०८१ साल जेठ ७ गते पाटन उच्च अदालत ले अमात्य नेतृत्वको समिति अवैध ठहर गर्दै विशेष अधिवेशनबाट गठन भएको अधिकारी नेतृत्वको समितिलाई वैधानिकता दिएको उनले बताए।

बैंक कारोबार र पत्राचार

अदालतको आदेशपछि २०८१ साल जेठ ७ गतेदेखि आधिकारिकता पाएको समितिले संघको नाममा रहेको एनआइसी एशिया बैंक खाताको बैंक स्टेटमेन्ट निकालेर आर्थिक कारोबार अध्ययन थालेको जनाएको छ। त्यस क्रममा केही कारोबारप्रति शंका उत्पन्न भएपछि पूर्व नेतृत्वलाई विभिन्न चरणमा पत्राचार गरिएको अधिकारीले बताए।

उनका अनुसार हुलाकमार्फत रजिस्ट्री गरेर पठाइएका पत्रहरू समेत नबुझी फिर्ता गरिएको छ, जसका प्रमाण सुरक्षित राखिएको दाबी गरिएको छ।

समन्वय समिति गठन

बरबुझारथ प्रक्रिया अघि बढाउन संघका उपाध्यक्ष रामचन्द्र बन्जाडे को संयोजकत्वमा समन्वय समिति गठन गरिएको थियो। समितिले पूर्व केन्द्रीय समितिसँग समन्वय प्रयास गरे पनि उपलब्ध सामग्री नबुझाइएको प्रतिवेदन आएको अधिकारीले जानकारी दिए।

त्यसपछि २०८२ साल जेठ ९ गते राष्ट्रिय दैनिक गोरखापत्र मार्फत सार्वजनिक सूचना प्रकाशित गरी सम्पर्कमा आउन आग्रह गरिएको थियो। तर त्यसबाट पनि सकारात्मक प्रतिक्रिया नआएको उनले बताए।

छाता संघको हस्तक्षेप

विवाद समाधानका लागि माथिल्लो निकाय पेशगत बीमा अभिकर्ता संघ नेपाल समक्ष निवेदन दिइएको र त्यहाँबाट केन्द्रीय उपाध्यक्ष दीपक अर्याल को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी १५ दिनभित्र बरबुझारथ गराउने निर्णय भएको जानकारी पनि अध्यक्ष अधिकारीले दिए।

संघले पारदर्शिता, आर्थिक अनुशासन र संस्थागत जवाफदेहिताका लागि पूर्व नेतृत्वलाई अविलम्ब सम्पर्कमा आउन आग्रह गर्दै आवश्यक परे थप कानुनी र संगठनात्मक कदम चालिने चेतावनी दिएको छ।

अदालती प्रक्रिया अघि बढाउने घोषणा

अधिकारीले संघको नाममा रहेको नगद तथा जिन्सी सामग्री हस्तान्तरण नगरेको आरोप लगाउँदै पूर्वअध्यक्ष राजेन्द्र अमात्य नेतृत्वको टिमविरुद्ध अदालती प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले संघले अन्तिम पटक २०८२ साल माघ ९ गते संघलाई अघि बढ्न बाटो खुला गरिदिन अनुरोधसहित निवेदन दिएको जानकारी दिए। त्यसपछि पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएको भन्दै २०८२ साल फागुन ७ गते राष्ट्रिय दैनिक पत्रिकामार्फत तीन दिनभित्र संघका माइन्युट, चेक, नगद तथा अन्य कागजात बुझाउन सार्वजनिक सूचना जारी गरिएको बताए। “तीन दिनको समय हिजो सकिएको छ। आज चौथो दिनसम्म पनि उहाँ सम्पर्कमा नआएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको हो,” अधिकारीले भने।

उनका अनुसार सम्मानित अदालतले अधिवेशनबाट निर्वाचित वर्तमान कमिटी आधिकारिक भएको र काम गर्न दिन निर्देशन दिएको भए पनि अमात्य पक्षले हालसम्म कुनै सहयोग नगरेको आरोप छ। अधिकारीले भने, “दुई वर्षसम्म खोजी गर्दा, पटक–पटक पत्राचार गर्दा पनि उहाँ सम्पर्कमा आउनुभएन।”

अधिकारीले संघको बैंक स्टेटमेन्ट निकाल्दा ठूलो रकम विभिन्न व्यक्तिका नाममा झिकिएको देखिएको दाबी गर्दै खर्च आम्दानीको स्पष्ट विवरण नदिइएकाले आर्थिक अपचलनको आशंका बढेको बताए। “हामीले यति पैसा उठायौं, यति खर्च गर्यौं भनेर कुनै पनि विवरण उपलब्ध गराइएको छैन। बिल–भरपाई नहुँदा कति रकम सही खर्च हो र कति अपचलन भयो छुट्याउन गाह्रो भएको छ,” उनले भने।

संघको कोषमा सदस्यता शुल्क, बीमा अभिकर्ताले बीमा गराएका पोलिसीबाट आउने रकम, एजेन्सी साथीहरूबाट काटिएको लेबी, विभिन्न आर्थिक सहयोग, क्यालेन्डर तथा अन्य कार्यक्रमबाट संकलित रकम जम्मा हुने गरेको जानकारी दिँदै अधिकारीले ती सम्पूर्ण विवरण हालसम्म हस्तान्तरण नभएको आरोप लगाए।

उनका अनुसार २०७२ साल असोज २२ गते बुटवलमा सम्पन्न अधिवेशनपछि २०८० साल पुस २१ गते विशेष अधिवेशन नहुँदासम्म अमात्य नै अध्यक्ष थिए। “६८ सालदेखि नै उहाँ अध्यक्ष रहँदै आउनुभएको थियो। तर ७२ सालको अधिवेशनपछि पनि नियमित अधिवेशन नगरिएको अवस्था थियो,” उनले बताए।

अधिकारीले राजेन्द्र अमात्य हाल ललितपुर क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टीको तारा चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गरेको सुन्नमा आएको उल्लेख गर्दै यस्तो पृष्ठभूमि भएको व्यक्तिले सार्वजनिक पदमा पुग्दा कस्तो काम गर्लान् भन्ने प्रश्न उठेको बताए।

पत्रकार सम्मेलनमार्फत संघले अब सम्पूर्ण प्रमाण र रिपोर्टसहित अदालती प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। “अब हामी सम्मानित अदालतमार्फत नै अघि बढ्छौं,” अधिकारीले स्पष्ट पारे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया