कांग्रेसमा अहिले नयाँ जोस र ऊर्जा देखिएको छ : विमलेन्द्र निधि
- BFIS News
- 2026 Feb 25 17:03
जनकपुरधाम, फागुन १३ गते । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीको नयाँ नेतृत्वले मुलुकलाई सही दिशामा अगाडि बढाएको दाबी गर्नुभएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका निधिले कांग्रेसमा अहिले नयाँ जोस र ऊर्जा देखिएको बताउनुभयो ।
जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले फागुन ६ गते जनकपुरमा सम्पन्न आमसभाले सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो । “अहिलेको अवस्था राम्रो छ । जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंहरूले देख्नुभयो होला, यति विशाल सहभागिता भयो । त्यसले राम्रो सन्देश दिएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वले सही दिशा लिएको छ,” उहाँले भन्नुभयो ।
निधिले कांग्रेस महामन्त्री गगनकुमार थापा को युवा ऊर्जाले पार्टीमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । “हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने युवा ऊर्जा देखिएको छ । यसलाई मैले सकारात्मक रूपमा लिएको छु,” उहाँले भन्नुभयो ।
उहाँले अहिले कांग्रेसमा देशव्यापी एकता रहेको दाबी गर्दै उम्मेदवार चयन र जनताको राजनीतिक बुझाइका आधारमा पार्टीले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । “कांग्रेसका उम्मेदवारहरूको चयन र वर्तमान राजनीतिक अवस्थाबारे जनताको बुझाइका आधारमा कांग्रेसले बहुमत ल्याउँछ र आफ्नै नेतृत्वमा सरकार बनाउँछ भन्ने मेरो पूर्ण विश्वास छ,” उहाँले भन्नुभयो ।
पार्टीभित्र देखिएका आन्तरिक मतभेदलाई समेट्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो । “आन्तरिक मतभेदलाई समेट्ने प्रयास मैले पनि गरिरहेको छु र त्यसमा केही सफलता मिलेको छ,” निधिले बताउनुभयो ।
देशमा निर्वाचित सरकार र संसद् नहुँदा लोकतन्त्र शिथिल भएको टिप्पणी गर्दै उहाँले वर्तमान अवस्थाबाट निकास दिन कांग्रेस सक्षम रहेको दाबी गर्नुभयो । “संविधान गतिरोधमा परेको छ । यसको सही उपचार कांग्रेसले दिन सक्छ भन्ने जनभावना छ,” उहाँले भन्नुभयो ।
निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिने उहाँको भनाइ थियो । उहाँले डिजिटल गभर्नेन्स अर्थात् ई–गभर्नेन्स प्रणालीलाई स्थानीय, प्रादेशिक र सङ्घीय तीनवटै तहमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
“ई–गभर्नेन्सले भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता र सुशासन सुनिश्चित गर्न सहयोग गर्छ । पाँच दिन लाग्ने काम पाँचै दिनमा र पाँच घण्टामा हुने काम पाँचै घण्टामा सम्पन्न हुनुपर्छ,” उहाँले भन्नुभयो । लाइसेन्स र नागरिकता जस्ता सेवामा देखिएका प्राविधिक जटिलता हटाउन पनि आधुनिक प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो ।
कांग्रेसले विगतदेखि नै अधिकार र विकासका क्षेत्रमा काम गर्दै आएको दाबी गर्दै उहाँले जनताले अनुभवी दललाई नै विश्वास गर्नुपर्ने बताउनुभयो । “नयाँ चालकले जुनसुकै बेला दुर्घटना गराउन सक्छ । त्यसैले अनुभवसहितको दललाई मत दिनु आवश्यक छ,” उहाँले मतदातासँग आग्रह गर्नुभयो ।
उहाँले नेपाललाई शान्त, सुशासित र समावेशी बनाउन कांग्रेसको जित अपरिहार्य रहेको उल्लेख गर्दै एकल बहुमतसहित सरकार गठन गर्न मतदातासँग अपिल गर्नुभयो ।
धनुषा–३ का उम्मेदवार निधिले राष्ट्रिय एजेन्डासँगै स्थानीय मुद्दालाई समेटेर चुनावी प्रतिबद्धता तयार गरेको बताउनुभयो । ग्रामीण क्षेत्रमा तीन प्रसूति अस्पताल र तीन बाल अस्पताल स्थापना गर्ने, युवाका लागि रोजगारी सिर्जना गर्न उद्योग–व्यवसायमा लगानी भित्र्याउने र मल कारखाना स्थापना गर्ने विषयमा पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न रामजानकी रङ्गशाला निर्माण गरी स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेको स्मरण गराउँदै निधिले मधेस प्रदेशको राजधानी जनकपुर कायम गर्न, राजर्षि जनक विश्वविद्यालय स्थापना गर्न तथा ढल्केबर–जनकपुर ६ लेन सडक निर्माणमा आफ्नो योगदान रहेको दाबी गर्नुभयो ।
जिल्लाभर सडक, पुल, रेल सेवा, हवाई सेवा तथा अयोध्या–जनकपुर कनेक्टिभिटी विस्तारका काम जनताको दीर्घकालीन हितसँग जोडिएको उल्लेख गर्दै उहाँले आफ्नो अनुभव र विगतका कामको मूल्याङ्कन गरी मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया