एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोबिन शेरचनको माग
- BFIS News
- 2026 Mar 03 22:32
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन्। मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्र देखिएका प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया तत्काल रोक्न निर्वाचन समितिलाई आग्रह गरेका हुन्।
शेरचनले विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमलाई मुख्य कारणका रूपमा अघि सारेका छन्। संकटको यस घडीमा हजारौँ नेपालीहरूले आशा र भरोसाका साथ एनआरएनएतर्फ हेरिरहेको उल्लेख गर्दै उनले मानवीय संवेदनालाई बिर्सेर चुनाव र पदमा मात्र केन्द्रित हुनु संस्थाको मूल मर्म विपरीत हुने जिकिर गरेका छन्। मध्यपूर्वको असुरक्षाका कारण युरोप, अमेरिका तथा मध्यपूर्वबाट नेपाल आउने प्रतिनिधिहरूको यात्रा अनिश्चित बनेको उल्लेख गर्दै उनले अग्रज र अभियन्ताहरूको व्यापक सहभागिताविनाको महाधिवेशन अपूर्ण रहने बताएका छन्।
त्यस्तै, संस्थाभित्रका प्राविधिक र वैधानिक त्रुटीहरू नसच्याई अघि बढ्नु आत्मघाती हुने चेतावनी दिँदै शेरचनले कुल पञ्जीकृत सदस्यहरूको प्रमाणीकरणसहितको आधिकारिक विवरण सार्वजनिक नगरिएको, शुल्क नबुझाएका एनसीसी र सदस्यहरूको सूची अपारदर्शी रहेको तथा विधानले तोकेको ३० दिनको अनिवार्य समयसीमा पालना नगरिएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
उनले सन् २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण उत्पन्न फुट र तित्तताको घाउ अझै निको नभएको स्मरण गराउँदै फेरि पनि कसैको वैधानिक अधिकारलाई बेवास्ता गरिए संस्थालाई थप क्षति पुग्ने चेतावनी दिएका छन्। विवादित प्रक्रियामा सहभागी भएर संस्थाको मर्यादामा आँच आउने काम आफूबाट नहुने स्पष्ट पार्दै उनले पदभन्दा संस्था र यसको विश्वसनीयता आफ्ना लागि सर्वोपरी रहेको बताएका छन्।
शेरचनले परिस्थिति सामान्य भई सबै प्रतिनिधिहरूले सुरक्षाको प्रत्याभूति पाएपछि मात्र बृहत्तर एकतासहित महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव राखेका छन्। साथै, यदि बाध्यात्मक अवस्थामा महाधिवेशन गर्नैपर्ने भए चुनावी प्रतिस्पर्धाबाट नभई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्।
उपाध्यक्ष शेरचनले एनआरएनएलाई बलियो, एकीकृत र उत्तरदायी बनाउन संकटको समयमा सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई धैर्य र संयम रहन अपिल गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया