Nepal Life

अर्थनीतिमा स्थायित्व आवश्यक: नेपाल चेम्बर अफ कमर्स अध्यक्ष अग्रवाल

NMB Bank
  • BFIS News
  • 2026 Mar 13 11:22
अर्थनीतिमा स्थायित्व आवश्यक: नेपाल चेम्बर अफ कमर्स अध्यक्ष अग्रवाल
National Life

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशमा बलियो सरकार गठन हुने सम्भावना देखिएकाले अब आर्थिक नीतिमा स्थायित्व आवश्यक रहेको बताएका छन्।

Shikhar
NIMB

उनले दीर्घकालीन आर्थिक गतिविधि विस्तारका लागि नीति तथा कर प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष अग्रवालका अनुसार नेपालको अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन मूल्य अभिवृद्धि कर (भ्याट) दुई तहमा लागू गर्न आवश्यक छ। साथै, हाल कायम रहेका उच्च भन्सार दर घटाउनुपर्ने उनले बताए। उनका अनुसार नेपालमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा राजश्वको अनुपात १९.९ प्रतिशत पुगेको छ, जबकि दक्षिण एसियाका अन्य देशमा यो अनुपात करिब १३ देखि १४ प्रतिशतको आसपासमा रहेको छ।

लामो समयसम्म राजनीतिक अस्थिरता रहँदा आर्थिक नीति पनि अस्थिर बनेको उल्लेख गर्दै उनले अब बन्ने बलियो सरकारले आर्थिक नीतिमा स्थायित्व ल्याउनुपर्ने बताए। नियामक निकायको कडा मौद्रिक नीतिका कारण पछिल्लो चार वर्षयता अर्थतन्त्र सुस्त बनेको उनको भनाइ छ। यद्यपि हालै अर्थ मन्त्रालयको समन्वयमा नेपाल राष्ट्र बैंकले केही नीतिगत सुधार गरेकोमा उनले सन्तोष व्यक्त गरेका छन्।

अग्रवालका अनुसार देशको कुल लगानीमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा निजी क्षेत्रको रहेको छ। त्यसैले नयाँ नीति लागू गर्नु अघि त्यसको प्रभावको अध्ययन गर्ने ‘रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट’ प्रणाली लागू गर्नुपर्ने उनको सुझाव छ।

उनले पर्यटन र सूचना प्रविधि क्षेत्रलाई ‘भारविहीन तथा सीमारहित’ व्यापारको सम्भावनायुक्त क्षेत्रका रूपमा उल्लेख गर्दै ती क्षेत्रमा लगानी आकर्षित गर्न अनुकूल नीति आवश्यक रहेको बताए। विगतमा लागू गरिएका भूतप्रभावी कर नीतिले निजी क्षेत्रलाई समस्या पारेको, नयाँ अडिट प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नभएको तथा भन्सारको अनलाइन मूल्याङ्कन प्रणालीमा पनि सुधार आवश्यक रहेको उनले उल्लेख गरे।

निर्वाचन परिणामपछि निजी क्षेत्र उत्साहित रहेको र लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै उनले आर्थिक गतिविधि बढाउन आवश्यक ऐन, नियम तथा नीतिगत सुधारलाई छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया