झापा–५ मा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाद्वारा हवाई गस्ती सुरु
- BFIS News
- 2026 Mar 04 16:48
दमक, फागुन २० गते । झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यानमा राख्दै बुधबार अपराह्न सेनाको हेलिकप्टरमार्फत क्षेत्रको सुरक्षा अवस्थाबारे निगरानी गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
विशेष गरी दमक र आसपासका क्षेत्रमा केन्द्रित रहेर हवाई गस्ती थालिएको हो । निर्वाचन नजिकिँदै गर्दा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संवेदनशील मानिएका स्थानहरूको अवलोकन गरिएको जनाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका छन् ।
स्थलगत रूपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालन भइरहेका बेला सेनाले हवाई निगरानी गरेको हो । सेनाले दमकमा हेलिप्याडसमेत निर्माण गरेको छ । हवाई गस्तीका क्रममा मतदान केन्द्र, मुख्य चोक तथा रणनीतिक महत्त्वका स्थानहरूको अवस्थाबारे जानकारी सङ्कलन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आवश्यकताअनुसार सबै प्रकारका सुरक्षा उपाय अपनाउन थालिएको छ । झापामा नौ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया