जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त
- BFIS News
- 2026 Mar 03 22:23
काठमाडौं । जानकी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन्। संस्थाको यही फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई आगामी चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
वि.सं. २०५२ सालमा स्थापना भएको जानकी फाइनान्सले विगत तीन देशकदेखि आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। स्थापना कालदेखि नै “ग्राहकलाई सहज र उत्कृष्ट सेवा” भन्ने मूल मन्त्रका साथ अघि बढ्दै आएको संस्थाले सुरुआतमा ६० लाख रुपैयाँ चुक्ता पुँजीबाट सेवा सुरु गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी बढेर ६९ करोड ४ लाख ७० हजार रुपैयाँ पुगेको छ।
कम्पनीका अनुसार नाफा, नेटवर्थ, निक्षेप संकलन तथा लगानी निरन्तर वृद्धि भइरहेको छ। पर्याप्त तरलता अनुपात कायम राख्न सफल रहेको फाइनान्स कम्पनीको सेयर संरचनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको छ। साथै, आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेश अन्तर्गत बैंक तथा वित्तीय संस्था (BFIs) क्षेत्रमै सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रूपमा जानकी फाइनान्स सम्मानित भएको थियो।
पुनर्नियुक्तिपछि सीईओ शर्मा नेतृत्वमा संस्थाले शहरी, अर्ध शहरी तथा ग्रामीण क्षेत्रका सबै वर्गका नागरिकका बैंकिङ आकांक्षा पूरा गर्ने लक्ष्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। कम्पनीले विविध ग्राहक वर्गका वास्तविक आवश्यकतालाई सम्बोधन गर्दै सक्रिय र अग्रसर कार्यशैली अपनाउँदै आएको जनाएको छ।
“मधेश प्रदेशमा सबैभन्दा रुचाइएको वित्तीय संस्था बन्ने” दीर्घकालीन सोचसहित जानकी फाइनान्सले सामाजिक आर्थिक स्तर उकास्दै समृद्ध समुदाय निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ। वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को साझा लक्ष्यतर्फ अघि बढ्ने कम्पनीको धारणा छ।
संस्थाले “आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा स्वीकार्य, नियामक अनुरूप र वातावरणमैत्री समावेशी वित्तीय सेवा प्रदायक बन्ने” मिशन अवलम्बन गरेको छ। साथै, ‘GROW’ (Goal Focused, Result Oriented and Ownership in the task and Wellbeing) मूल्यमान्यतासहित सरोकारवालाको हितमा कार्य गर्ने जनाएको छ।
सीईओ शर्माले संस्थाका ग्राहक, सेयरधनी, नियामक निकाय, समुदाय तथा कर्मचारीसँग आपसी लाभका सम्बन्धलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया