निर्वाचन अवधिमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको उच्च सतर्कता
- BFIS News
- 2026 Feb 25 17:54
काठमाडौँ, फागुन १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न उच्च सतर्कता अपनाएको जनाएको छ ।
निर्वाचनअघि राजनीतिक गतिविधि बढ्ने क्रममा हुनसक्ने सम्भावित झडप र सडक अवरोधलाई ध्यानमा राख्दै मन्त्रालयले विशेष पूर्वतयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चुनावी आमसभा, भेला तथा घरदैलो अभियानका क्रममा हुनसक्ने द्वन्द्व र निर्वाचन बिथोल्ने सम्भावित गतिविधिलाई आकलन गरी स्वास्थ्य सेवा प्रभावित नहुने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको छ । निर्वाचनका नाममा सडक अवरोध वा अन्य व्यवधान सिर्जना हुन सक्ने भएकाले स्वास्थ्य सेवामा असर पर्न नदिन तयारी गरिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । साथै, स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्था मिलाउन निर्वाचन आयोग नेपाल लाई आग्रह गरिएको छ ।
देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ । स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन र लामो बिदामा रहेका कर्मचारीलाई सेवामा फर्किन अनुरोध गरिएको छ ।
सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण, भर्चुअल तालिम तथा औषधि र उपकरणको मौज्दात व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ । रणनीतिक स्थानमा औषधि तथा लजिस्टिक सामग्री भण्डारण गरिएको र आवश्यकता परेमा आपत्कालीन मेडिकल टिम (EMT) तथा र्यापिड रेस्पोन्स टिम परिचालन गरिने पनि उल्लेख छ ।
निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा चौबीसै घण्टा सञ्चालन रहने मन्त्रालयले जनाएको छ । स्थानीय प्रशासनलाई झडप रोक्न र सडक मार्ग खुला राख्नसमेत आग्रह गरिएको छ । अप्रिय घटना भएमा उपचारका लागि स्वास्थ्य संस्था पूर्ण तयारी अवस्थामा रहेको मन्त्रालयले दाबी गरेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया