Nepal Life

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको तीन चरणको सुरक्षा योजना

NMB Bank
  • BFIS News
  • 2026 Feb 25 17:52
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको तीन चरणको सुरक्षा योजना
National Life

काठमाडौँ, फागुन १३ गते । नेपाली सेना ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पूर्वनिर्वाचन, निर्वाचन अवधिमा र निर्वाचनपश्चात् गरी तीन चरणको सुरक्षा योजना लागू गरेको जनाएको छ ।

Shikhar
NIMB

राष्ट्रिय सुरक्षा परिषद् (नेपाल) को सिफारिस, मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि सेना परिचालन गरिएको हो । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सम्पन्न भइसकेको छ ।

सेनाले मतपत्र छपाइस्थलको सुरक्षा र ढुवानीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको छ । हालसम्म ७५ जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको र भोलिसम्म सबै जिल्लामा मतपत्र पुर्‍याइने निर्वाचन आयोग नेपाल ले जनाएको छ ।

भौगोलिक अवस्थाअनुसार पाँच जिल्लामा हवाई मार्ग र अन्य जिल्लामा स्थलमार्गबाट मतपत्र ढुवानी गरिएको छ । २०४८ सालपछि भएका सबै निर्वाचनमा सेनाले छपाइस्थल सुरक्षा तथा मतपत्र ढुवानीमा सहयोग गर्दै आएको छ ।

निर्वाचनका क्रममा मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा, हवाई गस्ती, शङ्कास्पद वस्तु निष्क्रिय पार्ने काम तथा आवश्यकताअनुसार थप फौज परिचालन गरिने सेनाले जनाएको छ ।

निर्वाचन सुरक्षालाई सुदृढ बनाउन स्थानीय प्रशासन र सरोकारवाला निकायसँग समन्वय गरी देशभर बेस स्थापना गरेर नियमित गस्ती भइरहेको पनि उल्लेख गरिएको छ । भौगोलिक विकट क्षेत्रमा हिउँ पन्छाएर निर्वाचन सामग्री ढुवानीमा समेत सहयोग गरिएको छ ।

कारागार, विमानस्थल र सरकारी कार्यालयसहित ११६ वटा महत्वपूर्ण संरचनाको सुरक्षामा पनि सेना खटिएको छ । निर्वाचन सुरक्षासम्बन्धी गतिविधिको केन्द्रीय र स्थानीय तहबाट निरन्तर अनुगमन भइरहेको र प्रधानसेनापति अशोकराज सिग्देल ले फिल्डमा खटिएका फौजको निरीक्षण गर्दै निर्देशन दिइरहनुभएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता बस्नेतले आचारसंहिता र मानवअधिकारको पूर्ण पालना गर्दै अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचनलाई सुरक्षित र भयरहित बनाउन सेना प्रतिबद्ध रहेको बताउनुभयो । साथै, संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा सहभागी हुने अनुभवसमेत निर्वाचन सुरक्षामा उपयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया