टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ देखि आईपीओ निष्काशन गर्ने
- BFIS News
- 2026 Feb 25 10:46
काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १२ करोड रुपैयाँबराबरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ती शेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँबराबरका ३ लाख ३ हजार ६७ कित्ता शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
आईपीओ निष्काशनका लागि गरिएको मूल्याङ्कनमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २५ वर्ष ४ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता अवधि ९.१७ वर्ष तथा डिस्काउन्ट अवधिमा लगानी फिर्ता हुने समय १८.३७ वर्ष रहेको उल्लेख गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै आयोजना कार्यालय भोजपुर, प्रभु बैंक का भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनल को भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले दरखास्त फाराम लिन २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया